बीमा प्राधिकरणको संशोधित निर्देशनमा, बीमा कम्पनीलाई लगानीको बाटो खुकुलो

हिमाल प्रेस १६ चैत २०८० १६:५१
8
SHARES
बीमा प्राधिकरणको संशोधित निर्देशनमा, बीमा कम्पनीलाई लगानीको बाटो खुकुलो

काठमाडौँ–नेपाल बीमा प्राधिकरणले पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने नीति खुकुलो बनाएको छ। प्राधिकरणले हालै बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को प्रथम संशोधन गर्दै बीमा कम्पनीहरूले जलविद्युत्, पर्यटन, वायुसेवा, कृषि, स्वास्थ्य, घरजग्गा र शिक्षा क्षेत्रमा लगानी प्रोत्साहन गर्न सजिलो नयाँ नीति ल्याएको छ।

प्राधिकरणले उक्त निर्देशनमा पूर्वाधार क्षेत्रमा लगानी गर्दा राख्नुपर्ने प्रोभिजनीङ (वितरणयोग्य नाफाबाट लगानी रकम घटाउने) सर्तलाई खुकुलो बनाएर कम्पनीहरूलाई प्रोत्साहन गरेको छ।

तीन वर्षभित्र धितोपत्र बजार (अहिलेको नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से) मा सूचीकृत नभएमा शतप्रतिशत रकम वितरण योग्य नाफाबाट घटाउने अर्थात् प्रोभिजनीङ गर्नुपर्ने व्यवस्था थियो। यसै नीतिका अनुसार बीमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा लगानी बढाउन नसकेको बीमा कम्पनी सञ्चालकहरूले गुनासो गर्दै आएका थिए।

अहिलेको निर्देशनमा यसको समय सीमालाई बढाएर न्यूनतम ५ वर्ष कायम गरिएको छ। भने लगानीको क्षेत्रअनुसार फरक–फरक बीमा कम्पनीलाई लगानीको व्यवस्था निर्देशनमा गरिएको छ। जलविद्युत् तथा सौर्य ऊर्जा कम्पनीको हकमा न्यूनतम पाँच वर्षको लगानी सिमा तोकिएको छ। लगानी गरेको पाँच वर्षमा सम्बन्धित कम्पनीहरू सेयरमा सूचीकृत नभएमा बीमा कम्पनीले शतप्रतिशत रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्ने निर्देशनमा उल्लेख छ।

यसका आधारमा कम्पनी सेयर बजारमा सचीकृत भएमा बीमा कम्पनीले त्यसरी नाफाबाट लगानी रकम घटाउन नपर्ने निर्देशनमा उल्लेख छ। जलविद्युत् आयोजनाको व्यावसायिक सञ्चालन मिति लगानी गरेको भन्दा ५ पाँच वर्ष भन्दा पछि भएमा पनि यो सर्त लागू निर्देशनमा भनिएको छ।

प्राधिकरणको निर्देशनमा पर्यटन, वायुसेवा, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि न्यूनतम ५ वर्षकै सीमा राखिएको छ। यसअवधिमा सम्बन्धित कम्पनीहरू सेयर बजारमा सूचीकृत नभएमा बीमा कम्पनीले लगानी बराबरको रकम वितरणयोग्य नाफाबाट सक्ने व्यवस्था निर्देशनमा छ।

यस्तै, स्वास्थ्य तथा शिक्षा सम्बन्धी कम्पनी बीमा कम्पनीले लगानी गर्नु पूर्व सञ्चालनमा आएको भएमा लगानी गरेको दुई वर्षपछि खुद नाफामा नगएमा पनि प्रोभिजनीङ गर्नुपर्ने निर्देशनमा उल्लेख छ। यस्ता कम्पनीले सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरणमा लगानी भएको रकमलाई वितरणयोग्य नाफाबाट घटाउनुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ।

साथै, ५ करोड भन्दा कम पुँजी लगानी भएको कृषि कम्पनी बीमकले लगानी गरेको तीन वर्ष अवधिमा खुद नाफामा सञ्चालन भएको हुनुपर्ने छ। यस्ता कम्पनीले शतप्रतिशत लगानी रकम सम्बन्धित आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने निर्देशनमा बताइएको छ।

घरजग्गा व्यवसायमा लगानी गरेको हकमा भने निर्माण अवधिमा परियोजना भएको हुनुपर्ने छ। घरजग्गा व्यवसाय गर्ने लगायतका कम्पनी त सेयर बजारमै सूचीकृत हुँदैनन्। यो अवस्थामा प्राधिकरणले लगानी भएको कम्पनी ३ वर्षमा शेयरमा सूचीकृत नभए वितरणयोग्य नाफाबाट लगानी रकम घटाउनुपर्ने सर्त राखेपछि बिमा कम्पनीहरू पूर्वाधारमा लगानी गर्न इच्छुक नभएका कारण निर्देशनमा यसका बारेमा उल्लेख गरिएको छैन।

प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० संशोधन गर्दै लगानीका सर्तहरू खुकुलो बनाएको नेपाल बीमा प्राधिकारणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। निर्देशन हालै मात्र आएका कारण कतिपय विषयमा छलफल गर्न बाँकी भएको उनले बताए। बीमा कम्पनीलाई बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० ले सबै क्षेत्रमा लगानीको बाटो खुकुलो बनाएको उनको भनाइ छ।

प्रकाशित: १६ चैत २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =