आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनको धम्की

हिमाल प्रेस १३ साउन २०८१ २०:२३
28
SHARES
आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने पुटिनको धम्की तस्बिरः एएफपी ।

मस्को (रासस/एएफपी)- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की दिएका छन्। अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र राख्ने तयारी गरेको पुष्टि भए मध्यम र छोटो दूरीको आक्रमणका लागि तयारी थाल्ने उनले बताएका हुन्।

सेन्ट पिटर्सवर्गमा नौसैनिक परेडका क्रममा उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको समेत बताएका छन्। ‘हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका स्याटेलाइटहरूको गतिविधिहरूलाई ध्यानमा राख्दै तिनीहरूको प्रभाव कम गर्न कदम चाल्नेछौँ,’ उनले चेतावनी दिँदै भनेका छन्।

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरूका विषयमा सन् १९८७ मा अमेरिका र सोभियत संघले हतियार नियन्त्रणसम्बन्धी सन्धीमा हस्ताक्षर गरेका थिए। तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लंघनको आरोप लगाएका थिए।

पछि रुसले अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो। जुलाईको सुरुमै वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरेका छन्।

रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको दाबी गरेका छन्।

प्रकाशित: १३ साउन २०८१ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =