ग्लोबल आइएमई बैंकले भन्यो : रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको छैन

हिमाल प्रेस ८ माघ २०८० १७:३६
62
SHARES
ग्लोबल आइएमई बैंकले भन्यो : रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको छैन

काठमाडौँ- ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको छ। गोर्खा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदै गर्दा लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको दाबीसहितको समाचार सार्वजनिक भएपछि बैंकले त्यसलाई खण्डन गरेको हो।

आफ्नो नाम जोडिएको विषयमा प्रष्टीकरण दिन लामिछानेले सोमबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरेर बैंकको पत्र पनि सार्वजनिक गरे।

‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसीमार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ’ बैंकको पत्रमा उल्लेख छ।

लामिछानले गरेको पत्रकार सम्मेलनमा पूर्वबैंकरसमेत रहेका रास्वपाका नेता अनिल केशरी शाहले पनि थप प्रष्टाए। ‘रवि लामिछानेको केसमा मात्र होइन, यस्ता केस धेरै हुन्छन्। कसैले क्यास लिएर आए केही प्रश्न सोधिन्छ,’ उनले भने, ‘चेकमा प्रश्न सोधिँदैन। टेलर काउन्टरमा गएर चेक जम्मा गर्न सकिन्छ। तर, पैसा खातामा नभएमा त्यो जम्मा हुँदैन र सम्वन्धित व्यक्तिको फोनमा घन्टी पनि बज्दैन।’ लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो।

प्रकाशित: ८ माघ २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =