किम्फको दोस्रो दिन ‘फेरा’, ‘द स्कुल्स वाल’ र ‘विन्ड हर्स’ प्रदर्शन

हिमाल प्रेस १७ जेठ २०८१ १४:१५ | Thursday, May 30, 2024
किम्फको दोस्रो दिन ‘फेरा’, ‘द स्कुल्स वाल’ र ‘विन्ड हर्स’ प्रदर्शन

काठमाडौँ-  तीन छोटा फिल्मकाे फिल्म प्रदर्शनसँगै २१ औं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को दोस्रो दिन सुरु भएको छ। राष्टिय सभागृहको हलमा अनील कुर्मीको ‘फेरा’सहित ‘द स्कुल्स वाल’ र ‘विन्ड हर्स’को प्रदर्शन गरिएकाे छ।

अनिलको निर्देशनमा बनेको ९ मिनेटको फेराले कोभिडका बेला विदेशबाट फर्केर नेपालमै काम गर्न चाहनेक्रममा सरकारबाटै ठगिएको परिवारको कथा भन्छ।

फिल्मका मुख्य पात्र भक्तले सरकारी सूचीमा आफ्नो नाम नपर्दा राहत नपाएपछि सरकारी कार्यालयहरुको अनेक चक्कर लगाउँछन्। यही चक्कर लगाउने क्रममा उनी गर्भवती पत्निलाई छोडेर फेरि विदेश जाने कि नजाने दुविधामा पर्छन्। फिल्मले संरचनागत भ्रष्टाचार र आममान्छेको नियतिलाई देखाएको छ।

दोस्रो फिल्ममा मोहन श्रेष्ठको ‘द स्कुल्स वाल’देखाइएको छ।। बालकलारको मुख्य अभिनय रहेको २१ मिनेटको फिल्मका मुख्य पात्र आदित्य जुत्ता पालिस गरेर जीविका चलाउन बाध्य छन्। तर उनको मन भने नजिकैको स्कुलमा छ जहाँ आफ्नै उमेर समूहका बालबालिका स्कुल आउजाउ गरेको दृश्यले लोभ्याएको छ।

डाँडामा बसेर स्कुलका गतिविधि नियाल्ने आदित्य पढ्ने रहरकै कारण एकदिन स्कुलको बच्चाको लुगा चोर्छन् र त्यही लुगा लगाएर स्कुल प्रवेश गर्छन्। फिल्मले एकातिर पढ्ने रहर भएर पनि स्कुल जान नपाएको बच्चाको बालमनोविज्ञानको चित्रण गर्छ। अर्कोतिर, गरिब र धनीबीचको पर्खालले शिक्षाबाट वञ्चित हुँदाको पीडा पनि देखाउँछ।

तेस्रो फिल्म ‘विन्ड हर्स’ बाबुछोराबीचको द्वन्द्वात्मक सम्बन्धको कथा हो। पत्निको निधनमा उपस्थित हुन नपाएका सोनाम उनको नाममा प्रार्थना गर्न चाहन्छन्। यसकै लागि उनी नेपाल फर्केका छन्। प्रार्थना गर्ने पवित्र थलोमा पुग्न मुस्ताङको उचाइ छिचोलेर यात्रा गर्नुपर्नेछ। यात्रामा उनको साथमा छोरा कर्मा छन् जोसँग उनको भावनात्मक दूरी छ।

भौगोलिक जटिलता र भावनात्मक दुविधाको संघर्षमा हिँडेका दुई पात्रहरुमा आउने रुपान्तरणलाई फिल्ममा निर्देशक सुनील गुरुङले १० मिनेटको फिल्ममा सुन्दर ढंगले देखाएका छन्।

प्रकाशित: १७ जेठ २०८१ १४:१५ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast