विश्‍वमै धेरै मानिस ओहोरदोहोर हुने चिनियाँ पर्वको उल्लास

अजय अलौकिक ३० पुष २०७९ ११:००
विश्‍वमै धेरै मानिस ओहोरदोहोर हुने चिनियाँ पर्वको उल्लास

चीन अहिले आफ्नो परम्परागत चाड मनाउने तरखरमा छ। चिनियाँहरू त्यसको तयारीमा जुटेका छन्। यसलाई वसन्त चाड भनिन्छ। यो चिनियाँहरूको नयाँ वर्ष पनि हो। चिनियाँ चन्द्रपात्रोअनुसार यो खरायो वर्ष हो। नयाँ वर्षको पहिलो दिन यही जनवरी २२ तारिख परेको छ।

यस नयाँ वर्ष अथवा वसन्त चाड पारिवारिक मिलनको पर्व हो। नेपालीका लागि दसैँ भएझैँ यो पर्वले चिनियाँहरूका निम्ति त्यस्तै महत्त्व राख्छ। यस्ता हरेक चाडपर्वले परिवारलाई नजिक ल्याउने गर्छन्। विदेश या सहरमा रोजगारी अथवा शिक्षाका लागि घरबाहिर गएका सबैलाई यस्तै चाडपर्वले जोड्ने गर्छन्। परिवारसँग पुनःमिलन गराउँछन्।

तर जीवन मान्छेले सोच र भनेजति सरल र सहज हुँदैन। वर्षदिनमा आउने चाडका लागि अघिदेखि नै तयारी गरे तापनि केही कारणवश पारिवारिक पुनःमिलन नहुन पनि सक्छ। त्यो जीवनको एउटा पाटो रह्यो।

यसबाहेक पछिल्ला तीन वर्षमा आमचिनियाँले उनीहरूको सबैभन्दा महत्त्वपूर्ण चाड मन खोलेर मनाउन पाएका छैनन्। सन् २०२० को वसन्त चाडको पूर्वसन्ध्यामा देखिएको कोरोना भाइरसले त्यस वर्षको वसन्त चाडलाई खल्लो बनायो। चिनियाँहरू त्रासमा पर्व मनाउन बाध्य भए। कतिपय सहर र गाउँले त चाड मनाउन पनि पाएनन्। त्यसै गरी वसन्त चाड मनाउन जन्मथलो तथा देशविदेशको भ्रमणमा निक्लेका मानिसको पनि भ्रमण अधुरो रह्यो। लामो समयदेखि बनाएका योजना यसै रद्द भए।

त्यसपछिका दुई वसन्त चाड पनि चिनियाँले धक मानेर मनाए। जो जहाँ थिए, त्यहीँ बसेर मनाए। पारिवारिक भेटघाट तथा चाडपर्वको उल्लासलाई सानो परिधिभित्र सीमित गरे। कोभिड–१९ को महामारीको प्रतिकारका क्रममा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शून्य सहनशीलता नीति अपनाइयो। जसका कारण एक त आवतजावत सहज थिएन। त्यसमाथि संक्रमित हुने डर शतप्रतिशत थियो। पहिलो वर्ष महामारीको अन्त कसरी गर्ने? खोपको निर्माण हुन्छ/हुँदैन भन्ने तर्कविर्तकमै बित्यो।

महामारी नियन्त्रण र प्रतिरोध कार्य नयाँ चरणमा प्रवेश भएपछिको यो पहिलो वसन्त चाड हो। महामारी फैलिएको तीन वर्षपछि चीनको महामारी नियन्त्रण नीति खुकुलो भएको र अघिल्ला तीन वर्षमा चिनियाँहरूको यात्रा चाहना बढेकोले समेत यसपटक वसन्त चाडको यात्रामा यात्रु प्रवाह बढी हुनेछ।

हाल चीनमा ९० प्रतिशतभन्दा बढी जनसंख्याले आवश्यक मात्राको खोप लगाइसकेका छन्। भाइरसको मानिसमाथि पर्ने प्रभाव पनि क्षीण भएको अवस्था छ। चीनले शून्य सहनशीलताको नीतिगत डिसम्बरबाट खारेज गरेको छ। जसले गर्दा आमचिनियाँमा नयाँ उत्साह छाएको छ।

वसन्त चाड नजिकिँदै गर्दा पारिवारिक पुनःमिलनको आसले उनीहरू खुसी छन्। फेरि जन्मथलो टेक्न पाउने भनेर मक्ख छन्। कोहीकोहीमा भने विभिन्न देशदेशान्तर भ्रमण गर्ने चाहना एकपटक फेरि जुर्मुराउन थालेको छ।

चीन र चिनियाँको सबैभन्दा महत्त्वपूर्ण परम्परागत वसन्त चाडमा आफ्नो घरपरिवारसँग बसेर अथवा जन्मथलो फर्केर परिवारजनसँग भेटघाट गर्नु एउटा नियमित प्रचलन हो। यस क्रममा चीनमा वसन्त चाडको पारवहन भनिने छुनयुन पनि सुरु हुने गर्छ। छुन भन्नाले ‘वसन्त’ तथा युनको अर्थ ‘गतिविधि’ हो। यसको शाब्दिक अर्थ ‘वसन्तको यातायात गतिविधि’ हो।

यो छुनयुन अर्थात् चाडको अवसरमा हुने आवतजावत जनवरी ७ देखि सुरु भइसकेको छ। यो आवतजावतको अवधि ४० दिन लामो हुने गर्छ। यसपटक फेब्रअरी १५ सम्म चल्नेछ। यस आवतजावतलाई विशाल मानव स्थानान्तरण पनि भन्न सकिन्छ।

एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको देशमा चाडपर्वका अवसरमा आवतजावत र घुमघामका गतिविधि हुँदा
केही दिन र सातासम्मका लागि अवश्य पनि विशाल मानव स्थानान्तरण हुनु हो। झण्डै तीन अर्ब यात्रुको यात्राबाट पनि छुनयुनको चापको अनुमान लगाउन सकिन्छ।

अहिले छुनयुन सुरु भइसकेको छ। कतिपय चिनियाँमा आवतजावत गर्दा कतै संक्रमण हुने त होइन भन्ने डर अझै पनि बाँकी छ। तापनि आमचिनियाँ तीन वर्षपछिको यो अवसरलाई धुमधामका साथ मनाउने योजनामा छन्।

प्रारम्भिक अनुमानअनुसार वसन्त चाडको अवधिमा यात्रुको कुल आवतजावत मात्रा झण्डै २ अर्ब ९५ करोड पुग्नेछ। गत वर्षको सोही अवधिको तुलनामा ९९.५ प्रतिशतले वृद्धि हुने देखिएको छ। यो सन् २०१९ को सोही अवधिको तुलनामा ७०.३ प्रतिशत हुने अनुमान छ।

महामारी नियन्त्रण र प्रतिरोध कार्य नयाँ चरणमा प्रवेश भएपछिको यो पहिलो वसन्त चाड हो। महामारी फैलिएको तीन वर्षपछि चीनको महामारी नियन्त्रण नीति खुकुलो भएको र अघिल्ला तीन वर्षमा चिनियाँहरूको यात्रा चाहना बढेकोले समेत यसपटक वसन्त चाडको यात्रामा यात्रु प्रवाह बढी हुनेछ।

चीनको यातायात मन्त्रालयका एक अधिकारी स्यु छङक्वाङले भनेका छन्, ‘चीनको ४० दिने छुनयुन विश्वको सबैभन्दा ठूलो मानव स्थानान्तरण हो। यस वर्ष लगभग २ अर्ब ९५ करोड यात्रीले यात्रा गर्ने अनुमान छ। जुन सन् २०२२ को भन्दा ९९.५ प्रतिशतले बढी हो।’ उनका अनुसार हवाई, रेल र सडकमार्फत हुने यात्राको मात्रा सन् २०१९ को पूर्व महामारी स्तरको ७०.३ प्रतिशत पुग्नेछ।

चीनको नागरिक उड्डयन प्रशासन अधिकारीका अनुसार दैनिक व्यवस्था गरिएका यात्रुवाहक उडानहरूको संख्या ११ हजार पुगेको छ। यो हवाई यातायातको मात्रा सन् २०१९ को स्तरभन्दा ७३ प्रतिशतमा फर्कने अपेक्षा गरिएको छ।

त्यस्तै, चाइना रेलवेका अनुसार ९० लाख ४० हजार यात्रु क्षमताका ६ हजार ७७ वटा रेल बिदाअघिको पिक पिरियडमा सञ्चालन हुनेछन्। ९१ लाख ४० हजार यात्रु बोक्न ६ हजार १ सय ७ रेललाई बिदा अन्त्य अवधिको पिकका लागि व्यवस्था गरिएको छ। सन् २०१९ को तुलनामा ११ प्रतिशतले बढी हो।

त्यसबाहेक यातायात मन्त्रालयले छुनयुनअघि एक बैठक आयोजना गरेको थियो। जसको उद्देश्य देशभरका यातायात अधिकारी तथा कर्मचारीलाई वसन्त चाड यात्राको भीडमा पूर्ण रूपले तयार रहनका लागि मार्गदर्शन गर्नु थियो। सो बैठकमा यातायातमन्त्री ली स्याओफङले रसदको ग्यारेन्टी, विशेषगरी औषधि, कोइलालगायत महत्त्वपूर्ण सामग्रीको ढुवानी, सेवाको गुणस्तरलाई अझ सुदृढ पार्ने, सम्भावित जोखिमको रोकथाम र सुरक्षा संयन्त्र बढाउनेलगायत थिए।

छवटा प्रमुख कार्यको रूपरेखा त्यहाँ प्रस्तुत गरिएको थियो। साथै, कोरोना भाइरसको त्रास अझै पनि केही रहेको अवस्थामा यसको प्रतिकारसहित कार्ययोजना पनि बनाइएको छ।

पछिल्ला वर्षमा चीनमा छुनयुनको बेला सडकलाई भन्दा रेलमार्ग र अरू मार्गलाई महत्त्व दिएको देखिन्छ। कतै हिउँ त कतै हुस्सुलगायत विभिन्न कारणले दुर्घटना निम्त्याउनसक्ने जोखिम भएकाले यात्रा र परिवहनका विभिन्न विकल्पको तीव्र विकासले सडकमार्गबाट हुने यात्रामा अपेक्षाकृत केही कमी आएको छ।

यसरी चीनमा लाखौँ मानिसको विश्वकै सबैभन्दा ठूलो विशाल मानव स्थानान्तरणको यस यात्राको अवधिमा हरेक पटक ग्राहकलाई के कसरी सुविधा दिने भन्ने विषयमा पनि निकै ध्यान दिएको देखिन्छ।

चिनियाँको वसन्त चाडजस्तै आमनेपाली दसैँ मनाउन जन्मथलो फर्कन्छन्। तर नेपालमा दसैँ नजिकिँदै गर्दा घर जानका लागि देखिने तँछाडमछाड, बस र बसपार्कमा उपलब्ध सुविधा र बाटोको अवस्था निकै खेदलाग्दो हुन्छ।

यता चीनमा त्यति धेरै यात्रुलाई सुविधा प्रदान गर्न यातायात प्रणालीसम्बन्धी माग पनि निकै उच्च हुने नै भयो। हाल चीनको राजमार्गको कुल लम्बाइ ५० लाख किलोमिटर पुगेको छ। त्यसमध्ये द्रूत राजमार्गको लम्बाइ विश्वको शीर्ष स्थानमा छ। रेलमार्गको लम्बाइ १ लाख ५५ हजार किलोमिटर छ र उच्च गतिका रेलमार्गको लम्बाइ ४२ हजार किलोमिटर पुगेको छ।

यसरी ४० दिन लामो सर्वाधिक व्यस्त यातायात गतिविधिको अवधिमा पनि चिनियाँ यात्रुले झन्झट, झमेलारहित आरामपूर्वक, सुविधाका साथ रेलमार्ग, राजमार्ग, जलमार्ग, हवाईमार्गबाट ओहोरदोहोर गर्न सक्छन्।

पछिल्ला वर्षमा चीनमा छुनयुनको बेला सडकलाई भन्दा रेलमार्ग र अरू मार्गलाई महत्त्व दिएको देखिन्छ। कतै हिउँ त कतै हुस्सुलगायत विभिन्न कारणले दुर्घटना निम्त्याउनसक्ने जोखिम भएकाले यात्रा र परिवहनका विभिन्न विकल्पको तीव्र विकासले सडकमार्गबाट हुने यात्रामा अपेक्षाकृत केही कमी आएको छ।

राजमार्गको लामो, थकावट र जोखिमपूर्ण यात्राको तुलनामा रेलमार्ग उचित विकल्प पनि बनेको छ। उहिले दसौँ घण्टा लाग्ने ठाउँमा अहिले केही घण्टामा पुग्न सकिने भएको छ। साथै सडक दुर्घटनामा पनि कमी ल्याएको छ।

नेपालमा सधैँजसो सडक दुर्घटना भइरहे तापनि दसैँका बेला हुने यस्ता दुर्घटना अझै पीडादायी हुने गर्छन्। देशभरि गाडी गुड्ने सुविधाजनक सडकसमेत छैन। यस्तै आमनेपालीले किन्न नसक्ने हवाई टिकटको के अर्थ रह्यो? पछिल्लो समय विभिन्न रेल लिक र रेलको चर्चा नेताहरूका भाषणमा छुट्दैनन्।

कहिलेसम्म आमनेपाली जनताको यात्राको हालत यस्तै असुरक्षित, अभाव, कष्टपूर्ण र असुविधाजनक रहने हो? नेपालमा सुरक्षित तथा अरू द्रुत मार्गको विकास कहिले हुने हो?

नेपालको प्रसंग आउँदै गर्दा यो चिनियाँ छुनयुन नेपालका लागि पनि सुनको अण्डा भने जस्तो हो। वसन्त चाड मनाउन विदेशमा रहेका चिनियाँ घर फर्कन्छन् भने धेरैभन्दा धेरै चिनियाँ यसै वसन्त चाडको अवधिमा विदेश भ्रमणमा पनि निस्कन्छन्।

हाल कोरोना महामारीपछिको यस सहज अवस्थामा धेरै चिनियाँहरू विदेश भ्रमण गर्छन्। यी भ्रमण गन्तव्यमा नेपाल पनि पर्ने गर्छ। यस छुनयुनको अवधिमा चिनियाँ केन्द्रित पर्यटन कार्यक्रम ल्याउनसके नेपाललाई फाइदा पुग्नेछ।

यो चिनियाँ दसैँ, वसन्त चाड र यस छुनयुनको अवधिमा हुने विशाल मानव स्थानान्तरण र चीनले आफ्ना जनताको सुविधाका लागि गरिने यी तमाम काम र योजनालाई नेपालले अनुकरण गर्न सकोस्।

प्रकाशित: ३० पुष २०७९ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast