‘बाआमा पढ भुन्नाछिया,हामी गोठ जान्छियौ’

अछुत कोपिला १० चैत २०८० १४:४०
130
SHARES
‘बाआमा पढ भुन्नाछिया,हामी गोठ जान्छियौ’

जग्गा बेच्यो जुवा खेली,जोई बेच्यो गाइनाले।
आजभोल काँई न काँई भयो, रोज्या फूल लाइनाले।

प्रस्तुत गीतको हरफमा एक महिलाको पीडा बोलेको छ। उनी विवाहित महिला हुन्। उनका श्रीमान् बेकामे छन्। पारिवारिक जिम्मेवारीबाट विमुखजस्तै। उनको कुलत छ तास खेल्ने। तास खेलेरै ती पुरुषले जग्गा बेचेका छन्। ‘जोई बेच्यो गाइनाले’ लाई बिम्बात्मक रूपमा चित्रण गरिएको छ। उनी यस्तो कुलतमा छन्, ताल परे जोईसमेत बेच्न पछि पर्दैनन्।

उनको बैगुन त्यतिमै सीमित छैन। भँमराका रूपमा नयाँनयाँ फूल चहार्दै हिँड्छन्। सामान्यतया नेपाली समाजमा विवाहित पुरुषले परस्त्रीसँग हिमचिम गरेको नैतिक कार्य मानिँदैन। दोस्रो हरफमा भने उनी पतिप्रेम झल्काउँछिन्। अन्त्यमा उनी बेघरबार हुन्छन्।

ठाडो भाकामा प्रस्तुत गरिने यस्ता गीत कर्नालीतिर प्रशस्तै गुञ्जिन्छन्- डाँडापाखा, भीरपाखाहरूमा, गोठभित्र। पछिल्लो समय यस्ता भाषा रिहा भएका छन्, गोठबाट। साठीको दशकसम्म कर्नालीतिर गोठमा देउडा र ठाडो गाउन जाने चलन थियो।

ठिटाठिटीहरू लुकिछिपी गोठमा देउडा खेल्थे। उनीहरू एकअर्काबीच साली भिना भनेर सम्बोधन गर्थे। गीतहरूमार्फत यस्ता सवालजवाफ हुन्थे। यस्ता गीत गाउने र गोठमा खेल्न जाने चलनकी साक्षी हुन्, गुठीचौरकी पुन्नकली सुनार। त्यतिबेलाका सप्ठ्यारा-अप्ठ्यारा सम्झिँदै उनी भन्छिन्, ‘अहिलेको जस्तो कहाँ सजिलो थियो। यसरी खुल्ला रूपमा गाउने वातावरण नै थिएन। लुकिछिपी गाउनुपथ्र्यो।’ उपयुक्त वातावरण भनेको डाँडापाखा, जंगल र तिनै गोठ थिए। सुनार त्यतिबेला गोठमा भिनाले भनेका गीतका टुक्का सम्झिन्छिन्।

रूखैका छिजलाबाट छिना गाउँ देखियो।
सालीका रूमालमाथि मेरो नाउँ लखियो।

उल्लिखित हरफ भिनाले सालीलाई प्रेमिल भाषामा अभिव्यक्त गरेको गीतको टुक्का हो। गीतको हरफमा भनिएको ‘छिनागाउँ’ जिल्ला सदरमुकाम खलंगा नजिकै रहेको गाउँ हो। जुन हालको चन्दनाथ-५ मा पर्छ।

जिल्लाका चार दरा छन्। तीमध्ये छिनागाउँ असी दरामा पर्छ। खस भाषाको उदगम् थलो सिञ्जा क्षेत्रलाई सिञ्जा दरा भनिन्थ्यो। हालको तिला र तातोपानीको क्षेत्रलाई पानसय दरा र गुठीचौर र पातारासी क्षेत्रलाई चौधबिस।

अनि साली भिनाको गीतमा जबाफ फर्काउँछिन्।

बाटो राम्रो बउरेलै (बाबिरा) को, लेक राम्रो तरापी ।
खेल्दाखेल्दै मन बैराखी, खेल्ने काम खरापी।

फेरि भिना भन्छन्

तातोपानी तपुन (तातो) धारा, दुई केटी हुलाकी।
मेरा पोइल आउन्या भया, हाल्दिउला बुलाकी।

साली जबाफ फर्काउँछिन्।

मोइकल लैजान्छु भुन्या,तुमी हौ हुलाकी।
भोलि दुःख दिन्या हौ कि ,क्या देउला बुलाकी।

मैनसरी र लालसरीका कथा

आफू युवा अवस्थामा हुँदा गोठमा ठिटासँग खेल्न गएको अनुभव सुनाउँछिन्, सिन्जाकी मैनसरी बुढा। ६८ वर्षीया बुढाको गोठमा खेल्न जादा जाँदै पिरती बस्यो। पछि विवाह भयो। उनी भन्छिन्, ‘रातको सुमयमा हामी उन बुन्ना छियौ। ठिटाहरू आउन्छिया। काम सकेपछि सप्पै सुत्ता छिया। हामी खेल्न जान्छियौ।’

यस्तै गोठ खेल्न जाने दिन दिउँसै रूमाल, जाल्या, नौगेडी बइना दिन्या चलन थियो। ठिटाहरू रूमाल चिनो दिन्थे। ठिटीहरू जाल्या, पोते र नौगेडी दिन्थे। आफ्ना साथीसँगीहरूको त्यसरी नै विवाह भएको उनी बताउँछिन्। गोठमा गाइने गीत मायापिरतीसँग केन्द्रित हुन्थे। गीतका माध्यमबाट एकअर्काको बखान गरिन्थ्यो।

लालसरी रावत भन्छिन्, ‘आमा बा पढ, लेख भुन्ना छिया। हामी गोठ खेल्न जान्छियौ।’ त्यति बेला पढ्नभन्दा पनि गोठ खेल्न बढी जान्या। गाउँमा औँलामा गन्न सकिने मात्रै स्कुल जान्थे। स्कुल गएकाहरू पनि बीचमै छोड्ने। कलियो उमेरमै विवाह भइहाल्ने। त्यसपछि पढाइ भन्दा पारिवारिक जिम्मेवारीको भारी थिच्थ्यो। पढ्नै नपाइने। लालसरा भने बाआमाले पढाउन खोज्दा पनि आफूले नपढेको बताउँछिन्।

अहिले पछुतो लाग्दो छ। पढ्नुपर्ने रैछ भुनिकन। उनले आफू नपढेपनि आफ्नी छोरीकन भने राम्रो शिक्षादीक्षा दिएकी छन्। आफूले नपढ्दा पाउनुपरेको दुःख छोरीहरूले नपाउन भन्नेमा भन्नेमा सचेत छिन्। मैनसरी र लालसरा त उदाहरण मात्रै हुन्। यस्ता धेरै पात्रहरू भेटिन्छन्, सुदूर गाउँहरूमा।

हराउँदैछ देउडा संस्कृति

जीवन्त संस्कृतिको रूपमा रहेको देउडा पछिल्लो समय लोपउन्मुख अवस्थामा पुगेको छ जुन चिन्ताको विषय हो। देउडा यहाँको पहिचान हो, संस्कृति हो। देउडा लोकसंगीतको मुहान हो। कर्नाली क्षेत्रमा गीत, विभिन्न भाका, मागल, चुट्किला, लोकगीत सांस्कृतिक धरोहर हुन्। देउडासँग त्यहाँको पहिचान जोडिएको छ। पहिचान हरायो भने हाम्रो अस्तित्व संकटमा पर्छ। त्यसैले हाम्रो पहिचानलाई जोगाइराख्ने जिम्मेवारी हाम्रै हो।

संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका शब्दमा समाजको असली परिचय हराउँदैछ। खस सभ्यतामा आधारित संस्कृति हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्छन् उनी। भन्छन्, ‘देउडा त हाम्रो पहिचान हो नि। तर पछिल्लो समय हो लोपउन्मुख अवस्थामा पुगेको छ। देउडाका साटो आधुनिक र रक पपगीतहरू गुञ्जिन थालेका छन्।’ पुस्तान्तरण, प्रविधिको विकास र संस्कृति संरक्षणमा चासो नदिनाले समाजको स्वरूप नै बदलिँदो छ।

अन्त्यमा एउटा गीतको टुक्का

भैँसी मोटी लेक चर्याकी, गाई मोटी गइराकी।
कि सबै घरबारे होइजाउ,कि सबै बैरागी।

प्रकाशित: १० चैत २०८० १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =