कतारसँग श्रम सम्झौता, अड्किन्छ महिला कामदारमा

हिमाल प्रेस ६ वैशाख २०८१ ७:५५
152
SHARES
कतारसँग श्रम सम्झौता, अड्किन्छ महिला कामदारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल मंगलबार मन्त्रालयमा नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद एल एई अन्सारीसँग भेट गर्दै। तस्बिर : अर्यालको सचिवालय

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारसँग श्रम सम्झौता नवीकरणको प्रस्ताव गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद एल एई अन्सारीबीच मंगलबार श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा कतारी अमिरको भ्रमणका क्रममा कतारसँग श्रम सम्झौता नवीकरणको प्रस्ताव गरेका हुन्।

कतारका अमिर (राजा) सेख तमिम विन हमाद अल–थानीले वैशाख १२–१३ मा नेपाल भ्रमण गर्ने मिति तय भएको छ। श्रममन्त्री अर्यालले राजदूत अन्सारीसँग कतारका अमिर अल–थानीको आसन्न नेपाल भ्रमणका अवसरमा श्रम सम्झौता नवीकरण गर्न कतारसँग प्रस्ताव गरिएको बताए।

मन्त्री अर्यालले राजदूत अन्सारीसँग कतारमा कार्यरत नेपाली कामदारले भोगिरहेको समस्या, तलब, बिमा, रोजगार बिमा, सामाजिक सुरक्षा र अन्य सेवासुविधा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्डअनुसार बनाउन प्रस्ताव गरेका छन्। उक्त प्रस्तावलाई कतारी राजदूत अन्सारीले सकारात्मक रूपमा लिएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले बताए। राजदूत अन्सारीले तत्काल यस विषयमा छलफल गर्ने आश्वासनसमेत दिएका छन्।

रिजालका अनुसार कतारी राजदूतले श्रमिकका सबै समस्या समाधान गर्नेगरी श्रम सम्झौता नवीकरण गर्ने पक्षमा रहेको बताएका छन्।

नेपाल र कतारबीच पहिलोपटक २००५ मार्चमा सरकारी स्तरमा श्रम सम्झौता भएको थियो। श्रम सम्झौता भएको चार वर्षभित्र श्रम सम्झौता पुनरवलोकन गर्नुपर्छ। कतारसँग १९ वर्षसम्म श्रम सम्झौता नवीकरण हुन सकेको छैन। यसको मुख्य कारण महिला कामदार हो।

कतारका रोजगारदाता कम्पनीले नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजान चाहान्छन्। नेपाल सरकारले भने घरेलु रोजगारीमा महिला पठाउन २०७२ साल चैतदेखि रोक लगाएको छ।

नेपालले  श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्दै आए पनि कतारले चासो दिएको छैन। सम्झौता नवीकरणका लागि श्रम मन्त्रालय र कतारी श्रम तथा रोजगार मन्त्रालयको प्रविधिक कमिटिबीच ११ पटक छलफल भइसकेको छ।

छलफलमा कतारको प्रविधिक कमिटीका सदस्यहरू नेपालबाट घरेलु महिला कामदार लैजान माग गर्छन्। कतारले श्रम सम्झौता नवीकरणका लागि बनाएको मस्यौदामा समेत यस विषयलाई बुँदागत रूपमा समेटिएको हुन्छ। कतारको प्रविधिक कमिटीले घरेलु महिला कामदार लैजाने विषयलाई श्रम सम्झौताको मुख्य मुद्दा बनाएको संयुक्त कमिटीमै बसेर काम गरेका मन्त्रालयका एक अधिकारीले बताए।

‘कतारले श्रम सम्झौता नवीकरणको मस्यौदा घरेलु महिला कामदार समेटर बनाएको छ। यही विषयमा सहमति नहुँदा सन् २०१७, २०१९ र २०२३ मा श्रम सम्झौता नवीकरण रोकिएको थियो’, ती कर्मचारीले भने।

मन्त्रालयका प्रवक्ता रिजालले कतारले नेपालबाट घरेलु महिला कामदार लैजान प्रस्ताव गर्दै आए पनि अर्को व्यवस्था नभएसम्म घरेलु श्रमिक पठाउन सक्ने अवस्था नभएको बताए।

रोजगारविज्ञ डा. जीवन बानियाँले १९ वर्षपछि कतारसँग श्रम सम्झौता पुनरवलोकन हुन राम्रो पक्ष भएको बताए। समयानुकूल तथा श्रमिकमैत्री बनाउन भए पनि कम्तीमा चार वर्षमा श्रम सम्झौता पुनरवलोकन गर्नुपर्ने व्यवस्था हुन्छ। नेपालले भने रोजगारदाता देशसँग श्रम सम्झौता गर्न चुक्ने गरेको उनको आरोप छ।

‘ठूलो संख्यामा नेपाली पुग्ने रोजगारदाता देशमा सुरक्षाका विषयमा भने प्रश्न उठ्दै आएको छ। यसमा सबैभन्दा ठूलो कमजोरी सत्ता परिवर्तन भएको हो’, बानियाँले भने।

कतार नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्यमध्ये एक हो। कतारमा हरेक वर्ष ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेका छन्। अघिल्लो आवमा एक लाख ३३ हजार नेपाली युवा रोजगारीका लागि कतार गएको वैदेशिक रोजगार विभागको तथ्यां छ। चालु आर्थिक वर्षको नौ महिनामा ७० हजार युवा रोजगारीका लागि कतार पुगेका छन्। विभागका अनुसार कतारमा साढे चार लाख नेपाली कामदार कार्यरत छन्।

प्रकाशित: ६ वैशाख २०८१ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =