तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्‌मा प्रतिपक्षीको अवरोध

हिमाल प्रेस १४ फागुन २०८० ११:३७
18
SHARES
तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्‌मा प्रतिपक्षीको अवरोध प्रतिनिधिसभा बैठक शुक्रबार अवरोध गदै एमाले सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिपक्षी दलहरूले तीनजना मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठक उनीहरूले अवरुद्ध गरेका हुन्। प्रतिपक्षीले नाराबाजी गरेर बैठक चल्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।

नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटा र रास्वपाका सांसद रवि लामिछानेले विवादित तीन मन्त्रीहरू प्रकाश ज्वाला, सुदन किराती र मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन्।

‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ। उहाँ के गर्नुहुन्छ विवादित मन्त्रीहरूको विषयमा? कि उनीहरूले राजनीनामा दिनुपर्‍याे यो कि प्रधानमन्त्रीले बर्खास्त गर्ने आँट गर्नुपर्छ,’ बैठकमा आक्रामक देखिएका बास्कोटाले भने, ‘सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा? उहाँलाई प्रचलित भाषामा सुप्रिमो भन्छन्। कि असली घोडा कम्फरटेबल बनेको हो? नेपाली जनतालाई जवाफ चाहिन्छ। ती मन्त्रीहरूलाई हटाउनुपर्छ। ती काम हुनैपर्छ।’

सामान्तवादका अवशेषलाई पिठ्युँमा बोकेर समाजवादको हल्ला गरेर बस्ने सरकारलाई नभएको बताए। लामिछानेले पनि विवादित मन्त्रीले राजीनामा दिनुपर्ने वा उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरे।

प्रतिपक्षी दलहरूले  बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएका छन्।

ललितपुरको बालकुमारी घटनामा मन्त्री ज्वालाकै कारण भएको भनेर छानबिन ओयागले सिफारिस गरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

पुस १३ गते कोरियाली भाषासँग सम्बन्धित विरोध प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुईजनाको ज्यान गएको थियो। घटनाका सम्बन्धमा छानबिन गर्न आयोगले घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार रहेकाले उनलाई पदबाट हटाउनुपर्ने प्रतिपक्षीको दबाब छ।

तत्कालीन सञ्चारमन्त्री एवम् बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अर्बौँको घोटाला हुने टेरामक्स काण्डमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बसिरहने अधिकार नरहेको उनीहरूले माग गरेका छन्। झन्डा हल्लाएर अख्तियारमा बयान दिएका मन्त्री बस्नेतलाई पदमा बस्ने अधिकार नरहेको प्रतिपक्षी नेताहरू बताउँछन्।

यसैगरी रामग्राम क्षेत्रको जग्गा ९९ वर्षसम्म लिजमा दिने विषयमा संसद्को लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिइसकेकाले किराती पनि पदमा बस्न योग्य नरहेको उनीहरूको भनाइ छ। मन्त्री किराती अध्यक्ष भएको बोर्ड बैठकले ९९ वर्षका लागि लिजका लागि दिने निर्णय गरेको थियो।

तीन मन्त्रीका विषयले राजीनामा दिन वा बर्खास्त गर्नका लागि प्रतिपक्षीले दिएको तीनदिने अल्टिमेटम सोमबार सकिएको छ। प्रतिपक्षी दलले यसअघि ती मन्त्रीका बारेमा प्रधानमन्त्रीले संसद् बैठकमा आएर जानकारी दिनुपर्ने बताउँदै आए पनि सोमबार भने बर्खास्त गर्नुपर्ने अडान राखेका हुन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई बैठकमा आएर जानकारी गराउन रुलिङ गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबाफ दिएका छैनन्।

प्रकाशित: १४ फागुन २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =