युगान्डामा प्रधानमन्त्री : नेपालीसँग गरे अन्तरक्रिया, उच्चस्तरीय भेटवार्ता थाल्दै

हिमाल प्रेस ५ माघ २०८० ८:३८
22
SHARES
युगान्डामा प्रधानमन्त्री : नेपालीसँग गरे अन्तरक्रिया, उच्चस्तरीय भेटवार्ता थाल्दै

कम्पाला- असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको राजधानी कम्पाला आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आजैदेखि उच्चस्तरीय भेटवार्ता पनि थाल्दै छन्।

अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए।

‘युगान्डामा मेरो पहिलो भ्रमण हो। तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्,’प्रधानमन्त्रीले भने,‘हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।’

विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताउँदै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीका दुःखकष्ट बुझ्ने अवसर पनि पाएको बताए।

उनले भने,‘विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीका दुःखकष्ट बुझ्ने अवसर पनि पाएँ।’

अन्तरक्रियामा परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे।

अन्तरक्रियामा गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन्।

सो कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कंडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको जानकारी प्रधानमन्त्री दाहाललाई गराए।

अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँगै नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थिए।

सम्मेलन आज र भोलि कम्पालामा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा आज सम्बोधन गर्ने कार्यक्रम छ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल आजै युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनले मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउने बताइएको छ।

प्रकाशित: ५ माघ २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =