सेतो कोटवाली

अन्जु न्यौपाने १२ फागुन २०८० १०:४९
390
SHARES
सेतो कोटवाली

अस्पताल नभई पनि नहुने र कहिल्यै जानु नपरोस् भन्ने पनि लाग्ने।

मलाई पनि फिटिक्कै जान मन हुँदैन। जानै नहुने भन्ने त होइन किनभने विशेषगरी बिरामीका लागि त मन्दिर नै हो अस्पताल। बिरामीको पीडा, आफन्तको तनावपूर्ण अनुहार, औषधिको गन्ध- सम्झँदै वाक्क लाग्छ। भनेजस्तो कहाँ हुन्छ र!

मेरी दिदी अस्पताल बस्नुपरेको आज तीन दिन पूरा भएको छ। मलाई भेट्न त मन छ दिदीलाई तर अस्पताल जानैको गाह्रोले अनेकौँ बहाना बनाएर मैले जान खोजिनँ।

आज भने बहानाले काम नगर्ने भयो। घरमा कोही पनि फुर्सदमा छैनन्। कोही कता कोही कता आआफ्ना काममा व्यस्त छन्।

म मन नलागीनलागी गएँ। बाटोदेखि नै अस्पतालको गन्ध र त्यहाँका कर्मचारीको व्यवहार सम्झेर रुचि लागेको थिएन।

अरुचिकै कारण नकारात्मक भाव आएकाले होला, गेटभित्र छिरेर मोटरसाइकल पार्किङ गर्ने समयमै त्यहाँको मानिससँग त्यत्तिकै झगडा पर्‍यो। म खाली ठाउँ देखेर पछि निकाल्न सजिलो हुने ठाउँमा पार्किङ गर्न लागिरहेको थिएँ, त्यो मान्छेले उता कुनातिर देखायो। मैले मानिनँ। यही विषयमा एकैछिन भनाभनजस्तो चल्यो। अन्तिममा मैले उसले भनेको मान्नैपर्‍यो।

यही रिसको झोकमै थिएँ र टाउको निहुर्‍याएर फटाफट तीन तलामाथि दिदी भएतिर पाइला लम्काउँदै थिएँ। भर्‍याङ चढ्नुपरेकाले मेरो मुटुको धड्कन फटाफट चलिरहेको थियो।

एक्कासि मैले कुनै चिजसँग ठोक्किएको अनुभव गरेँ। कसैसँग कुम ठोक्कियो भनेर अनुमान गरिसकेको पनि थिइनँ ‘हेरेर हिँड्नु न है’ भनेको सुनेँ।

वाह, कस्तो मिठो बोली! आवाजको लवज नै जादुमय! अघिसम्म तेजसँग धड्किरहेको मेरो धड्कन कतिखेर रोकिइसकेछ! मुटुभित्रै छिर्‍यो त्यो आवाज।

कोसँग ठोक्किएँ भनेर राम्रोसँग हेरिसकेकै थिइनँ, त्यही अवस्थामै मैले ‘सरी’ भनिहालेछु। सरी भनेर यसो हेर्दा त भित्तालाई पो भनेछु, त्यो आवाज निकाल्ने उनी त पर पुगिसकेकी रैछन्। झलक्क देखेँ मात्रै।

अस्पतालमा भीड निकै थियो। मेरी दिदीलाई २७ नम्बर बेडमा राखिएको थियो। हातबाट स्लाइन दिइएको थियो। खाना खान खासै मिलेको थिएन। क्यानोला लगाउने नसा सबै घोचिएका थिए।

दिदीको अवस्था देखेर अलिकति भावुक भएँ म। आमा बन्न कति पीडा सहनुपर्ने! जन्म र मृत्युसँग नै त लड्नुपर्छ सन्तान जन्माउन। आफ्नो सन्तानलाई काखमा च्यापेको समयमा आमाले आफूले भोगेका सबै पीडा बिर्सन्छन् र आनन्दको महसुस गर्छन्। पीडैपीडाको बीचमा पनि आनन्दको महसुस गरिरहेकी मेरी दिदी!

‘२७ नम्बर बेडको कुरुवा यता आउनू त।’ अलिकति परबाट बोलाएको सुनेँ।

घेराजस्तो ठाउँ रहेछ, जसमा ‘नर्सिङ स्टेसन’ लेखिएको थियो। म त्यही स्टेसनबाहिर पुगेर उभिएँ र भनेँ, ‘म नै हो २७ नम्बर बेडको कुरुवा।’

‘डक्टरले यो औषधि मगाउनुभएको छ, ल्याएर आउनुस् है। हजुरको बिरामीको ब्लडप्रेसर बढेको छ र भोलि बिहान एकचोटि रगत जाँच गराउनुपर्छ। यो पनि लिएर जानुस् है, रगतको जाँच गराउन बिल काटेर ल्याउनुस्।’ उनैको आवाज थियो, जससँग अस्पतालमा २७ नम्बर बेडको कोठामा छिर्दा मेरो कुम ठोक्किएको थियो।

ठूला आँखा र छोटो कपाल, सौन्दर्यमा कुनै कमी नभएकी, नम्र बोली भएकी, ओहो कति राम्री नर्स!

उनी पनि मतर्फ हेरेर मुसुक्क हाँसिन्। मलाई देखेर हाँसिन् वा आफ्नो कुनै कुराले, त्यो त थाहा छैन तर मतिर नै फर्केर हाँसिन्। अघि कुममा ठोक्किएपछि ‘हेरेर हिँड्नुस् न है’ भनेको थिएँ मैले भनेर पो सम्झिन् कि!

हाँस्दा पनि कति सुन्दर! हाँस्दा देखिएका सेता दाँतजस्तै सेतो लुगामा सजिएकी। सिँगारको नाममा हल्का लाली ओठमा लगाएकी। सपक्क परेको जिउ। यति सुन्दर युवती पनि हुने रहेछन् भनेर मैले सोचेँ।

‘ओहो, कति मिठो हाँसो’ भनेर कल्पना गर्दैगर्दै म काउन्टर पुगेँ। बिरामीको जाँचको बिल काटेर तुरुन्तै त्यहीँ पुगेँ। मेरा आँखाले अघिकै नर्सलाई खोजिराखेका थिए।

मैले स्टेसनमा आँखाले भ्याएजति हेरेँ तर उनलाई देखिनँ। बिरामीलाई हेरिरहेकी पो छिन् कि भनेर बिरामीतिर नजर पुर्‍याएँ। त्यहाँ पनि देखिनँ। ड्युटी सकिइसकेको पो थियो कि।

माघको चिसो भित्रैदेखि अनुभव भइरहेको थियो। कस्तो मुटु नै कपाउने चिसो! तीन तलामाथिको झ्यालबाट सरर चलेको हावाले त्यो चिसोलाई अझै चिसो बनाइरहेको थियो।

रातको आठ बजिसकेको थियो। बिरामीको चाप बढिरहेको थियो। ड्युटीमा दुईजना नर्स थिए। नर्सहरूलाई चिसो छ भनेर पनि थाहै छैन कि जस्तो लाग्दै थियो। उनीहरूलाई त्यसको याद गर्ने फुर्सद पनि थिएन सायद। उता र उताबाट ‘ऐय्या, ऐय्या’ भनिरहेका बिरामीलाई सकेसम्म भ्याउने कोसिस गरिरहेका थिए। कहिले यता दौडन्थे कहिले उता। मैले देख्न चाहेको नर्सलाई भने देखिरहेको थिइनँ।

कतैबाट एकजना अको नर्स आइन् र भनिन्, ‘ल, बिरामीका कुरुवाहरु सबै बाहिर जानुस् है। हामी सबै बिरामीलाई औषधि लगाउँछौँ।’ मैले फेरि दायाँबायाँ आँखा घुमाएँ। ‘त्यो नर्स खै’ भनेर सोध्न पनि मिलेन। फेरि मलाई उनको नाम पनि त थाहा थिएन।

ओहो, मलाई उनलाई हेर्न किन यस्तो हतार भइरहेको छ! उनको नाम जान्न म किन चाहन्छु! किन सोधखोज गरिरहेको छु मनमनै मैले उनलाई! एकाएक मैले उनलाई वर्षौँदेखि चिनिराखेको छु जस्तो अनुभव भयो।

बिरामीका एकजनाभन्दा बढी रहेका कुररुवा बाहिर निस्किए। एक जनाचाहिँ औषधि आवश्यक पर्दा लिन जानुपर्ने भएकाले त्यहीँ तयारी अवस्थामा बसे। म पनि त्यहीँ थिएँ र आँखा नर्सिङ स्टेसनतिरै लगाइराखेको थिएँ।

मेरा आँखा टक्क रोकिए जब उनी त्यही स्टेसनभित्रको कोठाबाट बाहिर निस्किन्। मेरा आँखाले त्राटक गरेजसरी उनैलाई हेरिरहे।

उनी स्टेसनबाट निस्केर सीधै मतिरै आइन्, मानौँ कि मलाई नै केही भन्न चाहन्छिन्। यो मेरो भ्रम थियो किनभने उनी मेरी दिदीलाई राखेको कोठामा रहेका बिरामीलाई आवश्यक हेरचाह गर्न आएकी थिइन्।

उनी बिरामीलाई पालैपालो औषधि लगाइदिई या खुवाइरहेकी थिइन्, म भने उनैलाई एकोहोरो हेरिरहेको थिएँ। यसरी कसैले एकोहोरो हेरिरहेको पक्कै थाहा हुन्छ, त्यही भएर त कताकता उनले पनि मलाई महसुस गरिरहेकी छन् भन्ने मलाई अनुभूति भइरहेको थियो। जबकि मैले सकेसम्म उनलाई छलेर हेरिरहेको थिएँ।

ती नर्स मलाई अलिक फरक लाग्यो। नरम लवजमा बोलिरहेकी थिइन् प्रत्येक बिरामीसँग। कस्तो राम्रो शिष्टाचार प्रस्तुत गरिरहेकी थिइन्। बिरामीका पीडामा आफू पनि त्यस्तै पीडित भएको जस्तो अनुहार लगाउँथिन्। हरेक बिरामीका अगाडि पुग्दा त्यही बिरामीकै लागि उपयुक्त भंगीमा व्यक्त गरिरहेकी थिइन्। मलाई उनको यस्तो व्यवहार साह्रै आकर्षक लागिरहेको थियो। यस्तो नर्स त कमैले देखेका होलान्। मेरो त नर्सलाई हेर्ने दृष्टिकोण नै फेरियो।

रात छिप्पिँदै जाँदा चिसो पनि बढिरहेको थियो। समयको रफ्तार आफ्नै हिसाबले चलिरहेको थियो। मलाई सबै वातावरण एकाएक मनमोहक भएको अनुभव भयो।

सेतो कोटभित्रको नीलो कुर्ता, जुत्ता लगाएकी, सानीसानी जिउडालकी कति आकर्षक! खासमा मेकअपले केटी मान्छेलाई राम्रो देखाउँछ भन्थे तर हैन रहेछ! यस्ती नर्सले त बिरामीलाई छुँदा मात्रै पनि बिरामीको आधाभन्दा बढी रोग निको हुन्छ होला। मलाई छोइन् भनेचाहिँ पक्कै निको हुन्छ। यो कुरा म अहिले नै अनुभव गर्न सक्थेँ।

मेरी दिदीको बेडतिर उनी जतिजति बढ्दै थिइन्, म उनलाई भित्रभित्रै स्वागत गरिरहेको थिएँ। दिदीको छेउमै आएर उभिँदा त मेरो मुटुको धड्कन नै बढ्यो। ढुकढुक ढुकढुक हुन थाल्यो। यस्तो किन हुन्छ?

‘हजुरले यो औषधि खानुस् ल।’ उनले दिदीलाई भनिन्। फेरि मतिर हेर्दै भनिन्, ‘यो औषधि बिरामीलाई खुवाइदिनुस् ल।’

कस्तो राम्रो! मेरै घरको कुनै सदस्यले आफ्नो अभिभावकलाई सेवा गरिरहे जस्तो। कस्तो ख्याल राखेकी! मलाई उनी मेरै घरको कुनै सदस्य हुन्, जोसँग म एकदमै नजिक छु भन्ने भान भयो।

मैले ‘हुन्छ’ भन्ने संकेत गरेर आफ्नो टाउको तल-माथि गरेँ। उनी अब अर्को बिरामीतिर लागिन् र बिरामीहरू जाँच्दैजाँच्दै स्टेसन पुगिन्। मेरा आँखाले उनलाई पछ्याइरहेकै थिए।

खासमा म केही समयका लागि मात्रै अस्पताल आएको थिएँ। रातभर बस्ने मेरो सोच थिएन। घरबाट कोही आउँदै थियो र म घर फर्कँदै। तर मलाई घर जान नै मन लागेन।

दिदी सुतिरहनुभएको थियो। म नजिकै बसेको थिएँ। उठेर अलि पर पुगेर मैले घरमा फोन गरेर भनेँ, ‘आज म नै दिदीलाई कुरेर बस्छु, कोही आउनुपर्दैन।’

घरका मानिसलाई पनि अचम्म लाग्यो होला अस्पतालमा रातभर कुर्ने सोच कसरी आएछ भनेर! मेरो अवस्था कसलाई के थाहा!

हँ, मैले अस्पतालमै बस्न किन रुचाएँ! दिदीको मायाले हो? दिदीलाई कुर्न या नर्सलाई?

मलाई यो अस्पतालबाट त के, वार्डबाट समेत निस्कनै मन लागिराखेको थिएन।

रातभरि नर्सहरूले आफ्नो काम गरिरहे। बिरामीहरू छट्पटाइरहे। केही बिरामी थपिए। बिरामी-कुरुवा ओहोरदोहोर गरिरहे। अस्पतालका कर्मचारीको चहलपहल चलिरह्यो। म मूर्तिजस्तै चुपचाप हेरेर बसिरहेको थिएँ त्यही नर्सको क्रियाकलाप। जतिजति हेर्दै गइरहेको थिएँ, साह्रै मन परिरहेको थियो उनको आउजाउ र हाउभाउ। प्यारो लागिराखेको थियो। उनको बोली कानमा गुन्जिराखेको थियो।

बिहानीपख उनको ड्युटी सकियो। मैले पूरै रात सजिलै कटाइदिएँ उनकै नाममा। कसरी बित्यो थाहै भएन। जागै रात बिताउने कुरा सम्झिँदा पनि गाह्रो लाग्थ्यो तर आज सजिलै बिताइदिएँ। सानो कुरा भयो यो त। अझै लामो रात भइदिए हुन्थ्यो नि भन्ने पो लागिरहेको थियो।

बिहानसम्ममा नर्सले पनि मलाई नै पो हेरिरहेकी छिन् र बोल्न चाहन्छिन् भन्ने अनुभव भइरहेको थियो। म त यही नै चाहन्थेँ।

उनी गइसकेपछि म पनि गएँ घर। बहिनी आई दिदीलाई कुर्न।

सम्झँदै वाक्क लाग्ने अस्पताल अब एकाएक रमणीय स्थान बनिसकेको थियो मेरा लागि। साँझ पुनः दिदीलाई कुर्न जान मन लाग्यो। कामले गर्दा दिउँसो सुत्न पाएको थिइनँ, तर पनि जान मन लाग्यो। सोही नर्सले तानिन् मलाई।

मैले ‘आज पनि म नै अस्पताल जान्छु’ भनेर बारम्बार भनिरहँदा परिवारका मानिस छक्क परे र सँगसँगै खुसी पनि बने।

सेतो वस्त्र पनि त्यति मन पर्दैनथ्यो मलाई तर त्यो सेतो कोट आकर्षित लाग्यो। हरेक चिजमा म सेतो देख्न लागेँ। सेतो कोटभित्रको मान्छे त औधी मन पर्‍यो। अस्पतालको हरेक चिजप्रति नै प्रेम जागेर आयो।

म बदलिएँ एकाएक। हिजोसम्म मैले देख्ने दृष्टिकोणमा आज बदलाव आयो। पार्किङ गर्ने बेलामा झगडा परेको त्यो मान्छे पनि मलाई आज मन पर्‍यो। अस्तालका बिरामी, कर्मचारी, नर्स जो देख्यो त्यही राम्रो लाग्यो।

कति बेला म अस्पताल पुगेँ, तीन तला माथि चढेँ र वार्डमा पुगेँ, थाहा छैन तर वार्डमा पुग्नेबित्तिकै मेरा आँखा तिनै नर्सलाई खोजिरहेका थिए। उनलाई नदेखेपछि पो म झसंग भएँ, आज उनको ड्युटी नहुन पनि त सक्छ।

उसको ड्युटी नहुन सक्छ भन्ने सोच आउनेबित्तिकै अस्पतालमा बस्नै झ्याउ लाग्यो। हिजोको समय हुन बाँकी नै थियो, त्यसैले आस पनि जाग्यो।

यो कस्तो अचम्म! नचिनेको मान्छेका लागि म वर्षौँदेखि चिनेको जस्तो महसुस गरिरहेको छु! दोहोर्‍याएर उसैलाई भेट्न आएको छु। यो के हो, प्रेम या आकर्षण! मलाई थाहा छैन के हो तर एक प्रकारको हलचल चाहिँ मनमा भएको थियो।

उनको ड्युटी होला कि नहोला भन्ने छटपटाहट र ड्युटी रहेन भने के गर्ने होला भन्ने सोचको आत्तेसपनका साथ मैले केही समय बिताएँ। उनीबिनाको समय बिताउन गाह्रो भयो।

फेरि साँझ पर्न थाल्यो र उनी आइन्। उनको आज पनि नाइट ड्युटी रहेछ। मेरो मनमा एकाएक फूलको वरिपरि पुतली उड्दाको दृश्य हेर्दा जसरी रमाइलो अनुभव भयो। सफलता पाएको अनुभव भयो। बच्चा बेलामा चाडपर्व आएको जस्तो खुसीयाली अनुभव भयो। कुनै ठूलो चिज पाइराखेको जस्तो लाग्यो।

अब म एक हिसाबले असमन्जस स्थितिमा थिएँ किनभने मलाई उनका हरेक चिज मन परिरहेका थिए। उनको बोली, अनुहार, हिँडाइ, सबै। उनले लगाएको सेतो कोटको त झनै कुरै नगरौँ। तुरुन्तै सम्बोधन गर्न मन थियो, ‘ओ, सेतो कोटवाली!’

उनलाई सम्बोधन गर्नुपर्‍यो भने ‘सिस्टर’ भन्ने होला कि ‘नर्स’? कुन शब्द राम्रो होला?

अहँ, मलाई यी दुवै शब्द मन परेन। ‘सेतो कोटवाली’ नै ठिक छ।

बेलाबेलामा उनी त्यही कोठामा छिर्थिन्। थाहा छैन किन, अलिक धेरैपटक नै छिरिरहेकी थिइन् आज। घरी के घरी के बहाना गरेर आइरहेकी थिइन्। म उनलाई निगरानी गरिरहेको थिएँ आफ्नै हिसाबले। उनले गरेका हरेक क्रियाकलाप बसेर आफूले अनुभव गरिरहेको थिएँ। र, त्यो अनुभव यति गहिरो हुँदै गइरहेको थियो कि उनले बिरामीका हातका नसा समात्दा मेरा हात काँप्न थालेका थिए।

धेरै बेरसम्म एकोहोरो हेर्दाखेरि उनले पक्कै पनि मप्रति पनि केही न केही त सोचिहोलिन्। बेलाबेलामा उनका कर्के आँखा मतिर सोझिएका र उनले मन्द मुस्कुराएको त मैले पनि देखेको थिएँ। बेलाबेलामा उनी स्टेसनबाटै मतिर पुलुक्क हेर्थिन् र एक हिसाबले ग्रिन सिग्नल दिइराखेकी थिइन्। दिदीलाई पनि अलि बढी नै ध्यान दिइरहेकी थिइन्।
उनी दिदीको नजिक आउँदा ‘ए, सेतो कोटवाली’ भन्न मन थियो। हिम्मतचाहिँ थिएन।

यही क्रममा बिस्तारैबिस्तारै उनी दिदीको नजिकै आइन् र औषधि दिन थालिन्। एउटा ठूलो भायल थियो, जुन उनले फुटाउन सकिनन्।
मेरो लागि त उनको त्यो असफलता अवसर नै बन्यो किनभने उनले मिठो बोलीमा सोधिन्, ‘यो सक्नुहुन्छ फुटाउन?’

‘हुन्छ, म फुटाल्छु नि!’ मैले एकैपटकमा भनेँ।

उनले मलाई भायल दिइन् र मैले फुटालेँ।

‘सबै औषधिहरू लोड गर्नुहुन्छ? केट्रोल पनि लोड गर्नुहुन्छ?’ मेरो निम्ति बोल्ने मौका थियो, जुन म उम्काउन चाहन्नथेँ।

‘ओहो, तपाईंलाई औषधिका नाम पनि थाहा छ ?’ उनले सोधिन्।

‘हजुर, मैले पनि पहिला फार्मेसी नै पढेको।’

सुनेर उनी मुसुक्क हाँसिन्।

‘त्यसो भए त तपाईँलाई सबै थाहा रैछ नि। राति दुख्यो भनेपछि लगाइदिनुस् ल?’

‘हुन्छ, तर मैले लगाइदिएँ भनेपछि हजुरको चाहिँ के काम नि?’

‘त्यस्तो भन्न खोजेको होइन। हजुरलाई थाहा रैछ भनेर मात्रै भनेको।’ उनको बोली अझै नरम सुनियो।

वर्षौँसम्म एकोहोरो सुनिराखौँ जस्तो बोली।

‘ठिक छ, म लगाइदिइहाल्छु नि। त्यस्तो गाह्रो मान्नुपर्दैन। गाह्रो भयो भने म पनि छु यहीँ।’

उनी गइन्। बिरामीको चाप बढिरहेको थियो। हिजोको रात पनि पूरै जागेकी उनी आजको रात पनि पूरै रातभर एकोहोरो खटिइरहेकी थिइन्। नर्सलाई हेर्ने मेरो धारणा पूरै फेरिइसकेको थियो। अलिकति आफूले जानेको सहयोग गर्न पाउनु मेरा लागि ठूलो सेवा पनि थियो। आफ्नो जिउज्यानको परवाह नगरेर, दिनरात नभनेर बिरामीको सेवामा खटिने नर्स साँच्चिकै महान् नै हुन्। डाक्टर त एकछिन आउँछन्, राउन्ड लिन्छन् र जान्छन्। बिरामीले डाक्टरलाई भगवान्जसरी हेर्छन्, सोच्छन्। खासमा भगवान् त नर्स हुन्। उनीहरूको व्यवहार, सेवाभावले म निकै प्रभावित भइरहेको थिएँ। रातभर मैले निकै गहिरोसँग नर्सहरुको काम हेरेँ।

रात बित्यो। बिहानको पाँच बज्यो। उनी फेरि बिरामीको ब्लड प्रेसर चेक गर्दैगर्दै आइपुगिन् मेरी दिदीको अगाडि। हामी अहिलेसम्म अलिक नजिक पनि भइसकेका थियौँ, विशेष गरी रातिको कुराकानीपछि। मैले पनि औषधिका बारेमा जान्दछु भनेर हो या एकोहोरो हेरेको ख्याल गरेर हो, उनले पनि मसामु उभिँदा सहज महसुस गरेको मैले अनुमान गरेँ।

उनी दिदीको ब्लडप्रेसर हेर्दै थिइन्, मैले सोधेँ, ‘तातोपानी छ?’

‘छ नि, ल्याइदिऊँ?’ उनले भनिन्।

‘हुन्छ, ल्याइदिनुस् न। दिदीका लागि औषधि खिलाउनुपर्ने।’

ओके भनेर उनी गइन्। एकैछिनमा आइन्। तातोपानीसँगसँगै कालो चिया पनि लिएर आइछन्।

ओहो, कस्तो बुझेको मान्छे! कालो चिया ल्याउन मलाई तीनतला तल जानुपर्थ्यो तर उनले त्यो बुझेर ल्याइदिइन्।

अब त मलाई उनी झनै आफ्नै मान्छेजस्तो लाग्यो। उनलाई त म एक रात, दुई रात मात्रै नभई कैयौँ रात अनिँदै रहेर पनि हेरिरहन सक्छु भन्ने अनुभव भयो। मलाई उनलाई सम्बोधन गरेर बोलाउन मन लाग्यो। ‘नर्स’ भनूँ कि ‘सिस्टर’?

अहँ, यी दुवै नाम भन्न मन लागेन।

सायद म एउटा बेग्लै नाम दिन चाहन्थेँ। मेरा लागि अमूल्य, सुन्दर र महत्त्वपूर्ण नाम।

किन बोलाउँदैछु भनेर मलाई थाहा भएन, तर मैले भनिदिएँ, ‘ओ, सेतो कोटवाली!’…………

प्रकाशित: १२ फागुन २०८० १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =