‘बाटो’ हेरेपछि के भन्छन् कलाकार?

हिमाल प्रेस ३१ जेठ २०८१ १३:३७ | Thursday, June 13, 2024
‘बाटो’ हेरेपछि के भन्छन् कलाकार?

काठमाडौँ- फिल्म ‘बाटोः रोड टु डेथ’ को बुधबार ललितपुरको लबिम मलमा प्रिमियर सो आयोजना गरिएको थियो। प्रिमियरमा फिल्म हेर्न निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार राजाराम पौडेल, दिव्य देव, दिनेश डिसी, उषा रजकलगायतका निर्माण टिम, मिडियाकर्मीहरु उपस्थित भएका थिए।

करिब दुई घण्टाकाे फिल्म हेरेपछि कलाकारहरुले फरक स्वादको बनेको र प्राविधिक पक्ष बलियो रहेको प्रतिक्रिया दिए। मिडियासँग कुरा गर्दै कलाकार राजाराम पौडेलले फिल्मको प्राविधिक पक्ष उच्च स्तरको बनेको भन्दै फिल्मको खुलेरै तारिफ गरे। अन्य फिल्ममा जस्तो प्रेम कथा नभएको र हरर थ्रिलर जनरामा बनेको नयाँ स्वादको फिल्म रहेको उनको बुझाई थियो।

त्यस्तै दिनेश डिसीले ड्रोनबाट नयाँ प्रवृधिको प्रयोग गरेर खिचिएको उत्कृष्ट फिल्म बनेको बताए। निर्देशक ज्ञानेन्द्र देउजाले पनि ‘बाटो’ नयाँ जनराको फिल्म बनेको प्रतिक्रिया दिए। कलाकार दिव्य देवले पनि हेरिरहेको फिल्मभन्दा फरक किसिमको देखिएको बताए। साउथ इन्डियन फिल्म नेपालीमा हेर्न खोजिरहेका दर्शकको लागि ‘बाटो’ फिल्म उपयुक्त हुन सक्ने उनको भनाई थियो।

जेठ ३२ अर्थात् भोलिदेखि देशैभर प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक मदन थापा हुन्। नेपालीसहित तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको छ। फिल्ममा आमा छोराको सम्बन्ध र मानिसलाई नियन्त्रण गर्ने शक्ति पाउन उसकै मुटु खाने गिरोहको कथा छ।

रोड थ्रिलर जनरामा बनेको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, आशान्त शर्मा, पशुपति राई, रक्षा थापा, उत्पल झा, किरण शाही, गणेश उपाध्याय, आभाष अधिकारी, राजेन थापालगायत कलाकारको अभिनय छ। फिल्ममा चन्दन झाले लगानी गरेका छन्।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको फिल्म भारतीय छायाकार शरण ऋषिले छायांकन गरेका हुन्। फिल्मका निर्माता शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन्।

प्रकाशित: ३१ जेठ २०८१ १३:३७ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast