 चन्द्र ढकाल
                             चन्द्र ढकाल 
                                            काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवाद स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले केन्द्र तथा प्रदेशमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रमसम्बन्धी विवाद स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटना निकै कम भएको बताए।
अध्यक्ष ढकालले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए। उनले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेको बताए।
अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे। उनले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरूले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यबद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 