अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २२ वैशाख २०८० १२:३३
12
SHARES
अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दैै गुरुयोजना बनाएर दिगो विकास गरिने बताएका छन्। द्रुत विकासका लागि राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको उनले बताएका हुन्।

२५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० विशेष समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउने गरी काम गर्ने बताए। उनले सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफू न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गरे।

प्रधानमन्त्री दाहालले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी सहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र बनाएको बताए। प्रधानमन्त्री दाहालले पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताए।

‘संसारका प्रायः सबै धर्मसंस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन्। दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्त्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो। यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु। शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ,’ प्रधानमन्त्रीले भने।

उनले अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गरेको बताए। ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद। मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुसरण गर्दा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी भएको प्रसंग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले बुद्धजन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना भएको स्थल रहेको बताए। प्रधानमन्त्री दाहालले प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताए।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताए। उनले समाजमा रहेको विभेद अन्त्यका लागि बुद्धले परिवर्तनको मार्ग अँगालेको बताए। उनले लुम्बिनीलाई धार्मिक र सांस्कृतिकरूपमा मुलुकको कूटनीतिका रूपमा विकास गर्न सकिने बताए।

मन्त्री किरातीले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानका लागि पहल भइरहेको बताए। उनले जेठ १६ गतेदखि नेपाल एयरलायन्सको विमानस्थलले उडान गर्ने समेत जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुद्धसर्किटको सम्भावना भएर पनि पूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या भएको बताए। उनले रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई शान्ति क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गरे। साथै उनले लुम्बिनी विकास कोषलाई प्रदेश संरचनामा ल्याउनुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका चार अर्ब बढी बौद्धमार्गीहरूको आस्थाको धरोहर भएकाले यसलाई समय अनूकुल विकास गर्दै लगिने बताए। विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत छन् सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि आसियानी लावे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीलाई धार्मिक स्थलको रूपमा विकास गर्नुपर्ने बताए।

बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। धम्मावती गुरुमा, वरिष्ठ पुरातात्वविद् वसन्त विडारी, बौद्धविद्वान डुण्डबहादुर ब्रज्रचार्य, होटल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको हो। यस्तै सोही अवसरमा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। सम्मेलनअघि मायादेवी मन्दिर हुँदै सम्मेलन केन्द्रसम्म विभिन्न झाँकीसहितको शान्ति र्‍याली निकालिएको थियो।

प्रकाशित: २२ वैशाख २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =