बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

हिमाल प्रेस ११ साउन २०८१ १३:१८
20
SHARES
बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण गभर्नर महाप्रसाद अधिकारी

काठमाडौँ- रोजगारीका लागि विदेश जानेले अब बिनाधितो ऋण पाउने भएका छन्।  शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकिङ च्यानलबाटै रेमिट्यान्स पठाउने सुनिश्चतता भए वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको हो।

श्रम स्वीकृति लिएर विदेश जानेहरूले बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे बिनाधितो ऋण पाउनेछन्। त्यस्तै नेपाल राष्ट्र बैंकले बैंकदर र निक्षेप संकलनदर पनि घटाएको छ। अधिकारीले नयाँ मौद्रिक नीतिमार्फत बैंकदर र निक्षेप संकलनदर घटाइएको बताए।

उनका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ। ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको तीन प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् राखिएको छ।

बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ।

गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए। त्यस्तै, उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै उनले वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको बताए।

प्रकाशित: ११ साउन २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =