गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक

हिमाल प्रेस १८ असार २०८१ १३:२३
24
SHARES
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक

काठमाडौँ- नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन्। वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ। नेता त्यो हो, जसले बाटो पहिल्याउँछ, पहिल्याएको बाटोमा आफैँ हिँड्छ, आफू हिँडेको बाटोमा अरूलाई पनि हिडाउँछ। गिरिजाबाबुले पनि त्यसै गर्नुभयो। गिरिजाबाबुको जीवनमा सङ्घर्षबाट पाएको चेतना र ज्ञान नै उहाँलाई अगाडिको बाटो देखाउने प्रकाशका रूपमा आएको प्रस्टै छ। निर्णय गर्न नडराउने उहाँको साहसपूर्ण स्वभाव सबैका निम्ति प्रेरणादायी बनेको छ।

राणाशासनको क्रूर अवस्थामा २१ वर्षे उमेरका गिरिजाबाबुबाट विराटनगरको ऐतिहासिक मजदुर हडतालको सफलतापूर्ण नेतृत्व गर्नु त्यो उमेरको कुनै पनि मानिसका लागि लरतरो काम थिएन। उहाँको नेतृत्वमा २००३ साल फागुन २१ गते एकतन्त्रीय राणा शासनको विरोधमा विराटनगर जुट मिलको आन्दोलन भएको थियो। नेपालको जनसङ्घर्षको इतिहासमा जनताले गरेको यो नै पहिलो ऐतिहासिक आन्दोलन पनि थियो। नेपालको इतिहासमा सबैभन्दा धेरै मानिस सहभागी भएको पहिलो र सबैभन्दा ठूलो मजदुर हडताल यही नै थियो। गिरिजाबाबुलाई सक्रिय र सङ्घर्षशील राजनीतिमा प्रवेश गराएको पनि त्यही आन्दोलनले हो। त्यसको सफलता वा विजयले उहाँमा राजनीतिमा लाग्ने हौसला मिलेको देखिन्छ।

गिरिजाबाबुले राजनीतिमा युगान्तकारी घटना गराउनुभएको छ। लोकतान्त्रिक आन्दोलनलाई गति दिने कार्यमा उहाँको अधिकांश उमेर बित्यो। उहाँ देशमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, २०१५ सालको आमनिर्वाचनको पनि गणना गर्दा बहुदलीय प्रजातन्त्रमा बिपीपछि दोस्रो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर पनि उहाँलाई मिल्यो। २०४८ सालदेखि २०५१ सम्मको गिरिजाबाबुको प्रधानमन्त्रीत्वको कार्यकाल अत्यन्त सन्तोषजनक, सन्तुलन र मर्यादित रूपले अगाडि बढेकै हो। विकासका पूर्वाधारको सुरुआत पनि यही कार्यकालमा भएको हो। यस अवधिमा स्वास्थ्य, शिक्षा, सञ्चार, विद्युतीकरण, यातायातका क्षेत्रमा मुलुकले ठूलो फड्को मारेको विदितै छ।

उहाँले राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि कहिल्यै लिनुभएन। साँच्चै भनौँ भने बिपी रहुन्जेल उहाँ लोकतान्त्रिक सङ्घर्षमा होमिनुबाहेक अरू कुनै जिम्मेवारीमा हुनुहुन्थेन। २०२५ सालदेखि २०३३ सालसम्म नेपाली कांग्रेसले आयोजना गरेको ‘सशस्त्र कारबाही’ हाँक्ने मुख्य ‘कमान्डर’ उहाँ नै हुनुहुन्थ्यो। उहाँमा धैर्यपूर्वक निर्णय गर्ने, आफ्नो निष्ठामा नझुक्ने, साहसी र इच्छाशक्ति भएको ऊर्जाशील गुण र विशेषता थियो। उहाँमा रहेका यस्ता असल गुण र विशेषतालाई अनुसरण गर्नसक्नु नै उहाँप्रतिका वास्तविक श्रद्धाञ्जलि हुनेछ।

जीवनको सात दशकभन्दा लामो समय लोकतान्त्रिक आन्दोलनमा निरन्तर रूपले बिताउनु साधारण कुरा होइन। जेल, निर्वासन र अनेक सङ्कटहरू ब्यहोर्दै देश र जनताका लागि आफूलाई समर्पण गरेर अनवरत उहाँ हिँडीरहनुभयो। पटकपटक गरेर उहाँ १२ वर्षभन्दा बढी समय जेलमा बिताउनुभयो। राणा र शाह दुवै निरङ्कुशतालाई चुनौती दिँदै कहिल्यै झुक्नु भएन, बरु उहाँको साहस, स्वाभिमान र अडानका अगाडि कुनै पनि अतिवाद वा निरङ्कुशता झुक्न बाध्य भए। प्रजातन्त्रका सन्दर्भमा कसैसँग पनि सम्झौता नगर्ने र प्रतिनिधिसभाको पुनर्बहालीले मात्र राजनीतिक निकास दिनसक्छ भन्ने गिरिजाबाबुको अडानलाई २०६१ साल माघ १९ को राजा ज्ञानेन्द्रको कदमले पनि रोक्न सकेन।

२०५९ साल असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो। त्यसपछि भएका आन्दोलनको नेतृत्व पनि गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो। २०६१ साल माघ १९ मा दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद् अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो। आखिर २०६३ साल वैशाख ११ गते बाध्य भएर राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए।

पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साल जेठ ४ मा राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो। उहाँकै नेतृत्वमा २०६५ साल जेठ १५ मा नेपालबाट दुई सय ४० वर्ष इतिहास भएको शाहवंशीय राजसंस्था अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो। यसरी दुई सय ४० वर्षदेखिको राजतन्त्रको अन्त्य गर्दै सक्रिय राजतन्त्रको असफल अभ्यासमा लागेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने कामको नेतृत्व उहाँले नै गर्नुभएको थियो। अन्त्यन्त आँटिला, आफूलाई लागेको कुरा निर्णय गराउन सक्ने, कम बोल्ने तर बोलेको कुरामा अडिग रहने उहाँको स्वभावले नै मुलुकलाई राजनीतिक रुपान्तरण गराउन सम्भव भयो। जीवनको अन्तिम क्षणसम्म राष्ट्रका लागि क्रियाशील रहने उहाँ समकालीन नेपाली राजनीतिका शिखर पुरुष हुनुहुन्छ।

उहाँको अर्को महत्वपूर्ण पक्ष भनेको सामान्य कार्यकर्ताको भावना र पीरमर्का बुझ्नसक्ने एक कुशल नेतृत्वका रुपमा देखाउनु भएको गुण र क्षमता पनि हो। उहाँ तल्लो तहको पार्टी कार्यकर्तासित समेत सोझै भावनात्मक सम्बन्ध राख्नसक्ने हुँदा आम कार्यकर्ताबीच अत्यन्त लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँले आफ्नो लामो राजनीतिक जीवनमा व्यतित गर्नुभएको विभिन्न आरोहअवरोहहरू उहाँका सफलता र असफलता नेपाली राजनीतिका अभिन्न अङ्ग हुन्।

लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा युद्धरत माओवादीलाई शान्ति प्रक्रिया र लोकतान्त्रिक धारमा ल्याउने ऐतिहासिक कार्य उहाँकै नेतृत्वमा सम्पन्न भयो। १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको इतिहास कसैबाट लुक्न सक्दैन। नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो। सहमति, सहकार्य र एकताका सूत्रधार कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय नै विश्वकै एक ऐतिहासिक सफलता हो।

छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो। चारपटक मुलुकको प्रधानमन्त्री बनेका नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो। संवाद, सहमति र सहकार्यको माध्यमबाट राजनीतिक स्थायित्व कायम गरी राष्ट्रिय एकता, लोकतन्त्र र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्नुपर्छ भन्ने उहाँको मान्यता अहिले पनि सबैको मार्गदर्शक बनेको छ। उहाँले आफ्नो जीवनकालभरि कालो झन्डा र विरोधको सामना गर्नु परे पनि मृत्युपर्यन्त उहाँले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर सायदै अरू व्यक्तिलाई प्राप्त भयो होला। आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित उहाँ आफ्नो विरोध गर्ने र कालो झन्डा देखाउने प्रवृत्तिलाई आफैँले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिका रूपमा लिनुहुन्थ्यो। राजतन्त्रविरुद्ध दलहरूले संयुक्त रूपमा लडेर संविधानसभाबाट संविधान बनाउने कार्य कोइरालाको योगदानबाट सम्भव भएको थियो।

अहिले मुलुक संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिरहेको छ। यतिबेला सम्पूर्ण राजनीतिक शक्तिहरूलाई एक सूत्रमा बाँध्ने गिरिजाबाबुजस्ता शीर्ष व्यक्तिको अभाव खड्किएको अनुभूति भइरहेको छ। सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुन सके मात्र लोकतन्त्र सफल हुन सक्छ। उहाँको निधनसँगै नेपाली लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताको अन्त्य भएको छ र मुलुकलाई शान्ति र समृद्धिको उचाइमा पुर्‍याउने जिम्मेवारी दोस्रो पुस्ताको काँधमा आएको छ। (वरिष्ठ चिकित्सक एवं प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केसीसँग  राससले गरेको कुराकानीमा आधारित)

प्रकाशित: १८ असार २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =