बढ्यो सगरमाथा प्रवेश शुल्क

हिमाल प्रेस ८ साउन २०८१ १२:१४
20
SHARES
बढ्यो सगरमाथा प्रवेश शुल्क तस्बिरमा सगरमाथा क्षेत्र गएका पर्यटकले पाउने टिकट र पर्यटक ।

काठमाडौँ– खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकका लागि शुल्क बढाइएको छ। गाउँपालिकाले  विश्वकै अग्लो सगरमाथासमेत रहेको यो क्षेत्रमा विदेशी पर्यटकको शुल्क वृद्धि गरेको हो।

गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्र लेखेर शुल्क वृद्धिको जानकारी पनि गराएको छ। वृद्धि भएको शुल्कअनुसार सार्क मुलुक र चीनबाट आउने पर्यटकले दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै अन्य विदेशी नागरिकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्षमुनिका बालबालिकालाई भने कागजातकाका आधारमा नि:शुल्क प्रवेश दिइने गाउँपालिकाले जनाएको छ। यसअघि चार साताको दुई हजार र चार साताभन्दा धेरै समयका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने गर्थ्यो।

योबाहेक त्यहाँ जाने पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जलाई पनि प्रतिव्यक्ति तीन हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ। टानका वरिष्ठ उपाध्यक्ष कृष्ण दाहालले पर्यटकको प्रवेश शुल्क बढेको जानकारी गाउँपालिकाले गराएको बताए। ‘गाउँपालिकाले टानलाई पनि पत्र पठाएर शुल्क बढाएको जानकारी गराएको छ,’ उनले भने, ‘गाउँपालिकाको निर्णयअनुसार यो शुल्क आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण भएको हो। टानले पनि आफ्ना सदस्य संस्थाहरूलाई यसबारे जानकारी गराइसकेको छ।’

गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हमु शेर्पाले पर्यटनका पूर्वाधारहरू बढाउन र संरक्षण गर्न स्रोत बढाउन शुल्क बढाइएको बताइन्। ‘हाम्रो त्यहाँको पूर्वाधार विकास र संरक्षणका लागि संघ सरकारबाट खासै बजेट आउँदैन,’ उनले भनिन्, ‘हामीले आफैँ स्रोत सुनिश्चित गर्नका लागि पर्यटकको प्रवेश शुल्क बढाउने निर्णय गरेका हौँ। गाउँकार्यपालिकाको बैठकले यो प्रस्ताव गाउँसभामा पेस गरेर पारित गरेर सम्बन्धित क्षेत्रमा जानकारी पनि गराइसकेका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =