काठमाडौँ- बंगलादेशमाथि ८ रनको जित निकाल्दै अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनल यात्रा निश्चित गरेको छ।
सुपर-८ को अन्तिम खेलमा विजयी बनेसँगै अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। समूह १ मा रहेको अफगानिस्तानको जितसँगै सोही समूहमा रहेका अस्ट्रेलिया र बंगलादेश प्रतियोगिताबाट बाहिरिएका छन्।
६ अंकका साथ भारत समूह विजेता बन्दा अफगानिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। अफगानिस्तानले ३ खेलबाट ४ अंक प्राप्त गरेको छ। समान खेलबाट अस्ट्रेलिया २ र बंगलादेश अंकविहीन बन्दा अफगानिस्तानले अवसर पाएको हो।
यता समूह २ बाट दक्षिण अफ्रिका समूह विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। अब समूह १ को विजेता भारत र समूह २ को उपविजेता इंग्ल्यान्ड एकआपासमा भिड्नेछन्। समूह १ को उपविजेता अफगानिस्तानको
सेमिफाइनल भेट समूह २ को विजेता दक्षिण अफ्रिकासँग हुनेछ।
अफगानिस्तान पहिलो पटक सेमिफाइनल पुगेको टोली हो। बंगलादेशलाई दिएको सामान्य ११६ रनको लक्ष्यमा चुक्दा अफगानिस्तानले यो अवसर पाएको हो। वर्षाले बिथोलेकाे खेलमा १९ ओभरमा ११४ रन बनाउनुपर्ने भए पनि बंगलादेश १०५ रनभन्दा अघि बढ्न सकेन।
बंगलादेशविरुद्धको खेलमा नवीन उल हक र रासिद खान घातक बने। नविन र रासिदले समान ४-४ विकेट लिँदा बंगलादेशको व्याटिङ लाइन ध्वस्त पार्न सफल भए।
फजलहक फारुकी र गुलबदिन नाबीले समान १-१ विकेट लिए।
यता बंगलादेशका लागि भने लिटन दासले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि हार टार्न सकेनन्। यसबाहेक सौम्या सरकार १० र तौहिद हृदोयले १४ थप्नबाहेक अन्यले दोहोरो रन छुन सकेनन्।
सेन्ट भिन्सेन्टको किङटाउनमामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ४३ र कप्तान रासिद खानले १९ रन बनाएका थिए। इब्राइम जादरानले १८ रन थप्दा अज्मातुल्लाह ओमरजाईले १० रन बनाएका थिए।
बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

                                             
                                             
                                             
                                             
                                             
                                             

