सुनसरीका दुई पालिकामा अझै अनिश्चितकालीन कर्फ्यु

हिमाल प्रेस २५ चैत २०८० ११:१७
14
SHARES
सुनसरीका दुई पालिकामा अझै अनिश्चितकालीन कर्फ्यु जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा परिचालित सुरक्षाकर्मी। तस्बिर : रासस

इटहरी- सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँलिकाका वडा नम्बर १ र ७ मा कर्फ्यु जारी रहेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतबार सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगन्जका दुई वडामा कर्फ्यु यथावत् रहेको जनाएका हुन्।

केही दिनअघि ती क्षेत्रमा दुई समूहबीच भिडन्त भएर अशान्त भएपछि प्रशासनले कर्फ्यु लगाएको हो। चारवटा पालिकामा भने आइतबार १ बजेसम्मका लागि आंशिक रुपमा कर्फ्यु लागू गरिएको आचार्यले जनाएका छन्।

उनका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगन्ज गाउँपालिका वडा नं. २,३,४,५ र ६, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा आंशिक कर्फ्यु लगाइएको हो।

शान्तिसुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी भएको आचार्यले जनाएका छन्।

जिल्लाको समग्र शान्ति सुरक्षालाई दृष्टिगत गरी कर्फ्यु जारी भएका स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभालगायतका कुनै पनि कार्यक्रम नगर्ने/नगराउने गरी कर्फ्यु आदेश अद्यावधिक गरिएको हो।

प्रकाशित: २५ चैत २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =