कतारसँग हुन सकेन श्रम सम्झौता नवीकरण

हिमाल प्रेस १२ वैशाख २०८१ १३:१५ | Wednesday, April 24, 2024
कतारसँग हुन सकेन श्रम सम्झौता नवीकरण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर सेख तमिम विन हमाद अल थानीबीच बुधबार काठमाडौँमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्ता। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेपाल र कतारबीच हुने भनिएको श्रम सम्झौता नवीकरण नभई कतारी अमिरको नेपाल भ्रमण सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी राजा सेख तमिम बिन हमाद अल थानीबीच बुधबार भएको द्विपक्षीय भेटवार्तामा सम्झौता हुने तयारी थियो।

 १९ वर्ष पुरानो श्रम सम्झौता पुनरवलोकन गर्न नेपाल तयार भए पनि कतारी पक्ष सकारात्मक नभएको श्रम मन्त्रालयका उच्च अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार कतारी पक्षले श्रम सम्झौताका लागि थप छलफल गर्नुपर्ने भनेपछि नवीकरणमा सहमति जुट्न नसकेको हो।

ती अधिकारीले भने, ‘कतारी पक्ष श्रम सम्झौता पुनरवलोकनका लागि तयार नदेखिएपछि राजाको भ्रमणका क्रममा समझदारी हुन पाएन।’ कतारका अमिर थानीले नेपाली श्रमिकको भने प्रशंसा गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्तामा कतारका अमिर थानीले कतारमा कार्यरत नेपाली श्रमिकको प्रशंसा गरेका हुन्। उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल र कतारका बीचमा सन् २००५ मा श्रम सम्झौता भएको थियो। त्यसपछि सम्झौता नवीकरण भएको छैन। श्रनवीकरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मंगलबार नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद एलएई अन्सारीसँग प्रस्ताव गरेका थिए।

नेपालमा रहेको कतारी राजदूतमार्फत श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गरे पनि केही प्रविधिक कारण रोकिएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले जानकारी दिए। उनका अनुसार श्रम सम्झौता नवीकरणका लागि थप छलफल गर्न दुवै पक्ष तयार भएको छ।

नेपालले २०१७ देखि कतारसँग श्रम सम्झौता नवीकरणका लागि नेपालले प्रस्ताव गर्दै आएको छ। कतार नेपाली श्रमिकको रोजगार गन्तव्य देश हो। कतारमा वार्षिक एक लाख १० हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।

कतारमा साढे ४ लाख नेपाली कतारमा कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ। कतारमा नेपाली उद्योग, कलकारखाना, होटल, निर्माण क्षेत्र, सुरक्षा गार्ड र कतार प्रहरीको रोजगारीमा जाने गरेका छन्।

कतारसँग श्रम सम्झौता, अड्किन्छ महिला कामदारमा

प्रकाशित: १२ वैशाख २०८१ १३:१५ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast