काठ तस्करी प्रकरणमा सामुदायिक वनका अध्यक्षले गरे आत्मसमर्पण

हिमाल प्रेस २३ फागुन २०८० २०:१६
8
SHARES
काठ तस्करी प्रकरणमा सामुदायिक वनका अध्यक्षले गरे आत्मसमर्पण

इटहरी- (इटहरी–धरान) सडखकण्डमा पर्ने चारकोसे झाडी अन्तर्गत पर्ने सामुदायिक वनबाट भएको काठ तस्करी प्रकरणमा सामुदायिक वनका अध्यक्षले आत्मसमर्पण गरेका छन् भने तीन जनाविरुद्व पक्राउ पूर्जी जारी भएको छ।

इटहरी उपमहानगरपालिका १९ तरहरास्थित ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङले मङ्गलवार साँझ वन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। तामाङले इलाका प्रहरी कार्यालय धरानमा आत्मसमर्पण गरेको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले जानकारी दिए। उनका अनुसार तामाङविरुद्ध वन ऐन २०७६ अनुसार मुद्दा चलाउन थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट तामाङलगायतको संलग्नतामा सामुदायिक र राष्ट्रिय वनबाट बहुमूल्य सखुवा तथा अन्य जातका काठ तस्करी भइरहेको खुलेको यादवले बताए।

वन कार्यालयले सामुदायिक वनसँग आबद्ध अन्य ३ जनाको हकमा पक्राउ पूर्जी जारी गरेको छ।

ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष तामाङ र वन हेरालु पेम्बा तामाङलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको सुनसरीका निमित्त डिभिजन वन अधिकृत यादवको भनाइ छ। उनका अनुसार अदालतबाट अनुमति लिएर गत सोमबार पक्राउ पूर्जी जारी गरिएको हो।

काठ तस्करीमा संलग्नता देखिएपछि सुरुमा वन कार्यालयले अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेतसहित ४ जनालाई सव डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो। पछिल्लोपटक भने वन कार्यालयले अदालतबाट अनुमति लिएर पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पूर्जी जारी गरिएकामध्ये तामाङले मात्रै आत्मसमर्पण गरेका हुन् भने बाँकी तीनजनाको खोजप् भइरहेको छ।

हाँसपोसा सामुदायिक वनदेखि सखुवा जातको १ सय ९३ दशमलव ४५ क्वीफिट तथा राष्ट्रिय वनदेखि सखुवाको २ सय ३८ दशमलव ८४ र कुम्भीको १ सय ६८ दशमलव ४५ क्वीफिट काठ तस्करी गरेर ब्रह्मपुरको ढोड घारी पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो। हाँसपोसा सामुदायिक वनको जंगल क्षेत्रमा जेसीबी र ट्याक्टरसहितको प्रयोगबाट काठ तस्करी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो पनि

तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी!

प्रकाशित: २३ फागुन २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =