कांग्रेस महासमिति बैठक भोलिदेखि, भ्रातृ संस्थाका अध्यक्ष पनि सहभागी हुन पाउने

हिमाल प्रेस ६ फागुन २०८० १६:२८
6
SHARES
कांग्रेस महासमिति बैठक भोलिदेखि, भ्रातृ संस्थाका अध्यक्ष पनि सहभागी हुन पाउने

काठमाडौँ- नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ। कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए। प्रजातन्त्र दिवसको अवसर पारेर भोलिबाट कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ। फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको विश्वकर्माले बताए।

आइतबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने उनले बताए। उनका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन्।

‘ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेश, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ। चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’ विश्वकर्माले भने।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ।

महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७८० महासमिति सदस्यहरू जना सहभागी हुने छन्। यस्तै नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी गराइएको विश्वकर्माले बताए।

प्रकाशित: ६ फागुन २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =