धरापमा प्रचण्डको ‘जादुमय नम्बर’!

हिमाल प्रेस १७ असार २०८१ १७:२४
270
SHARES
धरापमा प्रचण्डको ‘जादुमय नम्बर’! पुष्पकमल दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि आफूसँग जादुमय नम्बर भएकाले तरिका मिले पाँचै वर्ष प्रधानमन्त्रीमा टिकिरहने आत्मविश्वास व्यक्त गरेका थिए। यसरी पाँचै वर्ष प्रधानमन्त्रीमा रहने प्रचण्डको उद्घोष नसेलाउँदै सरकारको आयुमाथि प्रश्न उठ्न थालेको छ।

असार ८ गते काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्‌‌मा ३२ सिट मात्रै भए पनि जादुमय नम्बर भएकाले प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको उत्साहपूर्ण अभिव्यक्ति दिएका थिए।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना कार्यकर्तालाई सरकार ढल्छ कि भनेर ‘चिन्ता नलिन’ आग्रह गरेको सातै दिन नबित्दै सरकारको आयुलाई लिएर अनेकन् अड्कलबाजी हुन थालेको छ। यसको मुख्य कारण कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु हो।

संघीय संसद्‌‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका शीर्ष नेताहरूको संवादले नेपाली राजनीति तरंगित भएको छ। संवादहीन अवस्थामा रहेका नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच औपचारिक रुपमै भेटवार्ता हुन थालेको छ।

संसद्‌‌‌मा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका सभापति देउवाले त एमाले अध्यक्ष शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरू भने प्रचण्डलाई दबाबमा राख्ने ओलीले देउवासँग सहकार्यको प्रस्ताव गरेको व्याख्या गर्छन्।

सभापति देउवाले शनिबार ओली निवास बालकोट पुगेर यस्तो प्रस्ताव गरेको कांग्रेस नेताहरूले बताएका छन्। दुई नेताबीच साढे तीन घण्टा छलफल भएको ओलीको सचिवालयका एक सदस्यले बताए।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी परियोजनामा सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डेढ वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। त्यसपछि शनिबार देउवा बालकोट पुगेका हुन्। ओली र देउवाको भेटवार्ताले कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ढोका खोल्ने कतिपय नेताहरूको दाबी छ।

२०८० फागुन ३० मा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले देशका समस्याबारे कुरा गर्न खोज्दा कांग्रेसले नमानेको बताएका थिए। पछिल्लो तीन वर्षयता कांग्रेससँग पटकपटक संवाद गर्न खोजे पनि नमानेको उनको भनाइ थियो। ‘यो देशका समस्याबारे कुरा गरौँ न भन्दा कुरै चल्दैन,’ ओलीले भनेका थिए, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई। बसौँ, कुरा गरौँ न। प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन।’

ओलीले यस्तो भनेको साढे तीन माहिनापछि देउवा बालकोट पुगेका हुन्। गत फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको पनि नेताहरू बताउँछन्।

झस्किए प्रचण्ड

आइतबार बिहानै ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे। प्रचण्डले बोलाएर ओली सिंहदरबार पुगेका हुन्। त्यहाँ ओलीले प्रचण्डसँग साढे दुई घण्टा छलफल गरेका थिए।

छलफलमा प्रचण्डले ओलीसँग देउवासँग भएको भेटबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए। शीर्ष नेताहरूबीच भएको संवाद भने सार्वजनिक भएको छैन। यो भेटलाई लिएर नेताहरूले सरकार परिवर्तन भए तापनि स्वाभाविक मान्नुपर्नेसम्म बताउन थालेका छन्।

पालैपालो कांग्रेस एमालेलाई खेलाएर आफू सत्तामा बसिरहेको घटनालाई नमिठो रूपमा लिएका कांग्रेस–एमालेभित्रका कतिपय नेताहरू दुई दल मिलेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छन्। शनिबारको भेटले त्यो मान्यतालाई ठोस आकार दिने कामको सुरुवात गरेको दाबी कतिपय नेताहरूको छ।

कांग्रेस प्रचार विभाग प्रमुख नेता मीन विश्वकर्मा तत्कालै गठबन्धन फेरबदल गर्ने हिसाबले नभए तापनि यसखालको परिस्थितिको निर्माणका लागि छलफल भएको बताउँछन्।
‘एमाले सरकारमा ठूलो दल भएर पनि सत्ता साझेदार माओवादी केन्द्रसँग असन्तुष्ट छ भने प्रतिपक्षी कांग्रेस पनि सरकारका गतिविधिसँग सन्तुष्ट छैन’, उनी भन्छन्, ‘अहिले एमाले-माओवादी सत्ता समीकरण पनि सधैँका लागि रहिरहने होइन होला।’

प्रचण्ड र ओलीबीच आइतबारको भेटमा रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए। तीन नेताबीच सोमबार बिहान पनि छलफल गर्ने तय भएको छ।

ओली र प्रचण्डको भेटपछि आइतबार एकीकृत समाजवादीको १० औँ महाधिवेशनमा पुगेका रास्वपा सभापति लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक रहेकाले देश अनुकूलमा कहिल्यै नरहेको अभिव्यक्ति दिए।

‘मुलुक त सधैँ खतरामा हुने रहेछ। परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ। सधैँ अप्ठ्यारो पर्ने रहेछ। त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन्?’ लामिछानेले भने, ‘किसान, मजदुरले, काम गरेर खाने मान्छेहरूले कसले अफ्ठ्यारोमा पार्‍यो? म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु- जब आमजनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ, त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ।’

उक्त कार्यक्रममा कांग्रेस सभापति देउवा, प्रधानमन्त्री प्रचण्डलगायत सहभागी थिए। कांग्रेस सभापति देउवाले पनि संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको भन्दै राजनीतिक समीकरण परिवर्तनको संकेत गरे। तर उनले त्यसबारे प्रस्ट खुलाएनन्।

दबाबको राजनीति गर्दै ओली

नेताहरूका अनुसार नेकपा एमाले प्रधानमन्त्री प्रचण्डले कुनै अडान नलिएर आफूरूले भनेअनुसार सत्ता सञ्चालन गर्नुपर्ने भनेर दबाबमा राख्न चाहन्छ। यसमा प्रचण्ड इमानदार नभइदिएको उनीहरूको बुझाइ छ।

हालै विभिन्न ११ देशमा रहेका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। फिर्ता बोलाएपछि रिक्त भएकामध्ये आठ देशका लागि सिफारिस भएका राजदूतमा एमालेको भागबन्डामा परेकाहरू धेरै छन्।

राजदूत फिर्ता र नयाँ सिफरिसलाई लिएर प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा रहेका दलहरूलाई ख्याल गर्न भनेको बताएका थिए। उनले विगतमा राम्रो राजदूत दिएको भनेर कांग्रेस सभापति देउवालाई धन्यवाद दिएका थिए।

सरकारको नेतृत्वमा रहेर आफैँले ‘डिफेन्स’ गर्नुपर्नेमा सत्ता साझेदार दलहरूतिर देखाएकोमा एमाले नेताहरू रुष्ट छन्। नेकपा एमाले सर्वोच्च अदालतको नेतृत्वमा माओवादी निकट व्यक्ति पुर्‍याउन चाहिरहेको छैन। यसमा कांग्रेस पनि सहमत छ। प्रधानमन्त्री प्रचण्ड सर्वोच्च अदालतको नेतृत्वमा आफू निकटका न्यायाधीश पुग्ने गरी नियुक्ति सिफारिस गर्न खोजिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय संक्रमणकालीन न्यायसम्बन्धी विषय अगाडि बढाउन चाहेका छन्। कांग्रेस सभापति देउवासमेतको उपस्थितिमा छलफल चल्न थालेको थियो।

यही बेला एमाले अध्यक्ष ओली निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेपछि राजनीति तरंगित भएको हो। कतिपयले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा फरार रहेकाहरू पक्राउ पर्न थालेपछि राजनीतिमा तरंग आएको समेत दाबी गरेका छन्।

शनिबार प्रहरीले बेचन झालाई पक्राउ गरेको थियो। शुक्रबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पक्राउ परेका थिए। बादल गृहमन्त्री भएका बेला उनी स्वकीय सचिव बनेका थिए। तर मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको उल्लेख छ। त्यसक्रममा थापाले बिचौलियाको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
झा पक्राउले राजनीतिक संरक्षण खुल्ने डर नेताहरूमा रहेको कतिपयको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =