 
                             
                                            काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन्।
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन्।
‘मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ। यो कुरामा दुई मत छैन। मुलुकका राजनीतिक पार्टीका नेताहरूले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन,’ उनले भने।
उनले विदेशबाट स्वदेश फर्किएका नेपालीे फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने धारणा राखे। सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताए।
वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगीने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको जिकिर गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 