मोरङमा बढ्यो अपराध : दुई सातामा पाँचजनाको ‘हत्या’

विवेक विवश रेग्मी ७ चैत २०८० १७:२३
62
SHARES
मोरङमा बढ्यो अपराध : दुई सातामा पाँचजनाको ‘हत्या’

इटहरी-

घटना १ : फागुन ११ गते राति १०ः३० बजेतिर मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको बिभत्स हत्या भयो। खोटाङको ऐँसेलुखर्क गाउँपालिका ६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका ७ लामा टोलीस्थित विनोद राई (मामाको छोरा)को घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्या भएको थियो।

हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेनकुमार चौधरी घटनाको २४ घण्टा नबित्दै पक्राउ परे। हत्याको प्रमुख कारण प्रेमसम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ।

धीरेन र किशोरीबीच करिब डेढ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानअनुसार सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएपछि उनीहरू प्रेमसम्बन्धमा थिए।

‘छोरा उमेरकी बालिकासँग धीरेन प्रेमसम्बन्धमा रहेको पाइएको छ। बिहे गर्ने योजना बनाएर एकपटक उनीहरू भागेको पनि खुल्यो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले भने, ‘भारततर्फ जाँदै गर्दा मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाले उद्धार गरेर किशोरीलाई अभिभावकको जिम्मा लगाएको रहेछ। बिहे सम्भव नभएपछि धीरेनले योजनाबद्ध हिसाबले ज्ञानमतीको बिभत्स हत्या गरेको पत्ता लाग्यो।’

घटना २ : चैत  २ गते विराटनगरस्थित घरको शौचालयमा स्टार्फ नर्स मृत अवस्थामा फेला परिन्। नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास विराटनगर महानगरपालिका-४ स्थित भाडामा बसेको घरको शौचालयमै मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको निष्कर्ष निकालेको थियो।

सिराहाको फुल्काहकट्टी घर भएकी दासको हत्या गरेपछि उनका प्रेमी भनिएका पुरुषले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

नर्सको हत्यापछि प्रहरीको खोजीमा रहेका उनका प्रेमी शिवशंकर दास विराटनगरकै फाइन होटेलमा मृत फेला परेका थिए। उनको शव होटेलको कोठामै झुन्डिएको अवस्थामा  चैत ५ मा प्रहरीले फेला पारेको थियो।

घटना २

७ चैत बुधबार मोरङको बेलबारीमा मध्यराति श्रीमानले श्रीमतीको हत्या गरेर आफैंले घाँटी रेटेर आत्महत्या गरेका छन्। राति १ः४० बजेतिर मोरङको बेलबारी नगरपालिका १ स्थित अन्दाजी ६० वर्षको बमबहादुर लिम्बूले आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।

आपसी विवादका क्रममा लिम्बूले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरले सोही दाउले आफूलाई पनि रेटेर आत्महत्या गरेका थिए।

उनीहरू स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि भाडामा बस्दै आएका थिए। घरधनी निर्मलाले भनिन्, ‘मध्यराति रोएको आवाज आएपछि घटनाबारे थाहा भयो। बमबहादुरले श्रीमतीको हत्या गरेपछि प्रहरीले मलाई जेल लैजान्छ भनेर आफैँ घाँटी रेटेछन्।’ घटनास्थलबाट उनीहरूका ८ वर्षीय एक छोरा भने भागेर बच्न सफल भएका छन्।

बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाए पनि चिकित्सकले बिहान ३ः३० बजेतिर मृत घोषित गरेका थिए। बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बुधबार बिहान माेरङमा घटना भएको घरमा भेला भएका छिमेकी।

पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लामा हत्याका घटना बढेका छन्। सुनसरी, मोरङ, झापा, संखुवासभालगायतका जिल्लामा यस्ता घटनाको शृंखला बढिरहँदा प्रहरीलाई चुनौतीसमेत बढिरहेको छ।

मोरङमा मात्रै दुई साता अवधिमा पाँचजनाको मृत्यु भएको छ। हत्या गरी आफैँ आत्महत्या गरेका घटनाले समाजमा नकारात्मक प्रभावसमेत पर्दै गएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहाल भन्छन्, ‘पछिल्लो समय भएका घटना सामाजिक, आर्थिक, पारिवारिक र वैदेशिक रोजगारीसँग जोडिएका छन्।’

उनका अनुसार युवापुस्ता सामाजिक सञ्जालको दुरुपयोग, वयस्क पुस्ता शंकाको कारक र त्योभन्दा माथिल्लो पुस्ता भने आर्थिक तनावका कारण यस्ता किसिमका घटनामा संलग्न रहेको अनुसन्धानले देखाएको छ।

‘यस्ता घटना विभिन्न सामाजिक विषयसँग जोडिएर आउँछन्,’ डीएसपी दाहालले हिमाल प्रेससँग भने, ‘ठ्याक्कै कारणबारे थप अध्ययन गर्नुपर्छ। हाम्रो अनुसन्धानअनुसार आर्थिक, सामाजिक र वैदेशिक रोजगारीका कारण पनि हत्याका घटना बढेका छन्।’

दाहालका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा पनि युवापुस्ता आपराधिक घटनामा संलग्न हुँदै आएका छन्। बुधबार बेलबारीमा भएको घटनामा दुवैजनाको दोस्रो विवाह देखिएको र यसअघि पनि मापसे गरी झैझगडा गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

यसअघि पटकपटक मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्दै आएको र श्रीमतीमाथि शंका गर्ने गरेका कारण आवेशमा आएर हत्या भएको डीएसपी दाहालले बताए।

‘आजको घटनामा श्रीमान्‌ले श्रीमतीमाथि शंका गर्ने, मापसे गरी पटकपटक झगडा गर्नेजस्ता कारण प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ दाहालले विराटनगरमा स्टाफ नर्सको घटना सम्झँदै भने, ‘नर्सको हत्या पनि शंकाकै भरमा भएको देखिन्छ। अर्को केटासँग सम्बन्ध भएको भन्ने जानकारी भएपछि वैदेशिक रोजगारी मलेसियामा रहेको भए पनि नेपाल आएर घटना गराएको देखिएको छ।’

दाहालका अनुसार युवक मलेसियामै रहँदा अर्कै केटासँग लागेको जानकारी पाएपछि उनी नेपाल आएर नर्सको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका थिए। यो घटनामा सामाजिक सञ्जाल र वैदेशिक रोजगार जोडिएको उनले बताए ।

घटना न्यूनीकरणका लागि राज्यले समाजसँग जोडिएर एकीकृत हुने किसिमका काम गर्नुपर्ने उनले बताए। ‘डिप्रेसनमा रहेको मानिसले आत्महत्याका समाचार पढ्दा उसलाई पनि आत्महत्या गर्न उत्प्रेरित गर्छ,’ उनले भने, ‘यो च्यालेन्जिङ विषय हो। यसबारे राज्यका निकायले समाजसँग जोडिएर काम गर्नुपर्छ।’

मोरङ प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९।८० मा कर्तव्य ज्यान मुद्दाका घटना ११ वटा भएका छन्। यसैगरी चालू आर्थिक वर्षमा भने १२ वटा कर्तव्य ज्यान मुद्दाका घटना भएको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दाका घटना बढेको तथ्यांकले देखाएको छ।

प्रकाशित: ७ चैत २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =