आज गंगा दशहारा पर्व मनाइँदै

हिमाल प्रेस २ असार २०८१ ८:२७ | Sunday, June 16, 2024
आज गंगा दशहारा पर्व मनाइँदै

महोत्तरी- हिन्दुधर्मका अनुयायी आज गंगा दशहारा पर्व मनाउँदैछन्।

पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गंगालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ।

गंगा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन्। सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गंगा रूप मानेर पूजाअर्चना गरिन्छ।

यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ।

जेष्ठ शुक्ल दशमीका दिन गंगा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउँछन्।

आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अंकुशी र जंघासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड छ।

प्रकाशित: २ असार २०८१ ८:२७ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast