चैतमा ७१ हजार युवा बिदेसिए, रुस जानेको संख्या १०१

हिमाल प्रेस ९ वैशाख २०८१ ११:२३ | Sunday, April 21, 2024
चैतमा ७१ हजार युवा बिदेसिए, रुस जानेको संख्या १०१

काठमाडौँ-  चैतमा ७० हजार ९ सय ३३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत ३३ हजार ३ सय ६९ जना नेपाली विभिन्न देशमा रोजगारीका लागि पुगेका छन्। यसैगरी व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३७ हजार ५ सय ६४ जना रहेको विभागको तथ्यांक छ।

चालु आर्थिक वर्षको ९ महिनामा साढे पाँच लाख युवा वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये मंसिर र चैतमा सबैभन्दा बढी गएका हुन्। मंसिरमा ७१ हजार २ सय ७६ जनाको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। मंसिरमा भन्दा चैतमा ६ सय ५७ जना बढी नेपाली वैदेशिक रोजगारीमा गएको विभागको विवरणमा उल्लेख छ।

कुन देश कति गए?

रोजगारीका लागि चैतमा सबैभन्दा बढी  १७ हजार ८ सय १८ नेपाली यूएई पुगेको विभागले जनाएको छ। यूएईपछि धेरै नेपाली साउदी गएका छन्। साउदीमा १३ हजार ६ सय ४१ जना रोजगारीका लागि गएका छन्। कतार ११ हजार २ सय ४ जना, मलेसियामा १२ हजार ६ सय २ जना, कुवेतमा ४ हजार ७६ जना, बहराइनमा ९ सय ६४ जना र ओमानमा २ हजार २२ जना गएको विभागको तथ्यांकमा उल्लेख छ।

चैतमा युरोपेली मुलुकमध्ये रोमानियामा २ हजार २ सय सय ९९ जना, क्रोएसियामा ९ सय ६० जना, साइप्रसमा ६ सय ७७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यस्तै जापानमा १ हजार ३ सय ५१ जना, माल्दिभ्समा ६ सय २१ जना, मौरिससमा ३ सय ६५ जना, दक्षिण कोरियामा १ सय ५७ जना, उज्वेकिस्तानमा २० जना, युद्धग्रस्त रसिया १ सय १ जना, मकाउमा २२ जना, जोर्डन १ सय ८९ जना, हङकङ १३ जना र ब्रुनाई ६९ जना गएको विभागको तथ्यांक छ।

नेपाली कामदारको श्रम गन्तव्य खाडी र मलेसिया प्रमुख रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। चैतमा ८८ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर ६८ देशमा नेपाली युवा वैदेशिक रोजगारीका लागि पुगेका छन्।

प्रकाशित: ९ वैशाख २०८१ ११:२३ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast