नेपाली संस्कृतिको संरक्षणका लागि सिड्नीमा ‘मेगा प्रोजेक्ट’को सुरुवात

हिमाल प्रेस १६ फागुन २०८० २१:१५
16
SHARES
नेपाली संस्कृतिको संरक्षणका लागि सिड्नीमा ‘मेगा प्रोजेक्ट’को सुरुवात

काठमाडौँ- अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली भाषीहरूलाई एकसुत्रमा बाँध्न ‘मेगा प्रोजेक्ट’को सुरुवात भएको छ। नेपाली भाषीहरूको एकता, उनीहरूको आस्थाको सम्मान र नेपाली संस्कृतिको संरक्षणका लागि सिड्नीमा ‘बहुआयामिक, बहुसांस्कृतिक’ भवन निर्माणमा त्यहाँ कार्यरत नेपालीहरू जुटेका हुन्।

नेपाली समुदायकै स्वामित्वमा रहने गरी बहुउद्देश्यीय, बहुआयामिक र बहुसांस्कृतिक भवन बनाउने अभियानको सुरुवात गरिएको हो, जसका लागि केही दिन अघि मात्रै सो अभियान अघि बढाउन विष्णु हमालको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको छ।

हाल अस्ट्रेलियामा १ लाख ९० हजारको हाराहारीमा नेपाली बसोबास गर्छन्। जसमा सिड्नीमा मात्रै करिब ९० हजार जना नेपाली रहेको अभियानका तदर्थ समितिका सचिव शिव बञ्जाराले बताए।

अभियानअन्तर्गत पहिलो चरणमा दर्ता प्रक्रियामा गई समितिलाई वैधानिकता दिन अप्रिल २८ मा आम भेलाको आयोजना गरिएको छ। भेलाले तदर्थ समितिलाई पूर्णता प्रदान गर्ने, कानुनी प्रकृया अघि बढाउने, अभियानको कार्ययोजना पास गर्नेछ।

‘यो अभियान कुनै जात, धर्म, भाषा, भूगोल र लिंगसँग सम्बन्धित छैन, सबैलाई एउटै मालामा गाँस्दै विश्वभर नेपालीको संस्कृतिलाई चिनाउने र अष्ट्रेलियाका प्रवासी नेपालीहरूलाई जोड्ने सामुहिक प्रयास अनि अभियान पनि हो,’ सचिव बञ्जाराले भने।

उनका अनुसार अभियान अघि बढाउन ‘सटटर्म, मिडटर्म र लङटर्म’ गरी कार्ययोजनालाई तीन चरणमा विभाजन गरिएको छ। जसको पहिलो चरणमा २०२५ को डिसेम्बरसम्म भवनका लागि जग्गा खरिद गरिनेछ। बहुउदेश्यीय भवनका लागि सिड्नीमा कम्तीमा २५ देखि ३० रोपनी जग्गा खरिद गर्ने योजना समितिले बनाएको छ। जसका लागि ४५ करोड रुपैयाँ लागतको अनुमान गरिएको उनी बताउँछन्।

त्यसका लागि छिट्टै सिड्नीमा सप्ताहव्यापी महायज्ञ सञ्चालन गर्ने तयारी समितिको छ। सप्ताहसँगै समितिले विभिन्न संघसंस्था तथा इच्छुक व्यक्तिहरुसँग सहयोग रकम समेत संकलन गर्नेछ। त्यस्तै दोस्रो चरण अन्तरगत सन् २०२६ देखि २०२८ सम्ममा भवन निर्माणको काम सकिनेछ। जसमा १ अर्ब ३५ करोड रुपैया लाग्ने अनुमान गरिएको छ।

हाल अस्ट्रेलियामा गैरआवासीय नेपाली संघ अस्ट्रेलिया सहित १२० भन्दा बढी नेपाली संघसंस्थाहरु क्रियाशील छन्। उनीहरूको समेत साथ, सहयोग र सहकार्यमा अभियानलाई अघि बढाउने योजना समितिको छ।

त्यस्तै ‘लङटर्म प्लान’ अन्तर्गत सन् २०२९ देखि २०३७ सम्मलाई भवनमा आवश्यक पूर्वाधार र संरचना खडा गर्ने साथै भवनको दीर्घकालीन सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन गरिने बञ्जाराले बताए।

प्रकाशित: १६ फागुन २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =