काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विवादित मन्त्रीहरूका विषयमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख विपक्षी दलका सांसदहरूले विवादित मन्त्रीहरूको जवाफ माग गर्दै बैठक अवरोध गरेका थिए। जस कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
अवरोध पछि खुलेको बैठकमा सभामुख घिमिरेले विवादित मन्त्रीहरूका बारेमा संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।
‘माननीय सदस्यहरू बैठकमा यहाँहरूले नियमित उठाउँदै आउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। माननीय सदस्यहरूले उठाउनु भएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गदर्छु,’ सभामुखले भने।
प्रतिपक्षी दलहरूले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएका छन्।
ललितपुरको बालकुमारी घटनामा मन्त्री ज्वालाकै कारण भएको भनेर छानबिन ओयागले सिफारिस गरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।
पुस १३ गते कोरियाली भाषासँग सम्बन्धित विरोध प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुईजनाको ज्यान गएको थियो। घटनाका सम्बन्धमा छानबिन गर्न आयोगले घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार रहेकाले उनलाई पदबाट हटाउनुपर्ने प्रतिपक्षीको दबाब छ।
तत्कालीन सञ्चारमन्त्री एवम् बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अर्बौँको घोटाला हुने टेरामक्स काण्डमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बसिरहने अधिकार नरहेको उनीहरूले माग गरेका छन्। झन्डा हल्लाएर अख्तियारमा बयान दिएका मन्त्री बस्नेतलाई पदमा बस्ने अधिकार नरहेको प्रतिपक्षी नेताहरू बताउँछन्।
यसैगरी रामग्राम क्षेत्रको जग्गा ९९ वर्षसम्म लिजमा दिने विषयमा संसद्को लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिइसकेकाले किराती पनि पदमा बस्न योग्य नरहेको उनीहरूको भनाइ छ। मन्त्री किराती अध्यक्ष भएको बोर्ड बैठकले ९९ वर्षका लागि लिजका लागि दिने निर्णय गरेको थियो।
तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्मा प्रतिपक्षीको अवरोध