साहित्य संसारको आठौँ वार्षिकोत्सवमा कृति लोकार्पण, स्रष्टा सम्मान र रचना वाचन

हिमाल प्रेस ३१ वैशाख २०८१ १७:४८
36
SHARES
साहित्य संसारको आठौँ वार्षिकोत्सवमा कृति लोकार्पण, स्रष्टा सम्मान र रचना वाचन

काठमाडौँ- प्रज्ञा भवनको लेखनाथ सभा हलमा नेपाली साहित्य संसारको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रमलाई वार्षिक उत्सवका केही कार्यक्रमसहित कृति लोकार्पण, स्रष्टा सम्मान एवं  रचना वाचन समारोहका रूपमा प्रस्तुत गरिएको थियो।

साहित्यकार डा.रमेश शुभेच्छुको अध्यक्षतामा सम्पन्न सो समारोहका प्रमुख अतिथि विशिष्ट साहित्यकार प्रा.डाजीवेन्द्रदेव गिरी थिए। कार्यक्रममा साहित्यकार प्रा.प्रयागराज वाशिष्ठ र साहित्यकार गंगा लिगललाई साहित्य सिर्जना र सङ्गठनका विकासमा योगदान गरेबापत सम्मान गरिएको थियो।

समारोहमा टीकापुर कैलालीमा बसेर साहित्य साधना गरिरहेका बालकृष्ण खनालको अछुत फूल कृति लोकार्पण गरिएको थियो। लोकार्पित कृतिमाथि साहित्यकार नन्दु उप्रेतीले समीक्षात्ममक मन्तव्य राखेका थिए।

साहित्यकार खगेन्द्र खोल्साघरे, डा.बमबहादुर थापा जिताली, कृष्ण सुवेदी निराकार, कविराज घिमिरे, लालबहादुर भुजेल, डम्बर घिमिरे, मुकुन्द पौडेललगायत दर्जनौँ अतिथिहरू कार्यक्रममा सहभागी भएका थिए।

राष्ट्रगानको धुनसहित आरम्भ भएको सो कार्यक्रममा प्रमुख अतिथि र सभाध्यक्षले पानसमा रहेको दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेसँगै गायत्री चापागाईंले स्वस्तीवाचन गरेका थिए।

कार्यक्रमको आरम्भमै आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष डा.रमेश शुभेच्छुले संस्थाको इतिहास, खास खास काम, सहकर्मीहरूको अवस्था र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दे स्वागत गरेका थिए।

सभापतिको मन्तव्य राख्दै उनले भने, ‘म निमित्त मात्र हुँ। मेरापछडि बसेर मलाई निर्देशन गर्ने साथीहरू देश विदेशमा हुनुहुन्छ। डेढ दर्जन जति आजीवन सदस्य हुनुहुन्छ, असाध्यै प्रखर उद्घोषकहरू  नियमित हाम्रो संस्थाको पेजबाट कार्यक्रम चलाइरहनुभएको छ। हामी संस्थागत रूपमा यहाँ नेपालको छौँ तर व्यवहारले र सरसम्पर्कले विश्वमा फैलिएर रहेका छौँ।’

बोल्ने क्रममा शुभेच्छुले संस्थामा ककसले के के योगदान गर्नुभएको छ भन्दै आफ्ना सहकर्मीहरूको परिचय पनि दिँदै र मञ्चासिन अतिथि र सम्म्मातिन प्रतिभाको पनि परिचय दिए।

उनले लोकार्पित हुँदै गरेको कृतिले नारीलाई गरिने विभेद र जनयुद्धको विषय समेटेको पक्ष पनि उठाउन भ्याए। उनले भने,‘यो कृतिले जनयुद्धलाई परिवर्तनका लागि सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्नुभएको छ। मैले यो कृति पढेँ र उहाँमा सिर्जनात्मक क्षमता रहेको बुझेको छु। खनालज्यू औपचारिक शिक्षाविनै उठ्नुभएको बौद्धिक सर्जक हुनुहुन्छ।’

प्रमुख अतिथि र विशिष्ट अतिथिले कृति लोकार्पण बालकृष्ण खनालको कृति अछुत फूलको लोकार्पण गरे। कृति लोकार्पणलगत्तै स्रष्टा सम्मानको कार्यक्रम भएको थियो। सो कार्यक्रममा प्रयागराज भट्टराई र गंगालिगललाई दोसल्लासहित अभिनन्दनपत्र प्रदान गरिएको थियो।

लोकार्पित कृतिमाथि बोल्दै नन्दु उप्रेतीले केही लामो भए पनि अछुत पूल लघु उपन्यास भएको र लेखकले मिहिनेत गरेको बताए। सम्मानित प्रतिभा वाशिष्टले भने,‘अक्षर ब्रह्मको काम ठूलो काम हो। मेरो लेखन यात्रालाई सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिन्छु। यसले मलाई थप सिर्जनामा लागिरहने प्रेरणा दिएको छ।’

त्यस्तै गंगा लिगलले पनि आफू साहित्यमा लागेकै कारण आज बुढेस कालसम्म सक्रिय जीवन बाँच्न सकेको बताइन्। समारोहको अवसर पारेल गङ्गा लिगल, बालकृष्ण खनाल, सुधीर थापा, पवन कार्की, एम. पी पाण्डे र रसज्ञ छहरालाई आजीवन सदस्या प्रदान गरिएको थियो।

वार्षिकोत्सव समारोहको रचनावाचन कार्यक्रममा सुशीला श्रेष्ठ, दोलखा , लक्ष्मण सङ्गम (अछाम), कल्पना भट्टराई (काठमाडाैँ), पुजन मिश्र (झापा), रोमा लम्सास (सप्तरी), आँचलकुमार शर्मा (काठमाडौँ), निशा न्यौपाने (पाँचथर), पवन कार्की (धनकुटा), उषा गुरुङ झापा, शर्मिला पौडेल (धादिङ), सुधीर थापा (काभ्रे) ले रचनावाचन गरेका थिए।

सुशील रिजाल, दिवाकर घिमिरे, दीप सुदीप, जानकी मञ्जरी, हेमा सुवेदी, भावना घिमिरे लगायतका आयोजक टीपका सदस्यले सम्मान एवं आभारपत्र वाचनमा सहयोग पुर्‍याएका थिए।

कार्यक्रमका अन्त्यमा सभाध्यक्षले रचनावाचकहरूलाई कदरपत्र, प्रमुख अतिथि र वक्तालाई आभार पत्र एवं अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. जीवेन्द्रदेव गिरीले यथार्थवादी लेखनका सोझो यथार्थवर्णन, आलोचनात्मक याथार्थ र समाजवादी यथार्थको विश्लेषण गरेका थिए।

उनले संगठन गर्नु र सही प्रतिभा चयन गरेर मञ्चमा प्रस्तुत गर्न सक्नु कठिन काम भएको भन्दै संस्थाको कार्यक्रम सार्थक भएको बताए। उनले सम्माति प्रतिभा प्रयोगराज वाशिष्ट र आफू कुनै दिन पद्यमकन्या क्याम्पसको सहकर्मी भएको स्मरण गर्दै वाशिष्टको सिर्जनशील जीवनको कामना गरे।

कार्यक्रमका अन्त्यमा लोकार्पित कृतिका स्रष्टा बालकृष्ण खनालले आफू औपचारिक शिक्षा नलिएको, जम्मा तीन वर्ष स्कुल गएको र स्वअध्ययनले लेखक भएको जानकारी दिँदै भव्य कार्यक्रमका बिच आफ्नो कृति लोकार्पण भएकामा खुसी प्रकट गरे।

उनले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने उद्घोषकले नै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रममा बाक्लो गरी साहित्यकार र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। समारहोललाई एम.पी पाण्डे र अर्पणा आपागाईंले सञ्चालन गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०८१ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =