विकास, प्रविधि र प्रकृति

श्रवण शर्मा २५ माघ २०८० १०:३५
234
SHARES
विकास, प्रविधि र प्रकृति

मान्छेका आवश्यकता पूरा गर्न सरकार र नागरिक मिलेर उद्यमको विकास गर्ने हो। विकास कार्यलाई सरल, सहज, भरपर्दो र छिटो सम्पादन गर्न मेसिन र औजारको प्रयोग गरिन्छन्। तिनका लागि ज्ञान, सिप र दक्षता आवश्यक हुन्छन्। विकास गरिने ठाउँ, विकासका प्राथमिक तत्त्वहरू जस्तो : हावापानी, जमिन, वनस्पति, माटो र मान्छेसमेत प्रकृतिका अवयव हुन्।

विकास मान्छेका लागि चाहिने कुरा हो भनेर मानव समाज एउटा भ्रमबाट ग्रस्त छ। मानिसका लागि मात्रै विकास चाहिने होइन। यी प्राकृतिक अवयवहरूको यथोचित विकास, जन्म र प्राकृतिक वासस्थान सुरक्षित हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै आइरहेको छ। प्रकृतिको अधिकार (Rights of nature) ले भन्छ, यी सब तत्त्वहरू संरक्षित हुनुपर्छ। उदाहरणका लागि हामी हिमाल र हिउँको कुरा गर्छौँ। यी कुराको तात्पर्य के हो भने हिमालमा हिउँ हुनुपर्छ। हिउँको प्राकृतिक वासस्थान हिमाल हो। हिमाल हुन हिउँ चाहिन्छ। त्यसकारण हिउँ हिमालको अधिकार हो। मान्छेले हिमालबाट हिउँ छिन्ने काम गरिदिनु भएन। सामान्य छैन त कुरा?

अब एकछिन विचार गरौँ, विकास भनेको के हो?

इन्जिनियरहरूले पाइप डिजाइन गरे। कारखानामा पाइप बनाइयो। श्रमिकहरूले सो पाइप लगेर पानीका मूलमा घुसाइदिए। पाइपमा पानी पस्यो। हाम्रा घरघरमा त्यही पानी आएको हो। इन्जिनियरहरूले बाँध र नहर डिजाइन गरे। टर्वाइन बनाए। श्रमिकहरूले बाँध बनाए। नहरमा पानी आयो। पानीमा जोडेको मेसिन घुम्यो। त्यसले जेनेरेटर घुमायो। जेनेरेटरले बिजुली पैदा गर्‍यो। मजदुरहरूले बिजुलीका पोल गाडे। तार ताने। घरघरमा बत्तीको तार जोडे। भित्तामा राखेको स्विच थिच्दा बत्ती बल्यो। हाम्रो घर उज्यालो भयो। हामी यस्ता हजारौँ विकासका उपलब्धि उपभोग गरिरहेका छौँ।

हवाईजहाज, पानीजहाज, बस, रेल, केबलकार आदि यस्तै प्रविधिले विकास गरेका उपलब्धि हुन्। हवाईजहाजका लागि ठूलाठूला विमानस्थल, रेलवेका लागि प्लेटफर्म, पानीजहाजका लागि बन्दरगाह बनाइएका छन्। यी यातायातका ठूला साधनबाट हामी यात्रा गर्छौँ। यिनैबाट हामीलाई चाहिने सामान ढुवानी गरिन्छ। बिहानको खाना खाएर जहाज चढ्यौँ भने हामी भोलि बिहानको खाना खान अमेरिका पुग्छौँ।

हामीसँग कम्प्युटर र मोबाइल छ। त्यहाँ फेसबुक खोल्न सक्छौँ। धेरै टाढा भएका आफन्तसँग अनुहार हेर्दै कुरा गछौँ। भिडियो कल गरेको कुरा सगर्व अरूसँग भन्छौँ । हामी बिरामी पर्छौँ वा आफन्त साथीभाइ कोही बिरामी हुन्छन्। अस्पताल लान्छौँ। प्राविधिक डाक्टरले एक्सरे गर्छन्, इको गर्छन्। एमआरआई, सिटिस्क्यान आदि गराउँछन्। यी सबै प्रविधिका देन हुन्। हामी कोलस्ट्रोल, सुगर र किड्नी प्रकार्य (Kidney Function) जाँच गर्न शरीरको रगत जचाउँछौँ, प्रविधिले गरेको हो यी सब विकास र देन।

डाक्टरहरूले अस्पतालमा किड्नीको भित्री तहमा जमेको स्टोन निकाल्छन्। क्यान्सरको सेल पोलेर मारिदिन्छन्। बिग्रिएको कलेजो काटेर अर्को कलेजो जोड्छन्। मुटुमा सानो चिप्स आकारको बेट्री राखिदिन्छन्। त्यसले मुटु चलाउँछ। कानको उपचारमा सानो तार राखेर दिमागमा छुवाइदिन्छन् । त्यसले कान सुन्न सक्ने बनाउँछ।

हामी सोफा, खाट वा कुर्सीमा बस्छौँ। कोदालोले खेतबारी खन्छौँ। हँसियाले भुइँघाँस र खुकुरीले डाले घाँस काट्छौँ। हलोले खेत जोत्छौँ। दुँदेरोमा दूध दुहुन्छाैँ। ठेकीको दहीमा मदानीले फिटेर मोही पार्छौँ। त्यसबाट घिउ निस्किन्छ। दूधबाट खुवा बनाउँछौ। यी पनि प्रविधि नै हुन्।

माटो र ढुंगा जोडेर घर बनाउन सिक्यौँ, त्यसमा काठका झ्याल ढोका हाल्यौँ। गाईभैँसी बाँध्न गोठ बनायौँ, बाख्राका लागि खोर बनायौँ। परेवाका लागि गुँड बनाइदियौँ। यो सब प्रविधि होइन त? हो।

अब भनौँ, यो सब प्रविधि हामी कहाँ प्रयोग गरिरहेका छौँ? यो प्रविधि र यसका प्राविधिक उत्पादन कहाँबाट बनाइएका हुन् ?

मानिस वा पशु सबैको स्वास्थ्य उपचारमा प्रयोग गरिने जेजति मेसिन, औजार वा कम्प्युटर छन् ती यही धर्तीमा भएका पदार्थहरूबाट बनाइएका हुन्। मुटुको बेट्री टिटानयिमबाट बनेको हुन्छ। टिटानियम पृथ्वीमै पाइने धातु हो। हामीले अस्पतालमा गर्ने एक्सरे फिल्म इमल्सन जिलेटिनबाट बनेको हुन्छ। त्यो एक प्राकृतिक तत्त्व हो। धर्तीमै हुन्छ। हाम्रै वरिपरि यही धर्तीमा यही प्रकृतिमा उपलब्ध छ। मेसिन औजारहरू स्टिल, प्लास्टिकलगायत अन्य धातुबाट नै बनेका हुन्छन्।

हामी जरो आउँदा, खोकी लाग्दा वा अन्य कुनै बिरामी पर्दा चिकित्सकको सल्लाहअनुसार औषधी खान्छौँ। जरो घट्छ। खोकी कम हुन्छ। अन्य रोग पनि औषधीले कम गर्दै लान्छन्। यी औषधी कसरी बन्छन् ? केबाट बन्छन? वैज्ञानिकहरू वनस्पति र जनावरको शरीरमा भएको खास रसायन निकाल्छन्। त्यसले खास रोग निको पार्छ। समयक्रममा उनीहरू जनावर र वनस्पतिबाट निकालिएका ती रासायनिक तत्त्वको वैकल्पिक तत्त्व तयार पार्छन् ती तत्त्व औषधी बनाउनमा प्रयोग गरिन्छ।

यी सब चिजबस्तुहरू हामी बास बसेका धर्तीमा उपलब्ध छन्। त्यसैले हामी पृथ्वीलाई धर्तीमाता भन्छौँ। अहिले त पश्चिमा सभ्यता र संस्कृतिमा पनि Mother Earth अर्थात् धर्तीमाता भन्न थालेका छन् मान्छेहरू।

बस चल्ने बाटो, रेल गुड्ने रेलवे लिक, प्लेन बस्ने र उड्ने विमानस्थल, पानीजहाज रोकिने बन्दरगाह, पानीजहाज तैरिएर अघि बढ्ने समुद्र  सबै प्रकृतिका देन हुन्। यसै धर्तीमा छन्। सबै यही पृथ्वीमा छन्। अनि पृथ्वी स्वयं चाहिँ प्रविधि विकासको नाममा, मान्छेका बासस्थानका लागि बाटो, पुल र व्यवसायका लागि दुरुपयोग त भइरहेको छैन? प्रविधि पढ्ने विद्यार्थी, पढाउने शिक्षक प्राध्यापक, प्रविधि प्रयोग गर्ने सरकार, निजी क्षेत्र र आममानिसले सोच्नुपर्ने कुरा हो यो।

मानिसको शरीरमा रक्तनलीले रक्तसञ्चार गरे जसरी नै नदीले धर्तीको रक्तसञ्चार गर्दछ। मान्छेले फोक्सोबाट सास फेरेसरह पृथ्वीको फोक्सो जंगल हो। यातायात, कारखाना र विकासका अन्य कामबाट हामीले उत्सर्जन गरेको कार्बनडाइअक्साइड रूखले संग्रहण गर्दछ। रूखले हामीलाई सास फेर्न चाहिने अक्सिजन प्रदान गर्दछ। जंगलले पानी संग्रहण गर्नुका अतिरिक्त पानी पार्नमा योगदान दिन्छ। रूख काट्ने, जंगल फँडानी गर्ने र बस्ती बसाउने कार्यमा आएको तीव्रताले पृथ्वीको फोक्सो बिरामी परेको छ जसले हामी र अन्य प्राणीहरूलाई पनि क्षति पुगिरहेको छ। तैपनि हामी यी कुरा बोध गर्न चाहिरहेका छैनौँ।

हामी कहाँ बस्छौँ?

हामी पृथ्वीको बाहिरि सतहमा बस्छौँ। सारा प्राणी र वनस्पतिको वासस्थान हो पृथ्वी। सबैकी आमा हुन जननी। सबैले पृथ्वीबाट नै आफ्नो खाना लिन्छन्। हामीले खाने अन्न, सागपात, पेयपदार्थ सबै यसै धर्तीका देन हुन्। मृगले घाँस, बाघले मृग खान्छ। धर्तीमाताले मृग र बाघ दुवैलाई खाना दिएकी छन्।

यहाँ करोडौँ किरा, ब्याक्टेरिया, कमिला छन्। सबै यस पृथ्वीबाट खाद्य प्राप्त गर्छन् र इकोसिस्टम सञ्चालन गर्छन्। इकोसिस्टम भनेको प्राणी वनस्पति बाँच्ने एक वैज्ञानिक पद्धति हो। आजको दिनमा नेपालमा धर्तीमा रहेका बस्तु, वायुमण्डल, वनस्पति, पानी र जीवजन्तुबीचको अन्तरसम्बन्धलाई नभएर राजनीतिक विचारलाई वैज्ञानिक वाद भन्दैछौँ। जुन गलत र महाभूल हो। वैज्ञानिक भन्नु यस धर्तीमा रहेका प्रत्येक अवयवको अर्को अवयवसँगको अन्तरनिहित सम्बन्ध हो। अझ भनौँ भने यस पृथ्वी नामको ग्रहसँग अन्य अरू ग्रहको सम्बन्ध, त्यसको प्रभाव र सौर्यमण्डलका ग्रहहरूको आन्तरिक सम्बन्धको सत्य निरूपण प्रक्रिया अध्ययन वैज्ञानिक कुरा हो। कहाँबाट राजनीतिको वादलाई वैज्ञानिक भन्ने भ्रम प्रवेश गर्‍यो नेपालमा?

हामी लुगा लाउँछौँ, किताब पढ्छौँ। लुगा, वनस्पति र पोलिमरबाट बन्छ। पोलामाइड मोनोमरसबाट नाइलन लुगा बनाइन्छ। कटन कपडा वनस्पतिबाट बन्छ। पोलामाइड मोनोमरस कच्चा खनिज तेलबाट बन्छ। यी चिज कहाँ उपलब्ध छन्? प्राणी, वनस्पति धर्तीका माथिल्लो सतहमा बस्छन् भने खनिज तेल धर्तीभित्र। जसरी तोरिको दानाभित्र तेल छ खाद्य तेल, त्यसैगरी धर्तीभित्र पनि तेल छ तर अखाद्य। हामी यसलाई प्रत्येक दिन गाडी चलाउँदा वा चढ्दा बालिरहेका हुन्छौँ। कारखाना चलाउँदा बालिरहेका हुन्छौँ। यही तेल ज्यादा बालेर सांसारिक तापमान बढेको हो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ। बिल गेट्सले खनिज तेल बाल्न बन्द नगर्ने हो भने धर्तीमा प्राणी बाँच्न सक्ने अवस्था छिटै अन्त हुन्छ भनेका छन्। स्टेफन हकिन्सले पृथ्वीका मान्छेलाई अन्य ग्रहमा स्थानान्तरण गर्ने सल्लाह दिएको एक दशक भइसक्यो।

धर्तीका खासखास स्थानमा मानिस आदिमकालदेखि बस्न थाल्यो। कोही कताबाट आए, कोही कताबाट। जहाँबाट आए पनि मान्छे खास क्षेत्रमा बसोबास गर्न थाले या बसाइँ हिँड्दा बास बस्दैबस्दे कतै गए। यात्राको बास वा स्थायी रूपमा बसोबास गर्दा मान्छेले त्यहाँको भूगोल, भूबनोट, वायुमण्डल, हावापानी, वनस्पति, चराचुरुंगी, जलचर, थलचर प्राणीसँग आफ्नो सम्बन्ध स्थापित गर्दै गए। यिनै तत्त्वहरूको सम्बन्धबाट मान्छेको संस्कृति वा चालचलन विकसित भए। समाज बन्दै गयो। समाज सञ्चालनका लागि नियम चाहिए। नियम बने। नियम लागू गर्ने निकाय चाहियो। राजा तोकियो कसैलाई। कसैलाई मुखिया भनियो।

जो जहाँ बसे पनि जे काम गरे पनि जे चिज खाए पनि यही धर्तीमा भएका चिज खाए। यसै धर्तीमा आफ्नो बास बसाए। धर्तीको वायुमण्डल, समुद्र सबैलाई जनाउन प्रकृति भनियो। प्रकृति प्राणीका लागि भगवान्‌को देन मानियो। भगवान्‌ले यो प्रकृति संरक्षण गर्न दिएका हुन् भन्ने विश्वास  बढ्दै गयो। त्यसकारण मान्छेले प्रकृतिमाथि निर्घात  हमला नगरी संरक्षणको मान्यता लिए। जसले गर्दा करोडौँ वर्षअघि यस धर्तीमा उत्पन्न भएका जीवजन्तु, वनस्पति, किरा, कमिला आज पनि जीवित रहन सकेका हुन्। अर्थात् हाम्रा पुर्खाहरूले हाम्रा लागि जोगाएर राखिदिए। हामीले अशिक्षित, अनपढ, जंगली ठानेका पुर्खाहरूमा यति ठूलो चेत थियो। आफ्ना सन्तति अर्थात् हामीप्रति कति ठूलो अनुराग थियो उनीहरूमा। कति वैज्ञानिक थिए, कति सज्ञानी थिए। त्यसैले त ‘सज्ञानी विदुर’ भन्ने भनाइ आजपर्यन्त हामी पढिरहेका छौँ।

वैदिकहरूले प्रकृतिप्रदत्त यावत् तत्त्वहरूमा जीवन देखे, ती जीवनसँग मान्छेको सम्बन्ध केलाए। किराँत सभ्यतामा माटो हामी जहाँ बसेका छौँ, त्यसलाई र त्यो माटो सिञ्चित गर्ने तत्त्वहरूलाई महत्त्व दिइयो। प्रकृति नै हामी सबैकी जननी हुन् भन्ने मानियो र प्रकृतिका तत्त्वहरूलाई दैवी संज्ञा दिइयो। बुद्धले  मानिसका अन्तरस्करण र मनोविज्ञानमा जोड दिए। यी सबैको सारभूत संग्रहका रूपमा पूर्वीय दर्शन बन्यो। त्यसको सार मानिस दु:खबाट मुक्त हुन चाहेको अवस्थामा दु:खमुक्त हुन सक्छ भन्नु हो। प्रकृतिसँगको सान्निध्यतालाई मुक्ति मार्ग भनियो। आज पश्चिमा धनसम्पन्नतामा पनि वैज्ञानिकहरू यिनै कुराको खोजीमा अहोरात्र क्रियाशील भइरहेछन् भने हामी आफ्नो वैचारिक जरा किन नखोज्ने?

विगतमा समाजमा प्रकृति संरक्षण र उपयोगका सिद्धान्तहरूले बिस्तारै आमस्वीकारोक्ति प्राप्त गर्दै गए। यी मान्यता बिस्तारै धार्मिक आस्था बन्दै गए। गर्न हुने र नहुने काम छुट्ट्याइयो। गर्न हुने कामलाई धर्म र नहुनेलाई पाप भनियो। निरपेक्ष नबसौँ भनियो। अनि सापेक्षताको मान्यता विकसित गरियो। तब त संसारका सबै मानिसले भगवान्‌को अस्तित्व परिकल्पना गरे। भगवान्‌को अस्तित्वले मानिसका लागि नैतिक शिक्षा दियो। सबैले कुनै न कुनै धर्म माने। धर्माधिकारीलाई भगवान् भनियो। धर्मले सभ्यताको जग हाल्यो। सभ्यताले संस्कृति बनायो र संस्कृतिले मानिसका आचरण र वरव्यवहार तय गर्‍यो। कोही पनि धर्म निरपेक्ष भएन। धर्म निरपेक्ष हुनु पापसापेक्ष हुने भयो। पाप सापेक्ष हुन चाहेन मान्छेले।

मानिसहरूले प्रकृतिको नियम र नियमित आकस्मिकताको अध्ययन गर्दै गए। जीव र वनस्पति सबैलाई प्रकृतिका अंश मानिए। भोजन र आत्मसुरक्षाका लागि मात्र हिंसा वैधानिक मानियो। वस्तु, सम्पत्ति र सेवाको संग्रहण वर्जित गरियो। सनातनी अर्थव्यवस्था अवलम्बन गरियो। मृत्युसंघारमा भएको व्यक्तिले आफ्नो सम्पत्ति दान गर्ने नीति बन्यो। नचिकेताका पिताजीले मृत्युशय्यामा भएका बेला थारा गाई दान गरेपछि आठ वर्षीय नचिकेताले त्यसको घोर विरोध गरे र भने मेरा लागि दुहुना गाई छाडेर जानु पर्दैन। यी सबै गाई दान गर्नुस्। म आफ्ना लागि आफैँ कमाउँछु। त्यो साम्यवाद थिएन, सनातनी अर्थव्यवस्था थियो। यस अर्थव्यवस्थामा पानी र रूखको ठूलो महत्त्व थियो। त्यसैले भनियो,

पश्यैतान् महाभागान् परार्थैकान्तजीवितान्। वातवर्षातपहिमान् सहन्तरे वारयन्ति नः॥  परोपकारका लागि बाँच्ने वृक्ष महान् हुन्। यिनीहरू आँधी, वर्षा वा शीतको स्वयं सहन गर्दछन्।

अहो एषं वरं जन्म सर्वप्राण्युपजीवनाम्, सुजनास्यैव येषं वै विमुखा यान्ति नार्थिनः॥ यिनै रूखका कारण सबै प्राणी जीवित छन्। जसरी कुनै दानी सज्जन व्यक्ति कसैलाई केही नदिई पठाउँदैन सोहीपरि यी वृक्षहरू पनि कसैलाई केही नदिई पठाउँदैनन्।

अजीर्णे भेषजं वारि, जीर्णे वारि बलप्रदम्, भोजने चामृतं वारि भोजनान्तेविषप्रदम्॥ अपच हुँदा पानीले पचाउँछ, खानाले उत्पन्न गर्ने सबै प्रकारका असहज र अस्वस्थ अवस्थालाई पानीले ठिक गर्दछ।

अभ्दिः सर्वाणि भूतानि जीवनन्ति प्रभवन्ति च, तस्मात् सर्वेषु दानेषु तयोदानं विशिष्यते। महाभारतमा भनिएको छ- संसारमा पानीबाट नै सबै प्राणाीको जीवन प्राप्त हुन्छ। पानीमा दिव्य गुण हुन्छ यो गुण परलोकमा पनि काम लाग्छ।

चेष्टा वायुः खमाकाशमूष्माग्निःसलिलं द्रवः, पृथिवि चात्र सङ्कातः शरीरं पाञ्चभौतिकम्। वृक्षका शरीरमा वायु हुन्छ। वृक्षको शरीर पनि पञ्चतत्त्व वायु, आकाश, अग्नि, पानी पृथ्वीबाटै बनिएको छ। मान्छेको पनि यिनै तत्त्वबाट शरीर बनेको हुन्छ।

प्राणीका सन्दर्भमा भनिएको छ, जीवेषु करणाचापि मैत्रितेषु विधियताम् अर्थात्  जीव जनावरमाथि करुणा र मैत्री गर।

अब यति भनिएपछि यी आदर्श मान्यताहरू कहाँबाट लिइएका हुन् भन्नुपर्ने हुन्छ। वैदिक सनातन शास्त्रहरूले प्रकृतिमाथि गरेका वणर्नबाट लिइएका हुन् माथिका श्लोकहरू। प्राचीन मुनिहरू र तिनका गुरुकुलीय शिक्षाहरूमा अन्तरिक्ष, हावा, पानी, अग्नि र पृथ्वीबीचको सम्यक् सम्बन्ध नै वातावरण हो भनिएको छ। यसलाई अझ विस्तारित अर्थमा बुझ्नका लागि प्रकृति भनिएको हो।

ऋग्वेदले मित्र, वरुण, इन्द्र, मरुत र आदित्य नै प्रकृतिका यी फरकफरक तत्त्वहरूको संरक्षक हुन् भनेको छ। यी तत्त्वहरूमाथि गरिएको अति प्रयोग र यिनका बीचको सम्यक् सम्बन्धमा आएको हलचल आज भनिएको जलवायु परिवर्तन सांसारिक तापमानमा वृद्धि, मौसममा असन्तुलन, पानी पर्ने तौतरिकामा परिवर्तन, अन्न र सागसब्जी उत्पादनमा देखिएको समस्याका जड हुन्।

त्यसकारण, हामी जति पनि प्रविधि र विकासको कुरा गर्छौँ ती सबै प्रविधि यही जमिनमा वा धर्तीमा आधारित छन् भन्ने बुझिन्छ। धर्तीमाता स्वस्थ रहन्नन् भने कुनै प्रविधि वा विकासले कुनै भरपर्दो प्रतिफल दिन सक्ने छैन।

प्राविधिकहरूले धर्तीको यस संरचना, त्यहाँ रहेका प्राणी, वनस्पति, जीवजन्तु आदिका विषयमा पनि ध्यान दिनु आवश्यक छ। अब प्राविधिक ज्ञानले पृथ्वीको संरक्षण र विकासका आवश्यकतबीच सुमधुर सम्बन्ध स्थापित गर्नुपर्छ। अन्यथा हामी विकास गर्दै जाऔँला पृथ्वी मान्छे बस्न नसक्ने हुँदै जानेछ। त्यसबेला यहाँ उपलब्ध कुनै चिज पनि हामीलार्ई काम लाग्ने छैनन्।

प्रकाशित: २५ माघ २०८० १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast