काठमाडौँ- वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सीप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ। आज (मंगलबार) बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फाराम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ।
यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो। नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फाराम भर्न पाउनेछन्।
विभागले पुस १३ गते ललितपुर महानगरपालिका-७, बालकुमारीमा दुःखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुन सक्ने देखिएको तथा फाराम भर्न सुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ।



