नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई समर्थन गर्छौँ : चिनियाँ विदेशमन्त्री

अजय अलौकिक १४ चैत २०८० १४:३५
48
SHARES
नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई समर्थन गर्छौँ : चिनियाँ विदेशमन्त्री चीन भ्रमणका क्रममा समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : अजय अलौकिक

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपालका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठसँग बेइजिङमा भेटवार्ता गरेका छन्। मंगलबारको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले श्रेष्ठलाई नेपालमा गठबन्धन गठन भए यता भएको पहिलो भ्रमणले चीन र नेपालबीचको मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने नेपाल सरकारको स्पष्ट अडानलाई प्रतिबिम्बित गरेको बताए।

उनले भने, ‘नयाँ नेपाल सरकार गठन भएयता तपाईँको पहिलो चीन भ्रमणले चीन र नेपालबीचको मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने नेपाल सरकारको स्पष्ट अडानलाई प्रतिबिम्बित गर्दछ।’ नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्ने बताउँदै उनले भने, ‘नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न र नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्ग पहिल्याउन हामी दृढतापूर्वक समर्थन गर्दछौँ र नेपालको आर्थिक तथा सामाजिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहनेछौँ।’

उनले मित्रराष्ट्र र रणनीतिक साझेदारका रुपमा चीनले नेपाललाई आफ्नो छिमेक कूटनीतिको महत्त्वपूर्ण दिशामा राखेको तथा नेपालका लागि शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अनुसरण गर्दै आएको र सानाठूला सबै देश समान हुन् भन्ने सिद्धान्तमा सदैव अडिग रहँदै आएको पनि बताए।

भेटमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको तथा गत वर्ष प्रधानमन्त्री प्रचण्डको सफल चीन भ्रमण र चीन नेपाल सम्बन्ध विकास गर्ने विषयमा दुई देशका नेताबीच महत्त्वपूर्ण सहमति भएको पनि विदेशमन्त्री यीले औँल्याए।

चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, राजनीतिक आपसी विश्वासलाई मजबुत बनाउन, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न र विकास र समृद्धिका लागि मित्रताको चीन नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ र उच्च स्तरमा पुर्‍याउन चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि यीले बताए।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन परम्परागत रुपमा मैत्रीपूर्ण र अन्योन्याश्रित रहेको र एकअर्कालाई सधैँ सम्मान र सहयोग गर्दै आएको औँल्याउँदै भूकम्प र महामारीसँग जुध्न चीनले नेपाललाई निःस्वार्थ सहयोग गरेको कुरालाई नेपाल सरकार र जनताले सदा सम्झने बताए।

नेपाल सरकारले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र द्विपक्षीय सम्बन्धको विकासलाई निरन्तर विस्तार गर्न चीनसँग नजिकबाट काम गर्न इच्छुक रहेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले यीसमक्ष भने, ‘नेपाल एक चीन सिद्धान्तमा दृढतापूर्वक अडिग छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीन विरोधी गतिविधिमा संलग्न हुन दिने छैन।’

राष्ट्रपति सी चिनफिङको बुद्धिमत्तापूर्ण नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवादले ठूलो सफलता हासिल गरेको र जनताको जीवनस्तरमा निरन्तर सुधार आएको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको नयाँ सरकार अर्थतन्त्रको विकास गर्न र जनताको जीविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध रहेको तथा चीनको सफल अनुभवबाट सिक्ने आशा गरेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले विश्वको विकास र समृद्धिका लागि अनुकूल रहेको बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपाल चीनसँग सहयोग सुदृढ गर्न इच्छुक रहेको तथा वैश्विक विकास इनिसिएटिभको मित्रसमूहमा सामेल हुने निर्णय गरेको चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुवै पक्ष १४ वटा परम्परागत सीमा नाका खोल्न र व्यापार, लगानी, पर्यटन र अन्य क्षेत्रमा व्यावहारिक सहयोग सुदृढ गर्न सहमत भएको छ। वार्तामा दुई देशबीचका महत्त्वपूर्ण विषयहरुमा छलफल गर्नका लागि बनेको सचिवस्तरीय संयन्त्रलाई अब मन्त्रीस्तरीय बनाउने सहमति भएको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

मंगलबार अपराह्न उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासमा आयोजित पूर्व लगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए। सयको हाराहारीमा रहेका सम्भावित चिनियाँ लगानीकर्तालाई नेपालमा विदेशी लगानी आकर्षित गर्नका लागि नीतिनियम तथम कार्यविधिमा सुधार र व्यापारमैत्री वातावरण स्थापना गरेको औँल्याए। बुधबारदेखि उपप्रधानमन्त्री श्रेष्ठको छोङछिङ, तिब्बत र सछ्वान प्रान्तको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १४ चैत २०८० १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =