‘ठूलो देशलाई तह लगाउन नाटक गर्नुपर्नेरहेछ’

विवेक विवश रेग्मी २१ पुष २०८० १८:५९
132
SHARES
‘ठूलो देशलाई तह लगाउन नाटक गर्नुपर्नेरहेछ’

इटहरी– ‘संसारको जतिसुकै गरिब देशले पनि नाटक गर्ने हो भने जितिनेरहेछ,’ भारतको पश्चिम बंगालमा भएको नाट्य उत्सवमा नाटक हेरेर आएपछि कवि तथा चिन्तक प्रकाश राई भन्छन्, ‘नेपालमा दर्शकलाई आइदिनुहोस् न भनेर अपिल गर्नुपर्ने अवस्था छ, हेरिदिनुहोस् भन्नुपर्छ।, भारतमा नाटक हेर्ने कल्चर रहेछ।’

इटहरीको कलालय टिमले तयार पारेको नाटक ‘शत्रु’ प्र्रस्तुत गर्न एक साताअघि यहाँका कलाकारसहित कविलेखकहरू भारतको पश्चिम बंगाल गएका थिए। उनीहरू पश्चिम बंगालस्थित श्यामनगरमा ‘जातिया नाट्य उत्सव २०२३’ र कृष्णनगरमा ‘बिनोदिनी अन्तर्राष्ट्रिय नाट्य उत्सव २०२३’ मा सहभागी भएर पाँच दिनको भ्रमणपछि अघिल्लो साता इटहरी आइपुगेका हुन्। ती कविकलाकारहरूले नेपालले नाटक क्षेत्रमा जस्तोसुकै देशलाई पनि पराजित गर्नसक्ने तर्क राखेका छन्।

‘नाटकलाई व्यावसायीकरण बनाउने कुरा नेपाल र भारतमा उस्तै समस्या रहेछ। भारतको नाटक कल्चरमा परिवर्तन भइसकेको छ। कल्चर हुन तीन पुस्ता संलग्न हुनुपर्छ,’ हिमाल प्रेससँगको कुराकानीमा राई भन्छन्, ‘हाम्रो दर्शक विभिन्न कोणबाट नाटक हेर्छन्। हाम्रा लागि नाटक हेर्नु भनेको अतिरिक्त काम गरेजस्तो हुन्छ। भारतमा नाटक हेर्नु भनेको दालभात खाएजस्तै रहेछ।’

भारतमा नाटक क्षेत्रको स्तरोन्नतिमा राज्य सचेत भए पनि नागरिक सचेत भइनसकेको उनको टिप्पणी छ। नाटक ‘मेकिङ’ मा परम्परागत शैली रहेको र हरेकजसो नाटक सत्ययुगको जस्तै रहेको उनले सुनाए।

भाषा भनेको शक्ति रहेको उधृत गर्दै राईले भने, ‘ठूलो देशलाई तह लगाउन नाटक गर्नुपर्नेरहेछ। हामीले जित्ने भनेको नाटक, कला, साहित्यले हो। सबैभन्दा ठूलो कुरा त कला रहेछ।’

भारतीयहरूले ठूलो लगानीमा सिनेमा बनाउँछन्। ठूलो अर्थतन्त्र भएका कारण पैसाले चामत्कारिक दृश्य राखिन्छ। खास कुराचाहिँ नाटकमा प्रस्तुत हुने उनले सुनाए। ‘धेरै पैसाले नाटक राम्रो बनाउन सकिँदैन। नाटक राम्रो हुन चाहिने भनेको कला नै हो’, राईले भने।

नेपालले अबको लगानी कला र कलाकारमा गर्नुपर्ने उनको सुझाव छ। भारतमा राज्यका तर्फबाट कलासाहित्यलाई गर्ने लगानी उच्च रहे पनि नेपालमा त्यस किसिमको संस्कार अझै विकास नभइसकेको उनको भनाइ छ। उनले भने, ‘अबको हाम्रो लगानी भनेको कला र कलाकारमा गर्नुपर्ने आवश्यक देखिन्छ। राज्यकै लगानीमा नाटक घर बनाउन आवश्यक छ।’

नेपाल सरकारले कला क्षेत्रमा लगानी गरेर पर्यटनसँग जोड्न सकिने उनी बताउँछन्। ‘नाटक भावभंगी पनि हो, भाषामात्रै होइन। हाम्रो गौरवको दायरा सानो छ। हामी नेता, व्यापारी हुँदा ठूलो भएजस्तो अनुभूति गर्छौँ,’ उनी राज्यप्रति व्यङ्ग्य गर्दै भन्छन्, ‘हामीसँग कल्चर बेच्ने कुरा भएन भने कुनै अर्थ नै हुँदैन। हामीले अब बेच्ने भनेको कल्चर हो। नाटक हुन नाटक राम्रो हुनुपर्छ। यो क्षेत्रलाई उत्पादनमूलक क्षेत्रका रूपमा हेर्न आवश्यक छ।’

पाँचवटा नाटक हेरेर आइसकेपछि इटहरी निवासी कवि देवान किरातीले नेपालले भारतसँग प्रविधिमा प्रतिस्पर्धा गर्न नसके पनि कलासाहित्यमा चुनौती दिन सकिने बताए।
‘नाटकमा उनीहरू (भारत) प्राचीन शैली, सत्य युगको र भारतीय टेलिसिरियलभन्दा माथि आएको देखिएन। देउता र भगवानको कथाजस्तो मात्रै देखिन्छ। कला प्रस्तुति खासै देखिएन,’ किराती भन्छन्, ‘नाटक हुन कला चाहिन्छ, सीधा उभिनु र संवाद भन्नुमात्रै नाटक होइन। नाटक भाषाले नभई कलाले बुझ्नुपर्छ। हामी आर्टमा कमजोर छैनौँ।’

नेपाल कलामा धनी रहेको उनी बताउँछन्। भारतभन्दा नेपाल नाटक क्षेत्रमा अघि रहेको उनको बुझाइ छ। नाटकको स्तरोन्नतिका निम्ति राज्यले हालसम्म कुनै लगानी नगरेको र अब पनि लगानी नगरे राज्यलाई ‘गिज्याउनु’पर्ने दिन आउने उनले बताए। तर अहिले नाटक घर बनाउन कलाकार अग्रसर हुँदामात्रै पनि राज्यले उल्टै कलाकारलाई ‘गिज्याएको’ जस्तो लाग्ने उनीसँग तितो अनुभव छ।

‘कलासंस्कृतिका लागि सरकारले राष्ट्रिय नाचघरबाहेक अरू भवनमा लगानी गरेको छैन। तर भारतका हरेक सहरमा राज्यले लगानी गरेको छ। त्यहाँ नाटक गरेबापत कलाकारलाई सरकारले आर्थिक लगानी गरिरहेको छ,’ उनले भने, ‘भारतका हरेक सहरमा थिएटर छन्। यहाँ हामीले थिएटर बनाउँछौँ भन्दा सरकारले गिज्याएजस्तो सम्झिन्छ।’

भारतका चर्चितमध्ये एउटा हो ‘रवीन्द्रनाथ थिएटर हाउस’। रवीन्द्रनाथ ट्यागर भारतबाट साहित्य विधामा एकमात्र नोबेल पुरस्कार विजेता हुन्। उनकै नाममा सबै थिएटर स्थापना भएको छ।

‘नेपालमा नाटक क्षेत्रको विकासका निम्ति जनता सचेत छन् तर सरकारलाई मतलब छैन। भारतमा सरकार सचेत छ, तर जनतामा त्यति धेरै वास्ता नभएको हो कि?’ कवि किराती भन्छन् ।

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले भारतमा नाटक संस्कारको रूपमा विकास भइसकेको बताए। उनका अनुसार भारतमा नाटक प्रस्तुत हुनु भनेको ठूलो उत्सव हुनु होइन नेपालमा भने नाटक प्रस्तुत हुनु एउटा उत्सवकै रूपमा लिइन्छ।

‘नेपालको नाटकमा हामी अपडेटेट छौँ। भारतमा भने कल्चरको रूपमै लिन्छन्। हामीले दिनमा एकपटक, दुईपटक गर्छौँ। त्यहाँ एकैपटक पाँचवटासमेत नाटक प्रस्तुत हुन्छन्,’ उनी भन्छन्, ‘भारतको नाटक परम्परागत मात्रै छ। हामीचाहिँ धेरै अगाडि छौँ जस्तो लाग्छ।’

उनले नेपालमा नाटक क्षेत्रलाई स्थापित गराइरहन जनता र नागरिक सचेत भए पनि राज्यको आँखामा अझै पर्न नसकिरहेको बताए। ‘नेपालमा पछिल्लो समय दर्शक सचेत छन्। विभिन्न कोणबाट नाटक हेर्छन्। राज्यको आँखामा नाटक भनेको नाटकमात्रै बनिरहेजस्तो देखिन्छ’, उनले भने।

कलालय इटहरीले आयोजना गरेको ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ गत कात्तिक २१ गते सम्पन्न भएको थियो। नाटक महोत्सवमा भारतसहित विभिन्न चारवटा नाटक प्रस्तुत गरिएको थियो। यसैगरी पुस २ गतेदेखि ६ गतेसम्म पुनः ‘शत्रु’ नाटक प्रस्तुत गरियो। पुस ११ गतेदेखि १५ गतेसम्म भारतमा उक्त नाटक दुई ‘सो’ प्रस्तुत गरियो।
भारतमा नाटक प्रस्तुत गरेर आएपछि कलाकारहरूले नाटक क्षेत्रमै स्थापित हुनका निम्ति थप ऊर्जा र उत्साह मिलेको बताएका छन्।

प्रसिद्ध आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी कलालय इटहरीले नाटक प्रस्तुत गरेको हो। नाट्यकर्मी प्रज्वल पराजुलीको निर्देशनमा तयार भएको नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन्।

नाट्य निर्देशक प्रज्वल पराजुली भन्छन्, ‘जीवनमा फूल सोचुन्जेल फूल नै देखिन्छ, काँडा देख्न थालेपछि काँडा नै देखिन्छ। त्यही कथालाई नाटकमार्फत देखाउन खोजिएको हो।’

 

तस्बिरहरू : उज्वल दुलाल

प्रकाशित: २१ पुष २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =