अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री पुनलाई चेम्बरको सुझाव

हिमाल प्रेस ५ चैत २०८० १५:०९
20
SHARES
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री पुनलाई चेम्बरको सुझाव अर्थमन्त्री वर्षमान पुनलाई सुझाव पेस गर्दै नेपाल चेम्बर अफ कमर्सको टोली। तस्बिर सौजन्य : नेपाल चेम्बर्स अफ कमर्स

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनसमक्ष १७ बुँदे सुझाव पेस गरेको छ। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्धनलगायतका विषयमा चेम्बरले सोमबार अर्थमन्त्री पुनसमक्ष सुझाव पेस गरेको हो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट सुझाव पेस गरिएको चेम्बरले जनाएको छ। नेपालमा आयात हुने वस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन पनि चेम्बरले आग्रह गरेको छ। यस्तै नेपाली वस्तुको निर्यात प्रवर्धन गर्नका लागि भन्सार नाकामा उच्चस्तरीय क्वारेन्टिन ल्याब स्थापना गर्न पनि आग्रह गरिएको छ।

अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पुँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन। पुँजी चलायमान एवं आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ। उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्धन एवम् रोजगारी सिर्जना गर्ने बजेट अवको प्राथमिकतामा हुनुपर्छ।’

नेपालमा सूचना प्रविधिसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षण गर्न सकिए आईटीका युवाहरूले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने चेम्बरले उल्लेख गरेको छ। मुलुकमा आईटी पार्क निर्माणका लागि सहज रुपमा जग्गा उपलब्ध गराउन र परियोजना सञ्चालनका लागि कर छुटलगायत अन्य सुविधा उपलव्ध गराउन पनि चेम्बरले सुझाव दिएको छ।

मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी आमउपभोग्य वस्तु र बिलासिताका वस्तुहरूमा फरक दर कायम गर्न पनि आग्रह गरिएको छ। यस्तै घरजग्गा कारोबारमा जाने कर्जा प्रवाहमा धितो मूल्यांकनको ५० प्रतिशत प्रदान गर्ने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशत पुर्‍याउन पनि चेम्बरले सुझाव दिएको छ।

चेम्बर अध्यक्ष मल्लले अर्थमन्त्री पुनसमक्ष निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानीको सहज वातावरण बनाउनुपर्ने आग्रह गरे। अन्तर्राष्ट्रिय लगानीको पूर्वसन्ध्यामा आवश्यक कानुनसमेत संशोधन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताए। उनले भने, ‘अर्थतन्त्र शिथितलताबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर जान प्रधानमन्त्रीको पनि निर्देशन छ, सोहीअनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ।’

उनले सिंगो निजी क्षेत्रलाई आतंकित गर्ने गरी सरकारबाट कुनै पनि काम नहुने बताए। साथै मन्त्री पुनले आर्थिक अपराधलाई छुट्टै कानुन बनाएर सम्बोधन गर्ने तयारी भइरहेको बताए। अर्थतन्त्रलाई चलायमान बनाउन एवं पु“जीगत खर्च वृद्धिका लागि पनि योजना बनाइरहेको अर्थमन्त्री पुनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =