निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गरौँ : चेम्बर अध्यक्ष मल्ल

हिमाल प्रेस १८ माघ २०८० १४:३५
निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गरौँ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन्। उनले निर्यात प्रर्वद्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको बताएका हुन्।

निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले भने, ‘जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्छ।’

उनले चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्ब ९३ अर्व रुपैयाँ पुगिसकेको बताए। व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको उनको भनाइ छ।
नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँभन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए। उनले जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यातसम्बन्धी विशेष नीति बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ। मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्बन्धमा उपयुक्त ऐननियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ।’

प्रकाशित: १८ माघ २०८० १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =