शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गराउन गृहमन्त्री श्रेष्ठ र सभापति जोशी प्रतिबद्ध

हिमाल प्रेस २४ माघ २०८० १३:३६
2.9k
SHARES
शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गराउन गृहमन्त्री श्रेष्ठ र सभापति जोशी प्रतिबद्ध

काठमाडौँ- नेपाल शिक्षक महासंघसहित शिक्षासँग सरोकार राख्ने शिक्षक र कर्मचारीहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० लाई चालु अधिवेशनबाटै पारित गराउन सरोकारवाला निकाय र नेताहरूको ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल विद्यालय कर्मचारी परिषद्, अखिल नेपाल एकीकृत शिक्षक संगठनले सोमबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण गराएका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले महासंघसँग भएका सहमति सम्झौता शिक्षा ऐनमा समावेश गराउन मन्त्री श्रेष्ठ, सभापति जोशी र अधिकारीले सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिए। महासंघसँग भएको सहमति कार्यान्वयन गराउन मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएको सुवेदीले बताए। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ महासंघले असोजमा गरेको आन्दोलनमा सरकारी पक्षबाट वार्ता समिति संयोजक थिए। गृहमन्त्री श्रेष्ठको भनाइ उद्घृत गर्दै सुवेदीले हिमाल प्रेससँग भने, ‘शिक्षक महासंघसँग सरकारले गरेका सहमति ऐनमा समेट्न सरकार प्रतिबद्ध छ।’

शिक्षा समिति सभापति जोशीले विद्यालय शिक्षा विधेयकमाथि सांसदहरूले दिएका सल्लाहसुझाव समेटेर चाँडै प्रतिवेदन पेस गर्ने जानकारी दिएको पनि सुवेदीले बताए। शिक्षा सचिव अधिकारीले महासंघले सरकारसँग गरेका सहमति ऐनमा समेट्न मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताए।

सुवेदीले भने, ‘शिक्षक-कर्मचारीका पक्षमा दर्ता भएका संशोधन समेटी छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन सुझावसहित संसद्‌मा पठाउन पक्षीकरण गर्‍यौँ। शिक्षासचिव सुरेश अधिकारीसँग भेटी समसामयिक विषयमा छलफल तथा कार्य समीक्षा गर्‍यौँ। तीनवटै भेटले सकरात्मक वातावरणको प्रत्याभूति दिएको छ।’

महासंघको सोमबार काठमाडौँमा बसेको बैठकले विधेयक तत्काल पारित गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोहीअनुसार महासंघ टोली विधेयक तत्काल पारित गराउन दबाब दिन जुटेको हो। महासचिव सुवेदीले यसबार प्रधानमन्त्री र दलका शीर्ष नेताहरूसँग पनि भेट गरेर ध्यानाकर्षण गराइने बताए।

विद्यालय शिक्षा विधेयक ‘पारित हुनेमा शंका’, दबाबमूलक कार्यक्रममा जुट्यो महासंघ

प्रकाशित: २४ माघ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =