कांग्रेसको प्रश्न : दुईवटा राहदानी हुनेले सरकार चलाउने हो?

हिमाल प्रेस १३ जेठ २०८१ १५:४२
14
SHARES
कांग्रेसको प्रश्न : दुईवटा राहदानी हुनेले सरकार चलाउने हो?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा राहदानी हुनेले गृहमन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संघीय संसद् सचिवालय चलाइरहेको बताउँदै तत्काल छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सहकारी ठगीविरुद्ध सडकमा उत्रिएको कांग्रेसले आज काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो। दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुईवटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो?’

उनले सत्यलाई झुटले छोपिरहेकाले कांग्रेस सडकमा आउनुपरेको बताए। नेपाली कांग्रेसले दुई एजेन्डासहित सडक प्रदर्शन सुरू गरेको छ।

कांग्रेसले ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध’ प्रदर्शन गरेको जनाएको छ। कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि गम्भीर प्रश्न गरेका छन्। दाहाललाई उनले जनयुद्धको नायक प्रचण्ड हुन् कि हैनन् भनेर प्रश्न गरेका छन्। विरोधसभामा उनले सहकारी ठगीमा संलग्न जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको भनाइ आएकाे भन्दै प्रचण्डलाई प्रश्न गरेका हुन्।

‘अघिल्लो सरकारले भगाएको हो जीबी राईलाई ? के जीबीलाई नारायणकाजी श्रेष्ठले भगाउनुभएको हो’, उनले भने, ‘प्रचण्ड दन्त्य कथाका नायक हुन् कि १० वर्षे विद्रोहको नायक प्रचण्ड हुन् ?’

प्रधानमन्त्रीकाे पद दमदार रहे पनि आज प्रधानमन्त्री पिँजडाभित्र बसिरहेको देखिएकाे उनले बताए। शर्माले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? भनेर पनि प्रश्न गरे।

‘महानान्याधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? कहिले सहकारी प्रकरणमा छानबिन गर्न पर्दैन भन्छ। कहिले दोहोरो पासपोर्ट काण्डमा छानबिन गर्न पर्दैन भनेर लेखेर दिन्छ’, उनले भने।

प्रकाशित: १३ जेठ २०८१ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =