काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्ध चार विकेटको जित निकालेको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय रंगशाला न्युयोर्कमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी रहँदै ६ विकेट गुमाएर भेट्टायो।
दक्षिण अफ्रिकाको जितमा डेविट मिलरले अविजित ५९ रन बनाए।
मिलरबाहेक, ट्रिस्टन स्टुब्सले ३३ रन थपे। यसबाहेक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी कक ‘डायमन्ड डक’ भएका थिए।
नेदरल्यान्ड्सका भिभियन किंग्समा र लोगन भान विकले समान दुई विकेट लिए। बास डे लिडेले एक विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनको योगफल खडा गरेको थियो।
डच टिमबाट साइब्रान्ड एंगलब्रेटले ४० रन बनाएका थिए। लोगन भान विकले २३, विक्रमजित सिंहले १२ र कप्तान स्कर्ट एडवार्ड्सले १० रन थपे। डच टिमका तीन ब्याटर शून्यमा आउट भएका थिए ।
दक्षिण अफ्रिकाका ओटानेइल बार्टमानले चार विकेट लिए । चार ओभरब बलिङ गरेका उनले ११ रनमात्र खर्चिए। एनरिक नोर्ट्जे र मार्को जान्सेनले समान दुई विकेट लिए ।
प्रतियोगिताको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

                                             
                                             
                                             
                                             
                                             
                                             

