एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

हिमाल प्रेस २८ माघ २०८० १०:२५
12
SHARES
एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर महिला क्रिकेट कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज बिहान मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भुटानमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली महिला टिमले अपराजित यात्रा कायमै राखेको हो।

भुटानले दिएको ६६ रनको लक्ष्यलाई नेपालले ११ दशमलव ३ ओभरमा भेट्टाएको हो। टस हारेर सुरुवाती बलिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनको सामान्य लक्ष्यलाई नेपालले २ विकेट गुमाएर जित निकालेको थियो।

नेपालका लागि सीता राना मगरले ३२ र रुविना क्षेत्रीले १७ रन बनाए। अर्की ब्याटर ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए। भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको भुटानका लागि नगावाङ चोडेनले २५, कप्तान डेचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए। नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर, इन्दू बर्मा र कविता जोशीले समान एक-एक विकेट लिए। नेपालले शनिबार हङकङलाई ७ विकेटले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सको सामना गर्नेछ।

नेपाल रहेको समूह ‘डी’मा हङकङ, माल्दिभ्स र भुटान छन्। नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

एसियाली क्रिकेट काउन्सील (एसीसी)ले वुमन्स प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने वुमन्स टी-२० एसिया कपमा सहभागिता जनाउन पाउनेछ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने वुमन्स प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ।

प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन्। समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन्। समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन्।

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिनेछ। सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ।

प्रकाशित: २८ माघ २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =