काठमाडौँ- २५६८औँ बुद्ध जयन्तीका अवसरमा इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सहभागीहरुलाई स्वागत गर्दै बौद्ध दर्शनका प्रमुख सिद्धान्त अहिंसा, दया, करुणा, समभाव एवं सम्यक ध्यानजस्ता शाश्वत एवं जीवनउपयोगी मूल्यमान्यता समसामयिक रहेको बताएको नेपाली दूतावास इस्लामाबादले जनाएको छ।
बौद्ध दर्शनमा लुम्बिनी र तक्षशिलाको ठूलो महत्त्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रुपमा विकास गर्न गरेका प्रयासहरुको चर्चा गर्दै अधिकारीले पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गरे।
साथै बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवम् आध्यात्मिक गन्तव्यका रूपमा रहेकाले पाकिस्तानलगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेको उनको भनाइ छ।
कार्यक्रममा पूर्वमन्त्री एवम् युवक बौद्ध मण्डल नेपालका सल्लाहकार डा. केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का केन्द्रीय सदस्य श्रीओमचरण अमात्य, बौद्ध विद्वान् एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित संकिच श्रामणेर र गोरखापत्रका प्रमुख संवाददाता एवं नेपालसम्बन्धी अध्येता केदारप्रसाद भट्टराई समेतले सम्बोधन गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालबाट त्यहाँ पुगेका विद्वान्हरूले हाल पाकिस्तानमा रहेका प्राचीन स्थलहरु स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मिएको उदियाना), पेसावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशिला) को बौद्ध दर्शनको विकासमा ठूलो महत्त्व रहेको सम्बन्धमा प्रकाश पारेका थिए।