कतारले युक्रेनी संसद्लाई ३० लाख डलर सहयोग गर्ने

हिमाल प्रेस १५ वैशाख २०८१ १९:४४ | Saturday, April 27, 2024
कतारले युक्रेनी संसद्लाई ३० लाख डलर सहयोग गर्ने

काठमाडौँ- कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू प्रदानका लागि आवश्यक पूर्वाधार सुदृढीकरण गर्न युक्रेनी संसद्लाई ३० लाख डलर प्रदान गर्ने भएको छ।

कतारी सरकारले शुक्रबार युक्रेनी संसद्को मानवअधिकार आयुक्तलाई उक्त सहयोग गर्ने घोषणा गरेको अल जजिराले जनाएको छ। कतारको विदेश मन्त्रालयले कोषको उद्देश्य युक्रेनमा बालबालिका, सशस्त्र द्वन्द्वबाट प्रभावित नागरिक र समग्र युक्रेनीको जीवन सुधार गर्न डिजाइन गरिएका पहलहरूलाई सहयोग गर्नु रहेको जनाएको छ।

‘यसबाहेक कोषले युक्रेनमा द्वन्द्व प्रभावित परिवारहरूलाई सहयोग प्रदान गर्न आवश्यक कानुनी सहयोग बढाउन तथा अत्यावश्यक पूर्वाधार सुधारमा योगदान गर्नेछ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

मन्त्रालय र आयुक्तको कार्यालयले पनि मानव मर्यादाको सम्मान हुने तथा हरेक व्यक्तिको अधिकारको रक्षा हुने जनाउँदै संसारप्रति आफ्नो समर्पण दोहोर्‍याएका छन्। यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि रुसमा जबरजस्ती निर्वासित गरिएका १६ युक्रेनी बालबालिका हाल कतारमा हुर्किरहेको बताएका थिए।

यसैगरी युक्रेनी राष्ट्रपतिले युक्रेनलाई सहयोग गरेकोमा कतारप्रति कृतज्ञता व्यक्त गर्दै महत्त्वपूर्ण सहयोग गरेकामा कतारका राजा अमिर शेख तमिम बिन हमद अल–थानीप्रति आभारी र खुसी भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। यस मामिलामा निरन्तर फलदायी सहयोगका साथसाथै थप बालबालिकाको फिर्तीका लागि तत्पर रहेको उनले बताए।

परिवारहरूको पुनर्मिलन गर्न जारी मध्यस्थता प्रयासको एक हिस्साका रूपमा स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न कतारको राजधानी दोहामा २० युक्रेनी तथा रूसी परिवार आइपुगेको केही दिनपछि जेलेन्स्कीको टिप्पणी आएको अल जजिराले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८१ १९:४४ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast