युरोमा इंग्ल्यान्ड : समस्या प्रशस्त, समाधान समय थोरै

हिमाल प्रेस १६ असार २०८१ १६:१९
34
SHARES
युरोमा इंग्ल्यान्ड : समस्या प्रशस्त, समाधान समय थोरै अभ्यास गरिरहेका इंग्यान्डका खेलाडी।

सन् १९८२ मा इटालीले विश्वकप र २०१६ मा पोर्चुगलले युरो जित्दा दुवै टिम समूह चरणका सबै खेलमा बराबरीमा रोकिएका थिए। सन् २०१० को विश्वकपमा स्पेनको सुरुवात हारबाट भएको थियो। गत विश्वकपको विजेता अर्जेन्टिनाले पनि आफ्नो पहिलो खेल जितेको होइन।

उता अफ्रिका कप अफ नेसन्स जितेको आइभरी कोस्टले सुरुवाती दुई खेलमा नाइजेरिया र इक्वाटोरियल गिनीसँग हार व्यहोरेको थियो। समूह चरणमा उत्कृष्ट तेस्रो टिममध्येको एकका रुपमा मात्र आइभरी कोस्ट नकआउट चरणमा अटेको हो। अर्को समूहको घानाले इन्जुरी समयमा मोजाम्बिकसँग दुई गोल नखाएको भए, आइभरी कोस्टको भाग्य खुल्ने थिएन। यसरी संघर्षपूर्वक नकआउट चरणमा पुगेको आइभरी कोस्ट आखिरमा च्याम्पियन बन्यो।

अब सन् २००२ को विश्वकपलाई सम्झिऔँ। जहाँ ब्राजिल विजेता बनेको थियो। विश्व फुटबलमा मुख्य मानिने प्रतियोगिता इतिहासमा ब्राजिल मात्र यस्तो टिम हो जसले सातमा सातै खेल जितेर उपाधि उचालेको हो। यो एउटा उदाहरण हो, बलिया टिम समूह चरणसहितका सबै खेल जितेर च्याम्पियन बन्न सक्छन्। तर हरेक च्याम्पियन टिमले यही लय समात्नु पर्छ भन्ने होइन।

विश्वकप वा युरो, यी प्रतियोगिता आफैँमा अवश्य छोटा हुन्छन्। यी प्रतियोगितामा कहिले काहिँ यस्तो पनि हुन्छ, कमजोर मानिएका टिमले अचम्मै राम्रो खेल्छन्। कुरा, इंग्ल्यान्डको। इंग्लिस टिम कुनै कोणबाट कमजोर छैन, भलै नतिजाले त्यस्तो सन्देश दिइरहेका छैनन्। तर यी नतिजाले इंग्ल्यान्डलाई अहिलेसम्म उपाधि दौडबाट बाहिर पुर्‍याइहालेका छैनन्।

समूह चरणमा स्लोभेनियाविरुद्धको खेलमा इंग्ल्यान्डले खराब खेलेकै हो। तर त्योभन्दा खराब इंग्ल्यान्डले डेनमार्कसँगको खेल्यो। यी दुई खेलको नतिजाले इंग्ल्यान्डलाई नकआउटमा पुग्नबाट रोक्न सकेनन्। तर दुई विपक्षीमध्ये सर्वाधिक खराब प्रदर्शन कोविरुद्ध भयो भन्ने चाहिँ बहसको विषय बन्यो।

प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्ल्यान्डलाई पछिल्ला केही विश्वकप र युरोमा उपाधि दाबेदार बनाएकै हुन्। ती प्रतियोगितामा इंग्ल्यान्डले बलियो प्रदर्शन गर्नुका कारण थिए। इंग्ल्यान्ड परिपक्व संरचनामा खेल्ने गथ्र्यो। मुख्य कुरा त इंग्ल्यान्ड रक्षात्मक रुपमा निकै बलियो देखिन्थ्यो। धेरै मौका सिर्जना गर्न नसके कम्तीमा एक गोल गरेर विपक्षीलाई रोकेर राख्न सक्थ्यो।

तर यसपालिको इंग्ल्यान्ड फरक देखिएको छ। डेनमार्कसँगको बराबरीको सन्देश यही थियो, इंग्ल्यान्ड ठिकठाक स्थितिमा छैन। यो खेलमा इंग्ल्यान्डका खेलाडीले गरेको प्रदर्शनले भन्थ्यो, यो टिम एकबद्ध छैन। चिराचिरा परेको छ। खेलाडीले व्यक्तिगत ‘इगो’ र कमजोर लयले टिमको समग्र प्रदर्शनलाई असर गरेको छ। विपक्षीको क्षेत्रमा १० यार्ड लामो पास निकाल्न समेत हम्मेहम्मे पर्नुको कारण के हुनसक्छ?

समूह चरणमा कमजोर प्रदर्शन गरेर पनि उपाधि जित्न सकिन्छ भन्ने उदाहरण केही टिमले देखाएका छन्। जस्तै, माथि उल्लेख गरिएको आइभरीकोस्ट। यद्यपि आइभरीकोस्टको उदाहरण इंग्ल्यान्डका लागि प्ररणादायी हुँदैन। कारण? समूह चरणमा लगातार दुई खेल हारेपछि आइभरी कोस्टले प्रशिक्षक बर्खास्त गरेको थियो। तर सन् १९८२ को इटाली, २०१० को स्पेन, २०१६ को पोर्चुगल र २०२२ को अर्जेन्टिना, यी टिमबाट भने इंग्ल्यान्डले प्रेरणा लिनसक्छ। यी टिमले रणनीतिक परिवर्तन गर्दा उपाधि चुम्न सकेका थिए। टिमको रणनीतिमा ससाना परिवर्तन गर्दा पनि भनेजस्तो नतिजा आउन सक्छन्।

हाल इंग्ल्यान्डको प्रदर्शनमा प्राविधिक गल्ती औल्याइँदैछ। जस्तो, विङ्मा कमजोरी। केइरन ट्रिपियर लेफ्ट ब्याकको भूमिकामा छन्, भलै उनी राइट ब्याक हुन्। उनको प्रदर्शनमाथि प्रश्न उठेको छ। जबकि यिनै ट्रिपियर लेफ्ट ब्याक बनेर खेलेका थिए, जब इंग्ल्यान्डले युरो छनोटमा इटालीलाई सजिलै पराजित गरेको थियो। त्यस खेल जित्दा मैदानमा देखिएका आठ इंग्लिस खेलाडी जारी युरोको पहिलो खेलमा सर्वियाविरुद्ध भिडेका थिए। फरक यति थियो, यसपालि लेफ्ट विङ्मा मार्कस रासफोर्डको स्थानमा बुकायो साका, ह्यारी मग्वायरको स्थानमा मार्क गुएले खेले। त्यसबेला मिडफिल्डमा स्थान सुरक्षित गर्ने काल्भिन फिलिप हाल छानिन लायक लयमा छैनन्। भलै उनको स्थान अर्को खेलाडीले लिनसक्ने स्थिति छैन, साउथगेटको स्वीकारोक्ति छ।

फिलिपको स्थानमा अर्को खेलाडी तयार नपारिनु वा नखोजिनु इंग्ल्यान्डको कमजोर तयारीको उदाहरण हो। आफूले चाहेजस्तो खेलाडी नहुँदा प्रशिक्षकले सामान्यतया रणनीति परिवर्तन गर्छन्। साउथगेटले पनि रणनीति परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ। तीन सेन्टरब्याक खेलाउने, साकालाई लेफ्ट ब्याक बनाउने सल्लाह साउथगेटलाई दिइँदैछ। तर साउथगेट यी सुझाव मान्ने पक्षमा छैनन्। तर लेफ्ट ब्याकको अभाव भएपछि त्यसको असर कम गर्न साउथगेटले संरचनामा परिवर्तन गर्नसक्थे।

४–३–३ संरचनामा उनी सेन्टर ब्याक जोन स्टोन्सलाई मैदानको मध्यभागमा अघि बढेर खेल्न दिन सकिन्थ्यो। जब इंग्ल्यान्डको पक्षमा बल हुन्छ तब स्टोन्स सेन्टरब्याकबाट मिडफिल्डरको भूमिकामा उक्लिन सक्छन्। यसो हुँदा ज्युड बेलिङहम र फोडन विङ्बाट विपक्षीको १८ यार्डमा बल लिएर छिर्न सक्छन्। दुई ‘वाइड फरवार्ड’ प्रभावकारी भए, इंग्ल्यान्डसँग स्ट्राइकर ह्यारी केनबाहेकको गोलस्रोत हुनसक्छ।

जोकोही राइटब्याकलाई लेफ्टब्याक बनेर खेल्न सजिलो हुँदैन। यस्तोमा ट्रिपियर अपेक्षा गरे अनुसारको खेल नदेखाउनु र त्यसवापत आलोचना हुनु स्वाभाविक हो। यस्तो कमजोरीलाई छायामा पार्नेगरी खेल्न पार्न इंग्ल्यान्ड सक्षम छ। तर यसका लागि बेलिङ्हमलाई अहिलेभन्दा फरक भूमिकामा उतार्न आवश्यक छ। खासमा टिमको आक्रमकताको केन्द्र नै उनलाई बनाउन जरुरी छ। युरो सुरु हुनुअघि बेलिङहमलाई टिमको केन्द्र बनाउनेबारे व्यापक बहस भएकै हो। त्यसबेला के पनि आशा गरिँदै थियो भने केन पूर्ण रुपमा फिट रहनेछन्। अनि रासफोर्डको लय हेर्नलायकको हुनेछ। तर यी कुनै कुरा आशा यथार्थमा परिणत भएका छैनन्। जसको असर टिमको समग्र प्रदर्शनमा परेको छ।

यो इंग्लिस टिम सन्तुलित छैन। सन्तुलित नभएपछि समस्या त आउने नै भए। यसको कारण साउथगेट होइनन्। केन पूर्ण फिट हुन संघर्षरत रहनु, रासफोर्ड टिममा नपर्ने गरि लयबाहिर हुनु, साका वा बेलिङ्हम टिमको मुख्य स्टार बन्न नसक्नु, यी कुनै कुरामा साउथगेटको गल्ती छैन। अब नजर कोबी माइनोमाथि छ। उनले इंग्ल्यान्डको मिडफिल्डमा ऊर्जा थप्ने आशा छ। तर उनी र डेक्लान् राइसको जोडी सन्तुलित हुन्छ वा हुँदैन, टुंगो छैन।

इंग्ल्यान्डले यी तमाम समस्या सामना गरिरहेकाले अन्तिम १६ को खेलको नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने आशा स्लोभाकियाको छ। स्लोभाकिया यस्तो टिम हो, जो फ्रान्सिस्को काल्जोनाको प्रशिक्षणमा बलियो बन्दै गइरहेको छ। जबकि पछिल्ला प्रतियोगिताहरुमा स्लोभाकियालाई कमजोरमध्येको टिम मानिन्थ्यो। यसपालि इंग्ल्यान्डले स्लोभाकियालाई हेपेर खेल्न सक्दैन। समूह चरणमा बेल्जियमलाई हराएका कारण पनि स्लोभाकियालाई कम आँक्ने ठाउँ छैन।

दुई फुलब्याक स्लोभाकियाका बलिया हतियार हुन्। डेभिड हान्को र पिटर पेकारिकसँगै स्लोभाकियाली विङ्गरले इंग्लिस रक्षापंक्तिलाई दुःख दिनेछन्। यो खतरालाई ध्यानमा राखेर साउथगेटले कोल पाल्मरलाई अवसर नदिई साकालाई निरन्तरता दिनसक्छन्। उता ट्रिपियरले स्लोभाकियाका स्ट्राइकर इभान स्रान्जलाई रोक्न पछिल्ला खेलमा भन्दा बढी मेहनत गर्न आवश्यक छ।

के इंग्ल्यान्डसँग उपाधि दाबेदार बन्न अझैँ समय बाँकी छ? यसको जवाफ स्लोभाकियासँगको खेलले दिने नै छ। उसै पनि इंग्ल्यान्डको त्यति बिघ्न कमजोर भइसकेको छैन। त्यसमाथि खराब सुरुवात गरेर पनि च्याम्पियन बन्न सकिन्छ भन्ने उदाहरण प्रशस्त छन्। तर उपाधि जित्नका लागि इंग्ल्यान्डमा परिवर्तन देखिन भने आवश्यक छ।

युरो अन्तिम १६ आजको खेल

इंग्ल्यान्डविरुद्ध स्लोभाकिया
स्पेनविरुद्ध जर्जिया

प्रकाशित: १६ असार २०८१ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =