चाइना जर्नल

चिनियाँ वसन्त चाड र ड्रयागन वर्षको उल्लास

अजय अलौकिक २६ माघ २०८० १९:४२
46
SHARES
चिनियाँ वसन्त चाड र ड्रयागन वर्षको उल्लास

यतिखेर विश्वभरका चिनियाँहरू वसन्त चाड मनाइरहेका छन्। चिनियाँहरूले आफ्नो नयाँ सालको स्वागत गर्दै वसन्त चाड मनाउने गर्दछन्। यही फेब्रअरी १० तारिखबाट चिनियाँहरूको परम्परागत नयाँ वर्ष आरम्भ भएको हो। र यसपटकको नयाँ वर्ष ड्रयागन वर्ष रहेको छ।

ड्रयागन वर्षको आगमनसँगै चीनभरि र चिनियाँ समुदाय भएका ठाउँहरू पूर्ण रूपमा राताम्मे र ड्रयागनका चित्र तथा आकृतिहरूले भरेका हुन्छन्। हरेक वर्ष वसन्त चाडको आगमनसँगै यस्तो प्रचलन रहँदैआएको छ। यद्यपि, चिनियाँ समाज र चिनियाँ संस्कृतिमा ड्रयागन सर्वव्याप्त छ।

ड्रयागनलाई चीनमा जताततै देख्न पाइन्छ र सुन्न पाइन्छ, किंवदन्ती र कथाहरूमा, मन्दिर तथा भवनहरूमा, चित्रकला र नृत्यकलामा, उखान र टुक्काहरूमा अनि राशि र चाडपर्वहरूमा। त्यसै गरी ड्रयागन आकृतिका कलाकृति र सरसामानहरू हजारौँ वर्षदेखि निरन्तर प्रयोगमा रहेका छन्। उहिलेका दरबार र सम्राटका शवस्थलदेखि आजको दिनमा आमसाधारणको घरमा चलनचल्तीमा छन्।

ड्रयागन चिनियाँ समाजमा एउटा शक्तिशाली तथा परोपकारी प्रतीकको रूपमा लिइन्छ। चिनियाँ संस्कृतिमा ड्रयागनले सौभाग्य, शक्ति, सुस्वास्थ्य र पुरुष तत्व याङको प्रतिनिधित्व गर्दछ। त्यसबाहेक, चिनियाँ राशिका सबै बाह्र जनावरहरूमा ड्रयागन अद्वितीय छ किनभने यो मात्र एउटा पौराणिक प्राणी हो, काल्पनिक जनावर हो, एउटा मिथक हो। चिनियाँ राशिका यही ड्रयागनबाहेक बाँकी ११ जनावर आज पनि यस धर्तीमा छन्।

यसै गरी चिनियाँ किंवदन्ती र कथाहरूमा ड्रयागन राजाको महिमा र गुणगान पनि प्रशस्तै पाइन्छ, जसलाई चिनियाँहरू शक्तिशाली देवताको रूपमा मान्दछन्। जल र जलाधारका सबै निकायहरूमा उनको अधिकार रहेको विश्वास गरिन्छ साथै आकाशको छेडनदेखि समुद्रको गहिराइसम्म पुग्ने क्षमतावानको रूपमा पनि पूजिन्छ। ड्रयागन राजासरह ड्रयागनहरूमा पनि यस्तै क्षमता भएको विश्वास चिनियाँहरू गर्दछन्। पश्चिमामा विशेषतः बेलायती कथामा पाइने ड्रयागनभन्दा नितान्त फरक रहेको विश्वास गर्दछन्।

पश्चिममा ड्रयागन प्रायःपखेटा भएको र आगो ओकल्ने राक्षसको रूपमा चित्रण गरिन्छ भने चिनियाँ ड्रयागनलाई शक्ति र उदारताको प्रतीकको रूपमा मानिन्छ। यसबाहेक, चिनियाँ पौराणिक कथामा नौ प्रकारका ड्रयागनहरू रहेका छन् र यी सबै ड्रयागनका छोराको रूपमा उल्लेख गरिएको छ र यी सबैको व्यक्तित्व फरक फरक पनि छन्।

समग्रमा, ड्रयागन व्यक्ति उदार, बलियो, आत्म-विश्वासिलो, विलक्षण, उत्सुक, जोसिलो, भावुक, तीक्ष्ण नेतृत्व शक्ति, अग्रगामी, महत्वाकांक्षी, इमानदार, आदर्शवादी हुन्छन्। यसबाहेक, घमण्डी, कट्टर, आवेगी, आक्रोशी र अति सहनशील पनि हुन सक्छन्।

चीनमा मान्यता छ कि ड्रयागन वर्षमा अन्य वर्षहरूमा भन्दा धेरै बच्चाहरू जन्मिन्छन्। यदि यस्तो हो भने, पछिल्लो समय, घट्दो जन्म दरको अवस्थाबाट गुज्रिरहेको चीनलाई यो ड्रयागन वर्षले भरथेग गर्ने हो कि?

सन् १९२८, १९४०, १९५२, १९६४, १९७६, १९८८, २०००, २०१२ र यो साल २०२४ मा जन्मिने ड्रयागन राशिका हुन्। चिनियाँ राशि चिन्हहरूमा ड्रयागन पाँचौँ क्रममा आउँछ। ड्रयागन वर्षमा जन्मेका व्यक्तिहरू आत्मविश्वासी, शक्तिशाली, दृढ र उच्च सम्मानको व्यक्तित्व भएको विश्वास गरिन्छ।

चिनियाँ समाज र संस्कृतिमा ड्रयागनको प्रभाव र ड्रयागनको विशेषता सम्बन्धमा केही चर्चापछि विश्वभर चिनियाँ वसन्त चाड कसरी फेशन बन्नपुगेको छ, त्यो जानौँ।

सन् २०२४ चीनको परम्परागत वसन्त चाडलाई विश्वको चाडको रूपमा समावेश गरिएपछिको पहिलो वर्ष हो। गत साल डिसेम्बर २२ तारिख संयुक्त राष्ट्रसंघको ७८औँ महासभाले सर्वसम्मतिका साथ चिनियाँ वसन्त चाडलाई संयुक्त राष्ट्रसंघको बिदाको रूपमा निश्चित गरेको थियो। यस कदमलाई संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसंघ सचिवालयका कर्मचारीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। सो अवसरमा, संयुक्त राष्ट्र संघका लागि चीनको स्थायी नियोगका कार्यवाहक राजदूत ताइ पिङले चिनियाँ वसन्त चाडले चीनको परम्परागत चाडको रूपमा शान्ति, सद्भाव र स्थिरता जस्ता चिनियाँ सभ्यताको अवधारणाको प्रतिनिधित्व गरेको जानकारी दिएका थिए।

उनले भने, ‘यो चाडको संस्कृतिले पारिवारिक सद्भाव, सामाजिक सहिष्णुता र मानिस तथा प्रकृतिबीचको सामाञ्जस्यपूर्ण सहअस्तित्व जस्ता सम्पूर्ण मानवजातिका मूल्यहरू दर्शाउँछ। धेरै देश र क्षेत्रहरूले वसन्त चाडलाई वैधानिक बिदाको रूपमा अपनाएका छन् र विश्वको जनसंख्याको पाँच भागको एक भागले विभिन्न तरिकामार्फत वसन्त चाड मनाउँछन्।’

राष्ट्रसंघीय दिवस बनेपछि वसन्त चाड अब अझै विस्तार भएको छ। चीनभित्र र चिनियाँ सुमदायमा मात्रै नरहेर विश्वकै एक उत्सव बन्नपुगेको छ।

फेब्रुअरी ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले विश्वमा धेरैभन्दा धेरै मानिसले वसन्त चाड मनाउनु नै क्रमशः फेशन बनेको पत्रकार सम्मेलनमा बताए। वसन्त चाड आफन्तहरूको भेलाको ‘चीन सन्दर्भ’ रहेको पनि औँल्याए। उनले विश्वमा साझा रूपमा मनाउने अन्तर्राष्ट्रिय दिवस पनि भएको उल्लेख गरे।

प्रवक्ता वाङले चिनियाँ नव वर्षलाई संयुक्त राष्ट्रसंघीय सभाबाट संयुक्त राष्ट्रसंघ दिवसका रूपमा राखिएको पहिलोपटक भएको भन्दै संयुक्त राष्ट्रसंघीय खाद्यान्न तथा कृषि संगठन, संयुक्त राष्ट्रसंघको मुख्यालय लगायतले हालैमात्र पहिलो पटक चिनियाँ पात्रोको नव वर्ष औपचारिक रूपमा मनाएको बताए। हाल विश्वका लगभग २० वटा मुलुकमा वसन्त चाडलाई वैधानिक बिदाका रूपमा राखिएको र विश्वका लगभग २० प्रतिशत मानिसले विभिन्न तरिकामार्फत वसन्त चाड मनाउँदै आएको उनको भनाइ छ।

एक अपूर्ण तथ्यांकका अनुसार करिब २० देशले वसन्त चाडलाई वैधानिक बिदा दिने गरेका छन्। वसन्त चाड सम्बन्धी गतिविधिहरू विश्वका झण्डै २०० देश र क्षेत्रहरूमा फैलिएका छन् भने संसारभरका मानिसहरूले रमाइलो अनुभवका साथ मनाउँदै आएका छन्।

यसै क्रममा नेपाली भूभाग तथा विश्वका धेरै भूभागमा पनि अघिपछि वसन्तको आगमनको हर्षोल्लासपूर्वक स्वागत गर्दै आएका छन्। यसै अवधिमा कतिपय नेपालीले ल्होसार, ल्होछार, येलेदोङ, माघी, माघे सङ्क्रान्ति तथा घ्यचाकु सँल्हु आदि वसन्त पर्व र नयाँ वर्षका रुपमा मनाउँदै आएका छन्। चिनियाँ वसन्त चाडसँगै तामाङ जातिले ल्होसारको रूपमा गरूड वर्षको स्वागत गर्दैछन्।

यसै समयमा किसानले बाली भित्र्याउँछन् जुन किसानका लागि खुसी र सुखद पल हो। नवपाषाण युगमा जब धर्तीपुत्रले अन्न उब्जाएर क्रान्ति ल्याए सायद त्यसै बेलादेखि नै राम्रो बाली भित्र्याएपछि र रमाइलो मान्न थाले र यसैलाई विश्वका आदिवासीले नयाँ वर्षको रुपमा मनाउन सुरु गरियो, जुन आज एक परम्परा बनिसकेको छ।

यसै वसन्तको आरम्भलाई चिनियाँहरूले पनि परम्परागत नयाँ वर्षको रूपमा मनाउने गरेका छन्। हजारौँ वर्षको इतिहास बोकेको चिनियाँको वसन्त चाड पनि त्यति कै महत्त्वपूर्ण छ। यही फेब्रअरी १० तारिख चिनियाँहरू ड्रयागन वसन्त चाड मनाउँदैछन्।

यही अपेक्षा अनुरूप नेपालले पनि चिनियाँ ड्रयागन वर्ष मनाउन अग्रता लिएको छ। जनवरी १४ तारिख नेपालस्थित चिनियाँ दूतावासले सन् २०२४ वसन्त महोत्सव गाला एवम् सम्बद्ध श्रृंखला कार्यक्रमको उद्घाटन समारोहको आयोजना गरेको थियो। नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलगायत नेपालका राजनीतिज्ञहरू, राजनीतिक दलका नेतागण, विभिन्न वर्ग र क्षेत्रका मित्रहरू, नेपालकालागि विदेशी राजदूतहरू, नेपालमा रहेका प्रवासी चिनियाँहरूले वसन्त महोत्सव मनाएका थिए। र यो महोत्सव जारी छ। फेब्रअरीको १८ तारिखसम्म विविध मनोरञ्जनात्मक कार्यक्रम र गतिविधिको साथमा नेपालका विभिन्न स्थानहरूमा वसन्त चाड मनाइँदैछ।

कोभिड-१९ को कहरमा परेका चिनियाँहरू चार वर्षपछि खुलेर यस पटक धूमधामका साथ वसन्त चाड मनाउँदैछन्। त्यही कारण, यस पटक वसन्त परिवहन तथा पर्यटन र उपभोग्य वस्तुको व्यापारमा नयाँ रेकर्ड सिर्जना हुने अपेक्षा गरिएको छ। जसले चिनियाँ अर्थतन्त्रलाई नयाँ उत्प्रेरक शक्ति प्रदान गर्ने छ र यसले विश्वलाई समेत आशावादी बनाउने विश्वास गर्न सकिन्छ।

यस परम्परागत नयाँ वर्षको लामो बिदा तथा पारिवारिक मिलनको चाड भएकाले सहरबाट घर फर्किनेहरू र बिदा मनाएर काममा फर्किनेहरूको आवतजावत निकै नै बाक्लो हुने गर्दछ। नव वर्षअघि र पछि गरी (जनवरी २६ देखि मार्च ५ सम्म) ४० दिनको आवतजावतलाई छुनयुन भनिन्छ जसको अर्थ वसन्तको यातायात गतिविधि हो। यस समयमा सडक, रेल, जल र हवाईमार्गको माध्यमबाट हुने मानव आवतजावत विश्वकै सबैभन्दा ठूलो यातायात गतिविधि पनि हो।

यस वर्ष यो छुनयुनमा ९ अर्ब चिनियाँहरुले आवतजावत गर्दैछन्। छुन युनको पहिलो सातामा नै १ अर्ब ३५ करोडले यात्रा गरेको तथ्यांकले देखाउँछ। चीनको यातायात र ढुवानी मन्त्रालयको अनुमान अनुसार, चालु वर्षको छुनयुन अवधिमा चीनभित्र यात्रा गर्ने पर्यटकको सङ्ख्या ९ अर्ब पुग्ने छ। जुन सन् २०२३ को तुलनामा दोब्बर हो।

यसै गरी, सन् २०२३ मा चीनको आर्थिक वृद्धिलाई सुदृढ पार्न उपभोगले अपरिहार्य भूमिका खेलेको छ। विज्ञहरूले उल्लेख गरे अनुसार यो २०२४ मा अझै विस्तार हुने छ र चिनियाँ नयाँ वर्षको बिदा आर्थिक वृद्धि ड्राइभिङको एक आवश्यक इन्जिन हुनेछ।

त्यस बाहेक, चाडको लामो बिदामा चिनियाँ पर्यटकहरू देशविदेश भ्रमणमा जाने पनि एउटा परम्परा बनिसकेको छ। यो विश्व अर्थतन्त्रको गतिलो स्रोत पनि हो। यसपटक जसरी नेपालले चिनियाँ वसन्त चाडलाई एक महिने गतिविधिको आयोजना गर्दै मनाएको छ। यसले आगामी दिनमा हिमाल वारिपारिका जनतालाई नजिक्याउनेबाहेक पर्यटन क्षेत्रमा पनि अझै विस्तारको आशा गर्ने ठाउँ दिएको छ।

अवश्य, मानव सभ्यताको आधुनिक अध्याय लेख्दै जाने र नयाँ वसन्तलाई एकसाथ स्वागत गर्दै जाने आशा र विश्वास गर्न सकिन्छ। जैविक शक्ति, बुद्धि, सुरक्षा र सौभाग्यको प्रतीक मानिने तथा सबै मतभेदहरूलाई पन्छाएर साझा आधार खोज्ने, स्वर्ग र पृथ्वीबीच सहजीवनको भावनाको प्रतिनिधित्व गर्ने ड्रयागनसँग वर्तमान विश्वव्यापी चुनौतीको सामना गर्ने आवश्यक विशेषताहरू समेत रहेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनिओ गुटेर्रेसले चालु वर्ष चिनियाँ पात्रोबमोजिम नयाँ वर्ष पहिलोपटक संयुक्त राष्ट्र संघको पर्व क्यालेन्डरमा समेटिएको उल्लेख गर्दै शुभकामना दिने क्रममा मानवजातिले वर्तमान विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक विशेषता ड्रयागन वर्षमा रहेको औँल्याएका हुन्।

ड्रयागन चिनियाँ सभ्यताको एक पौराणिक प्रतीक हो र वसन्त चाड चिनियाँ संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण परम्परागत चाड हो। अब वसन्त चाड चीनको मात्र नभइ विश्वको पनि चाड बनेको छ ।विश्वका विभिन्न मुलुकले ‘चाइना रेड’ बत्ती सझाएर रमाइलो वातावरण र विविध चिनियाँ संस्कृतिको अनुभवसँगै वसन्त चाड मनाइरहेका छन्। छुनचे ख्वाइल। वसन्त चाडको शुभकामना। लोङ न्येन ताची। ड्रयागन वर्षको अवसरमा समृद्धिको कामना।

प्रकाशित: २६ माघ २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =