प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भारतको दुईदिने भ्रमणमा के भयो उपलब्धि?

हिमाल प्रेस २८ जेठ २०८१ २१:०५
26
SHARES
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भारतको दुईदिने भ्रमणमा के भयो उपलब्धि? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै। तस्बिर : रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी भई सोमबार स्वदेश फर्किएका छन्। भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको विश्वास लिएका छन्।

‘त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ’, स्वेदश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

साथै आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरूसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। भ्रमणका क्रममा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार आयोजना गरिएको विशेष समारोहमा नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा सहभागी थिए।

समारोहपछि प्रचण्ड भारतकी राष्ट्रपति द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी भए। साथै उनले राष्ट्रपति मुर्मु, उपराष्ट्रपति जगदीपधनखड़ तथा प्रधानमन्त्रीसँग भेटघाट भएको थियो।

आफ्ना समकक्षी नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिए।

राष्ट्रपति मुर्मुसँग भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको सदीयौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको थियो। यसैगरी नवनियुक्त संघीय मन्त्री डा एस जयशंकरसँगको भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचार आदानआदान भएको प्रधानमन्त्रीको प्रेसनोटमा उल्लेख छ।

भारतीय उद्योगी व्यवसायीहरूसँगको भेटमा नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको प्रचण्डले जानकारी दिए। प्रधानमन्त्रीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको प्रेस नोटमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =