अनलाइनबाट कर्जा वितरणको नीति ल्याउँदै राष्ट्र बैंक

हिमाल प्रेस १५ माघ २०८० १४:०२
14
SHARES
अनलाइनबाट कर्जा वितरणको नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता विना कर्जा अनलाइन प्रणालीबाट वितरणको व्यवस्था मिलाउने तयारीमा जुटेको छ।

बैंकले पहिलो चरणमा ‘पियर टू पियर, पिटूपी ल्यान्डिङ र क्राउड फण्डिङ’ को लागि प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन सकेर छलफल सुरु गरेको छ।

बैंकले अर्थमन्त्रालयमा आर्थिक अनुसन्धान विभागले गरेको एक अध्ययनले अनलाइनबाटै व्यक्ति–व्यक्तिबिच ऋण कारोबार मिल्ने नीतिगत व्यवस्थाको छलफलका लागि पठाएको हो।

यसमा केन्द्रीय बैंकले पिटुपी र क्राउड फण्डीङ का लागि छुट्टै प्लेटफर्म तयार गर्ने र यही प्लेटफर्ममार्फत ऋण वितरणको व्यवस्था मिलाउन गरी छलफल अघि बढाइएको राष्ट्र बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए।

अहिले अनलाइनबाटै व्यक्ति–व्यक्तिबिच ऋण कारोबार मिल्ने नीतिगत व्यवस्था भइरहेको छ। छलफलपछि यसले पुर्णता पाउने उनको भनाइ छ।

केन्द्रीय बैंकको अध्ययन प्रतिवेदन अनुसार पिटुपी ल्यान्डिङ नेपालका लागि नयाँ हो। केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो।

नेपालको सन्दर्भमा उक्त अनलाइन प्लेटफर्मबाट कर्जा लिन चाहने व्यक्तिको सूचना पर्याप्त उपलब्ध नहुने हुँदा जोखिम हुन सक्ने केन्द्रीय बैंकको अध्ययनले देखाएको छ।

यस्तै, यस्तो प्लेटफर्म सञ्चालनका लागि प्रभावकारी नियमन तथा अनुगमन र बलियो सुपरीवेक्षणको आवश्यकता हुन्छ।

अध्ययनमा वित्तीय मध्यस्थता सञ्चालनका लागि नियमन ढाँचा तयार गर्नु पर्ने अध्ययनले औँल्याएको छ। साथै यस्तो खालको वित्तीय कारोबारमा ठगी, सम्पत्ति शुद्धीकरणको जोखिम पनि उत्तिकै हुने भएकाले नियामक चनाखो हुनुपर्ने विषय पनि उठाइएको छ।

साथै पिटुपी र क्राउड फण्डीङका मोडेलहरू समेत तय गरी बैंक तथा वित्तीय संस्थाको सहभागिता विना लगानी जुटाउने वैकल्पिक वित्तीय मध्यस्थता विकास गर्न खोजेको केन्द्रीय बैंकको अध्ययनमा छ। उक्त प्लेटफर्म मार्फत इक्विटी लगानी, कर्जा तथा अनुदान संकलनको काम गर्न सकिने बैंकको बुझाइ छ।

अनलाइन प्लेटफर्म मार्फत लगानी गर्न चाहने र लगानी लिन चाहने बिचको समझदारी भइ लेनदेन हुनेछ। यसरी हुने लेनदेन के कस्तो उद्देश्यका लागि गर्न सकिने भन्ने विषयमा बैंकले तय गर्ने छ।

प्रकाशित: १५ माघ २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =