गण्डकीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस १६ जेठ २०८१ १७:५६
218
SHARES
गण्डकीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन्।

यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। पाण्डेको मन्त्रिपरिषद्‌मा कास्कीका विन्दुकुमार थापा सामाजिक विकास, ऊर्जा जलस्रोतमन्त्री र लम्जुङका टकराज गुरुङ अर्थमन्त्री बनेका छन्। थापा कांग्रेस संसदीय दलका उपनेता पनि हुन्।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा उनको पक्षमा ३० मत परेको थियो।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको समर्थन चाहिने थियो। तर, सभामुख कृष्णप्रसाद धितालले अधिकारीको पक्षमा परेको ३० मतलाई नै बहुमत पुगेको घोषणा गरेका थिए। यसका विरुद्ध पाण्डे सर्वोच्च अदालत पुगेका थिए।

कांग्रेस नेता पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलोपटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई माओवादी केन्द्रले साथ दिएको थियो। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो। अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।

गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ६० जना सांसद छन्। मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ। पाण्डेलाई राप्रपा र मनाङेले पनि समर्थन गर्ने सम्भावना छ।

प्रकाशित: १६ जेठ २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =