संरक्षणको नाममा डोजर चलाउन थालेपछि धमाधम सुक्न थाले ताल

हिमाल प्रेस ११ जेठ २०८१ १५:३०
24
SHARES
संरक्षणको नाममा डोजर चलाउन थालेपछि धमाधम सुक्न थाले ताल

ढोरपाटन- संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन्। स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्रताल, काठेखोला गाउँपालिका–४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका–२ मुठाचौरस्थित बराह ताल सुक्न थालेका हुन्।

विसं २०७८ मा गाजाको दहमा डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो। तालको क्षेत्र विस्तारपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीय बताउँछन्।

दह संरक्षणका लागि गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले लगानी गर्दै आएका छन्। हालसम्म करिब ५० लाख लगानीमा यहाँ काम भएको वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले बताए। उनले डोजर लगाउनुपूर्व तालमा अलि बढी पानी भएको तर अहिले केही कम भएको महसुस गरेको बताए।

तालमा डोजर लगाएर क्षेत्र विस्तार गरेपछि पानीको मात्रा बढ्न नसक्दा घटेजस्तो लागेको उनको भनाइ छ। ताल संरक्षणका लागि अब डोजर लगाएर खाली भएको ताल छेउमा बगैँचा निर्माण गर्ने अध्यक्ष भुजेलले बताए।

‘पहिले तालको क्षेत्र सानो थियो, टम्म पानी भरिएको देखिन्थ्यो, अहिले ठूलो क्षेत्र भएर पानी थोरै देखिएको हो, केही मात्रामा त घटेको छ, ताल संरक्षण गर्नका लागि अब डोजर लगाउँदै नलगाउने, बरु तालको किनारमा फूल फुलाउने, पानी कम सोच्ने बिरुवा लगाउने योजना बनाएका छौँ, संरक्षण गरिएन भने ताल खाली हुन पनि सक्छ पछिपछि,’ उनले भने।

बागलुङको काठेखोला–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो। तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको छ।

आर्थिक वर्ष २०७९/८० काठेखोलाले डोजर लगाएर कंक्रिट पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिए।

तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन्। अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसानको भनाइ छ। दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहे पनि अहिले तालमा धुलो उड्ने उनी बताउँछन्।

‘यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो, अहिले त धुलो उड्छ, यहाँ पालिकाबाट योजना पर्‍यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सुकेर सकियो,’ किसानले भने, ‘अब त कसरी पानी पलाउला र यो तालमा ?, यस्तो अवस्था आउँला भन्ने लागेको थिएनौँ।’

ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले ३० लाख रूपैयाँ लगानी गरी संरक्षण थालेको थियो। तर अहिले संरक्षण गर्दा उल्टै तालनै सुकेको छ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन नजिकै रहेको रुद्र ताल पनि सुक्दै गएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्र तालमा नगरपालिकाले छ वर्ष अगाडि डोजर लगाएपछि अहिले पानी निकै कम भएको छ।

ढोरपाटन पुग्ने पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएको भए पनि अहिले करिब ८० प्रतिशत पानी सुकेको स्थानीय खुमबहादुर सुनारले बताए।

‘पहिले रुद्र ताल जाने सडक थिएन, ढोरपाटन आउने पर्यटक गोरेटो बाटो हुँदै ताल पुग्थे, पछि सडक आयो, ताल सडककै छेउमा परेपछि धेरै मान्छे ताल हेर्न जान थाले, पछि नगरपालिकाले डोजर लगाएर सम्याउने काम गर्‍यो, त्यसपछि तालको पानी सक्दै सक्दै गएर अहिले थोरै भएको छ, यही हिसाबले पानी घट्दै गयो भने आगामी दुई/चार वर्षमा पानीनै रहँदैन होला।’

तमानखोला–२ स्थित मुठाचौरमा रहेको बराह तालमा पनि पानीको मात्रा घटेको स्थानीय बताउँछन्। गाउँपालिकाले ताल संरक्षणका लागि तालबार लगाउनुका सधैँ त्यस वरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ।

यस्तै बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराह तलमा पनि पानी केही कम भएको पाइएको छ। बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि निकै आकर्षित बनेको छ। अन्य तालको तुलनामा यस तालमा भने पानी अलि बढी रहेको पाइन्छ। यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन्।

बागलुङ र पूर्व रुकुमको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ। मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथीपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले ताल पानीको स्रोत भएको हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय पालिकाको भएको भन्दै डोजर लगाउन नहुने बताए।

डोजर लगाउँदा धेरै ठाउँमा पानीको मुहानसमेत सुकेको हुँदा ताल क्षेत्र वरपरसमेत ठूलो ‘इक्युमेन्ट’ चलाउन नहुने उनको भनाइ छ। रासस

प्रकाशित: ११ जेठ २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =