 
                             
                                            काठमाडौँ- उत्तरी छिमेकी चीनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइपुग्नु एक दिन अघि खाडीमा अमेरिकी अलाई भनेर चिनिएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने भएका छन्। कतार र अमेरिकाको सम्बन्ध अनि खाडी क्षेत्रमा कतारको बढ्दो प्रभाव नियाल्दा दुई छिमेकमा हुन लागेको यो उच्चस्तरको भ्रमणलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ।
पश्चिम एसियाली मुलुकहरूमा तनाव जारी रहँदा अमेरिकी विदेशमन्त्री चीन पुग्नु र नेपालमा कतारी अमिर आउनु संयोग मात्र होइन, यसको कूटनीतिक अर्थ अधिक छ।
खाडीमा जसरी पहिला साउदीलाई कूटनीतिक कदमको अग्रस्थानमा अमेरिकाले राखेको हुन्थ्यो, त्यसै गरी अहिले कतारलाई अघि बढाएको छ। रुस-युक्रेन युद्ध मात्र हैन खाडीको तनावको विषयमा पनि अमेरिकाले चीनसँग छलफल गर्नेछ। त्यस्तै विषयमा कतारी अमिरले नेपालमा कुरा गर्नेछन्।
कतारी अमिर आगामी मंगलबार नेपाल आइपुग्ने छन्। अमेरिकी विदेशमन्त्री बुधबार बेइजिङ ओर्लने छन्। कतारका अमिर राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका हुन्। उनी यसअघि नै नेपाल आउने भनिए पनि अन्तिम समयमा रोकिएको थियो।
उनी दुई दिनका लागि नेपाल आउँदैछन्। कतारमा नेपाली कामदारलाई राम्रो अवसर भए पनि अन्य मुलुकको कामदारले भन्दा कम पारिश्रमिक पाइरहेको विषयमा छलफल हुनेछ। कतार र नेपालबीचको दुईपक्षीय व्यापारको विषयमा पनि छलफल हुनेछ।
कतारको हमाससँग पनि राम्रै सम्बन्ध रहेको भन्ने सुन्नमा आएको भन्दै नेपालले कतारी अमिरसँग इजरायलबाट बन्दी बनाइएका विपिन जोशीलाई छुटाउन पनि पहल गर्ने भएको छ। त्यो विषयलाई नेपालले निकै हल्कासँग लिएको र कूटनीतिक पहलकदमी खासै नलिएको देखिन्छ।
कतारी अमिर फर्कने दिन ब्लिन्केन चीनमा आइपुग्ने छन्। उनी तीन दिन बस्नेछन्। भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने तय भएको छ। चीन र अमेरिकाको सम्बन्धको बारेमा पनि छलफल हुनेछ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन्। उनले त्यहाँ पश्चिम एसियामा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि वार्ता गर्नेछन्। उनीहरूको यो वार्ताको कोणमा कतारी अमिरको नेपाल भ्रमण साँच्चै अर्थपूर्ण छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 