पहिरोमा परिवारै गुमाएका पवनलाई कास्की प्रशासनको राहत

हिमाल प्रेस ३१ असार २०८१ १७:१४
पहिरोमा परिवारै गुमाएका पवनलाई कास्की प्रशासनको राहत राहत रकम पवनकी आफन्तलाई हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे

पोखरा- गत बिहीबार राति पोखरा १९, तल्लाकोट टारीमा गएको पहिरोमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा उनीसहित ६ जना सदस्यको मृत्यु भयो। कुलबहादुरका १७ वर्षीय नावालक छोरा पवन भने भाग्यवश जोगिए।

उक्त कहालीलाग्दो घटनामा पवनले आफ्ना ४६ वर्षीय बुवा कुलबहादुर परियार, ४३ वर्षीया आमा मनकुमारी परियार, ८५ वर्षीया हजुरआमा लक्षिमा परियार, १५ वर्षीया बहिनी प्रशना, २० वर्षीया दिदी प्रभा र भिनाजु २५ वर्षीय अस्मित परियारलाई गुमाएका हुन्। पहिरोमा आधा शरीर पुरिएका उनीको सकुशल उद्धार भएको थियो। उनकी अर्की दिदी २२ वर्षीया मुना वैदेशिक रोजगारीका लागि जापान छिन्।

उक्त पहिरोमा पवनले आफ्नी ठूलीआमा ५६ वर्षीया राधिका परियारलाई गुमाएका छन्। राधिको घर पवनको घरको आँगन जोडिएको थियो।

परिवारका सबैजसो सदस्य गुमाएका पवन अहिले बाबुआमाको किरिया बसेका छन्। घरको न घाटको बनेका १० कक्षाका विद्यार्थी पवनलाई यतिखेर राहतको जरुरी छ।

यसैक्रममा जिल्ला सुरक्षा समितिले सोमबार ७ लाख राहत वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारतर्फबाट २ लाख गरी जम्मा ७ लाख राहत रकम हस्तान्तरण गरेको हो।

उक्त रकम दुरुपयोग हुन नदिन पवनको नाममा बैंक खाता खोली राखिदिने व्यवस्था मिलाउन साथै पहिरोमा परी घर पूर्ण रुपमा क्षति भएकोले आवास पुननिर्माणको प्रक्रिया सम्बन्धित स्थानीय वडा कार्यालयले तत्काल सुरुवात गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशनसमेत दिए।

सोही घटना परी मृत्यु भएका स्याङ्जा स्थायी ठेगाना भएका (कुलबहादुरका छोरीज्वाइँ) प्रभा परियार र अस्मित परियारका परिवारलाई आवश्यक कागजातसहित नजिकको हकदार सम्पर्कमा आएपश्चात् तत्काल राहत रकम उपलब्ध गराइने प्रजिअ पाण्डेले बताए।

प्रकाशित: ३१ असार २०८१ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast