गण्डकीमा सरकार गठनका लागि सात दिनको समय

विजय नेपाल २१ चैत २०८० १५:००
8
SHARES
गण्डकीमा सरकार गठनका लागि सात दिनको समय

पोखरा– गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन्। सरकार गठनका लागि २७ चैत दिउँसो ३ बजेसम्मको समय दिइएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधान धारा १६९ उपाधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेको जनाए। संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसक्ने देखेपछि यसअघि बुधबार ११ बजे सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदा प्रदेश सरकारका पनि डगमगाएका छन्। मुख्यमन्त्री पाण्डेले गत २२ फागुनमा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेपछि भोलिपल्टै माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो।

उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो। उनले आफूलाई विश्वासको मत नआउने देखेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्। गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन्। पाण्डेले बिहान ११ बजे प्रदेश प्रमुख निवास सिमलचौरमा राजीनामा बुझाउनुअघि मन्त्रिपरिषद् बैठक डाकेका थिए।

६० सदस्यीय प्रदेशसभामा नयाँ सरकार बनाउन ३१ जना सदस्यसहितको बहुमत चाहिन्छ। एमाले-माओवादी सहितको नयाँ गठबन्धनलाई पनि यहाँ सरकार बनाउन सजिलो छैन। सबैभन्दा ठूलो दल कांग्रेससँग २७ सांसद छन्। एमालेका २२ सांसद र माओवादीका (सभामुखबाहेक) सात जना प्रदेश सांसद छन्। राप्रपाका २ सांसद छन्।

मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गरेकोमा फेरि स्वतन्त्र रहने भन्दै संसद् सचिवालयमा पत्र बुझाएका थिए। मुख्यमन्त्री पाण्डेले सरकार टिकाउन त्यसको भोलिपल्टै मनाङेलाई महत्त्वपूर्ण भौतिक पूर्वाधार मन्त्री बनाएका थिए।

कांग्रेसलाई मनाङे (१ सांसद), राप्रपा (२ सांसद) ले साथ दिए पनि बहुमत पुग्दैन। गत वर्ष माओवादीको चुनाव चिह्नबाट निर्वाचित बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले पाण्डे सरकारलाई सहयोग गर्ने आशा पनि पाण्डेलाई छ।

गण्डकी सरकार गठनमा निर्णायक राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरिरहँदा तत्काल सरकारमा जाने सोच नरहेको स्पष्ट पारिसकेको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

प्रकाशित: २१ चैत २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =